हेफर इन्टरनेशनल नेपालद्वारा २८ महिला सहकारीलाई ढुवानीका साधन हस्तान्तरण
हेफर इन्टरनेशनल नेपालले देशभरका २८ वटा महिला सहकारीलाई कृषि ढुवानीका सवारी साधन हस्तान्तरण गरेको छ।
कृषि उत्पादनको बजारीकरणमा देखिएका समस्या हल गर्न विभिन्न जिल्लाका २८ कृषि सहकारीलाई सवारी साधन हस्तान्तरण गरिएको हो।
हेफर इन्टरनेशनल नेपालका अनुसार, मोरङ, सर्लाही, महोत्तरी, धादिङ, नवलपरासी, पर्वत र गुल्मीका एक–एक सहकारीले एक–एक वटा सवारी साधन पाएका छन्।
त्यस्तै, सिन्धुली, तनहुँ, दाङ, अर्घाखाँची, बाँके र बर्दियाका दुई–दुई सहकारीले पनि एक–एक वटा ढुवानीका साधन प्राप्त गरेका छन्।
रौतहट, चितवन र पाल्पाका तीन/तीन कृषि सहकारीले सवारी पाएका छन्।
यसबाट २८ सहकारीमा आबद्ध करीब २१ हजार किसान प्रत्यक्ष लाभान्वित भएको हेफरको भनाइ छ। यस कार्यक्रमलाई प्रदेश र स्थानीय सरकारको पनि आर्थिक स्रोत परिचालन भएको छ।
हेफर इन्टरनेशनल नेपाल साना किसानको दिगो विकासमा सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। गत महीनासम्म हेफरले एक सयभन्दा बढी गैरसरकारी संस्थासँगको सहकार्यमा ४३ जिल्लाका २ लाख ७६ हजार परिवारलाई सहयोग पुर्याइसकेको छ।
सन् २०१८–२१ मा ‘स्ट्रेन्थेनिङ स्मालहोल्डर्स इन लाइभस्टक भ्यालू चेन–२’ परियोजना अन्तर्गत मूल्य शृंखलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य राखेको छ।
यो परियोजनाले १५६ स्थायी संकलन केन्द्र तथा ५२३ अस्थायी संकलन केन्द्र स्थापना गरी दूध, तरकारी तथा खसीको बजारीकरण गर्दै आएको छ।