किन जोगाउने घाँसे मैदान?
संरक्षित क्षेत्रभित्र र बाहिर रहेका घाँसे मैदान विनाश हुँदै जाँदा प्राकृतिक सुन्दरता मात्रै हराइरहेको छैन, वन्यजन्तुको संरक्षणमा पनि असर परिरहेको छ।
हरिया फाँट। सिनित्त नागबेली जस्तो बाटा। हिंड्दा कुल्चिएला झैं लाग्ने हरियै घाँस। आँखा अड्याउन फाँटबीच आक्कलझुक्कल उभिएका ठूलाठूला रूख।
झापाबाट कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्गको उत्तर र दक्षिणमा देखिने मनमोहक घाँसे मैदानका दृश्य बिस्तारै कम हुँदै गएका छन्। कतिपय घाँसे मैदान जंगल बनेका छन् भने कतिपय बस्ती। अझ संरक्षण क्षेत्रभित्रका घाँसे मैदान पनि बिस्तारै कम हुँदै गएका छन्।
घाँसे मैदान घट्दै जानुमा हाम्रै क्रियाकलाप कारक बनेका छन्। जस्तो, अहिले वर्षायाम हो। यो वेला बिरुवा सार्ने वा नयाँ रोप्ने सदियौंदेखिको प्रचलन छ। यही परम्परागत ज्ञान र सीपलाई पछ्याउँदै पछिल्ला वर्षहरूमा सरकारी तवरबाट नै वन महोत्सव र राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाइँदै आएको छ।
२०७५ बाट १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउन थालिएको छ। यस वर्ष पनि लाखौं नयाँ बिरुवा रोपिएका छन्, रोपिँदै छन्। यस्ता अभियानले जनमानसमा सकारात्मक प्रभाव पारी वनको अभिवृद्धि र संरक्षणमा आबद्ध हुन टेवा पुर्याउँछ।
यसरी बिरुवा लगाउने र रूख हुर्काउने कार्यलाई प्राथमिकतासाथ अघि बढाउँदा पर्यावरणीय र जैविक विविधताका हिसाबले अत्यन्तै महत्त्वपूर्ण घाँसे मैदानको व्यवस्थापन र संरक्षणलाई भने बेवास्ता गरिएको छ। वनमा रहेका खुला चौर अथवा घाँसे मैदान वृक्षरोपणका लगि रोजाइमा पर्ने गर्छन्। यसले वन क्षेत्र बढाउन सहयोग गरे पनि वन पर्यावरणको स्वास्थ्य र गुणस्तरमा भने ह्रास ल्याउँछ।
विश्वमै दुर्लभ लघुकर्ण खरायो, खरमुजुर, काँसे घाँसचरी, सुनौलो तोपचरा जस्ता वन्यजन्तु घाँसे मैदानमा मात्र पाइन्छन्। सुन्दर भू-दृश्य, वन्यजन्तु अवलोकन र सहज सफारीले पनि घाँसे मैदान पर्यटकीय आगमनको आकर्षण हो।
घाँसे मैदान र वन्यजन्तुको सम्बन्ध
घाँसे मैदान, सिमसार र जंगल एक-आपसमा अन्तरसम्बन्धित पर्यावरणीय प्रणालीका अंग हुन्। यही मिश्रित वासस्थान वन्यजन्तुका लागि उपयुक्त हुन्छ। घाँसे मैदान हात्ती, गैंडा, गौर, निलगाई, चित्तल, लगुना, मृग, जरायो जस्ता शाकाहारी जनावरको चरन क्षेत्र हो। यिनै जनावरमा बाघ, चितुवा जस्ता मांसाहारी जनावर आश्रित हुन्छन्। त्यसैले त घाँसे मैदान, आहारा प्रजाति र बाघ जैविक विविधताका प्रमुख सहयात्री मानिन्छन्।
विश्वमै दुर्लभ लघुकर्ण खरायो, खरमुजुर, काँसे घाँसचरी, सुनौलो तोपचरा जस्ता वन्यजन्तु घाँसे मैदानमा मात्र पाइन्छन्। सुन्दर भू-दृश्य, वन्यजन्तु अवलोकन र सहज सफारीले पनि घाँसे मैदान पर्यटकीय आगमनको आर्कषण हो। यो घरपालुवा पशुचौपायाको घाँसको प्रमुख क्षेत्र मात्र होइन, हाम्रा अन्नबालीको वंशाणु स्रोत पनि हो। भूक्षय रोकथाम, कार्बन सोचन, मलिलो माटो बनाउन र पारिस्थितिकीय पौष्टिक चक्र सञ्चालनका हिसाबले पनि घाँसे मैदान महत्त्वपूर्ण मानिन्छ।
