दैनिक ५० हजारभन्दा बढीलाई लगाइँदै खोप, ३४ लाखले पाए पहिलो डोज
दुई सातायता दैनिक ५० हजारभन्दा बढीलाई कोभिड-१९ विरुद्धको खोप लगाइँदै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर ५७ हजार १८६ जनालाई पहिलो डोज लगाइएको छ। अहिले कोरोनाविरुद्धको खोप भेरोसेल लगाइँदै आएको छ।
योसँगै मंगलबारसम्म पहिलो डोज लगाउनेको संख्या ३४ लाख ६२ हजार ३४० पुगेको छ। ३१ असारसम्म २६ लाख २१ हजार ४७६ जनाले पहिलो डोज लगाएका थिए। पछिल्लो १२ दिनमा आठ लाख ४० हजार ८६४ जनाले पहिलो डोज लगाएका छन्।
अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ। भारतबाट थप कोभिशिल्ड खोप नआउँदा दोस्रो डोज लगाउन सकिएको छैन। जोन्सन एन्ड जोन्सनको एक डोज लगाए पुग्छ भने अहिले भेरोसेल खोप लगाइँदै छ।
चीनले यसअघि १८ लाख डोज खोप दिएको थियो भने थप १६ लाख डोज अनुदानमा दिने भएको छ। त्यस्तै, चीनबाट सरकारले ४० लाख डोज खोप खरीद गरेको छ। अहिले देशभर प्राथमिकतामा परेका उमेर समूहमा खोप अभियान सञ्चालन भइरहेको छ।
मंगलबारसम्म १६ लाख ३३ हजार ८५६ जनाले भेरोसेलको पहिलो डोज र सात लाख तीन हजार ५९६ जनाले दोस्रो डोज लगाएका छन्। त्यस्तै, दुई लाख ९३ हजार ७६६ जनाले जोन्सन एन्ड जोन्सनको खोप लगाइसकेका छन्।
भारतबाट अनुदानमा आएको र खरीद गरेको गरी १८ लाख २८ हजार ४८४ जनाले कोभिशिल्डको पहिलो डोज र चार लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन्। भारतबाट थप खोप नआउँदा दोस्रो डोज लगाउन सकिएको छैन।
स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबारसम्म पूर्ण खोप लगाउनेको संख्या १४ लाख ५७ हजार ६७० पुगेको छ। जसमध्ये कोभिशिल्ड र भेरोसेलको दुई डोज लगाउने ११ लाख ६३ हजार ९०४ र जोन्सन एन्ड जोन्सनको खोप लगाउने दुई लाख ९३ हजार ७६६ जना छन्।