काठमाडौंसँगै आठ जिल्लामा थपिए सयभन्दा बढी संक्रमित
आज काठमाडौंसँगै आठ जिल्लामा एक सयभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, सुनसरी, मोरङ र झापामा एक सयभन्दा बढी संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा कोरोना देखिएको छ। सोमबार काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना देखिएको थियो।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। काठमाडौंमा पाँच हजार ८५६, ललितपुरमा एक हजार २१७ र भक्तपुरमा ९६६ जना सक्रिय संक्रमित पुगेका छन्।
त्यस्तै, चितवनमा १९३, कास्कीमा २७८, सुनसरीमा १८९, मोरङमा २४९ र झापामा २६१ जनामा कोरोना देखिएको छ। सोमबार चितवनमा ९८, कास्कीमा ६२, सुनसरीमा १०६, मोरङमा १२० र झापामा ३१४ मा कोरोना देखिएको थियो।
आज देशभर कोरोना संक्रमित बढेको छन्। तीन हजार ८९९ जनामा कोरोना देखिएको छ भने २० जनाको मृत्यु भएको छ।