पृथ्वीमा रहेको जमीनको हिस्सामध्ये करीब एक चौथाइ भूभाग घाँसे मैदानले ओगटेको भए पनि नेपालमा भने ठूला-ठूला घाँसे मैदान छैनन्। ऐतिहासिक कालखण्डमा गंगा नदी जलाधार क्षेत्रमा व्यापक रूपमा फैलिएका घाँसे मैदान जैविक विविधताका हिसाबले संसारका उत्कृष्ट वासस्थान मानिन्थे। तराईमा पनि पूर्वदेखि पश्चिमसम्म घाँसे मैदानको विस्तार व्यापक थियो।
संरक्षण क्षेत्रभित्रै विनाश
तराई क्षेत्रका काँस र नरकटका घाँसे मैदान संसारकै सबैभन्दा अग्ला घाँस भएका क्षेत्र हुन्। तर, अहिले घाँसे मैदानको अवस्था दर्दनाक छ। संरक्षित क्षेत्रभित्र घाँसे मैदान तीव्र गतिमा नासिँदै छन् भने बाहिरका घाँसे मैदान हराइसकेका छन्।
कपिलवस्तुको दक्षिण–पश्चिममा रहेको करीब दुई सय हेक्टरमा फैलिएको संरक्षित क्षेत्रबाहिरको सबैभन्दा सुन्दर र जैविक महत्त्वको खदराफाँटा घाँसे मैदान यसको ज्वलन्त उदाहरण हो। सन् २००२ मा विदेशी नागरिक जोन कक्सले प्रकाशमा ल्याएको खदराफाँटा दर्जनभन्दा बढी दुर्लभ सहित करीब दुई सय प्रजातिका चराको वासस्थान थियो। संरक्षण नहुँदा अहिले खेत र माछापोखरीमा परिणत छ।
त्यस्तै, जैविक विविधतायुक्त चितवन राष्ट्रिय निकुञ्जभित्रका घाँसे मैदान विनाशको अवस्था कहालीलाग्दो छ। सन् १९७० मा निकुञ्जको २० प्रतिशत क्षेत्रफल घाँसे मैदान थियो। हाल आएर ९.६१ प्रतिशत अर्थात् आठ हजार ९५५ हेक्टरमा खुम्चिएको छ।
झुन्डमा चर्ने चौपायाको दिसापिसाब घाँसलाई मल हुन्थ्यो भने घाँसको बीउ एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण पनि। चरिचरन र खर खडाइलाई रोकेर कतिपय ठाउँमा घाँस पुनः उमार्न आगो लगाउने गरिन्छ। यसले जैविक विविधतालाई थप असर गर्ने र वायु प्रदूषण बढाउने गर्छ।
हुन त घाँसे मैदान कालान्तरमा प्राकृतिक तवरले नै क्रमिक रूपमा रूख हुँदै जंगलमा परिवर्तन हुँदै जान्छ। विडम्बना, मानवीय क्रियाकलापले परिवर्तन एवं विनाशमा तीव्रता ल्याइदिएको छ। खर खडाइ र वस्तुभाउको चरिचरनले घेरै हदसम्म घाँसे मैदान व्यवस्थापन गरेको थियो। हाल पशुपालनमा आएको कमी, संरक्षित क्षेत्र तथा सामुदायिक वनमा रोकिएको चरिचरनले घाँसे मैदानलाई जंगलमा परिणत गर्नमा सघाएको छ।
झुन्डमा चर्ने चौपायाको दिसापिसाब घाँसलाई मल हुन्थ्यो भने घाँसको बीउ एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण पनि। तर, चक्रीय र सन्तुलित चरन भने जरुरी हुन्छ। चरिचरन र खर खडाइलाई रोकेर कतिपय ठाउँमा घाँस पुनः उमार्न आगो लगाउने गरिन्छ। यसले जैविक विविधतालाई थप असर गर्ने र वायु प्रदूषण बढाउने गर्छ।
अर्को, वृक्षरोपणले पनि घाँसे मैदानलाई जंगलमा परिणत गर्यो। जस्तो, बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट सन् १९८० को दशकमा बस्ती विस्थापित गरिएपछि घाँसे मैदानमा वृक्षरोपण गरियो। ठूलाठूला घाँसेझार उम्रिएर स-साना घाँस विस्थापित भए।
यससँगै माइकेनिया, पार्थेनियम, नीलो गन्धेझार, वनमारा र जलकुम्भी जस्ता मिचाहा प्रजातिका झारको चपेटामा पनि परेका छन्, घाँसे मैदान। तराई र पहाडमा मानवीय अतिक्रमणले पनि जोखिम थपेको छ भने हिमाली क्षेत्रमा अधिक चरिचरन र जलवायु परिवर्तनको प्रत्यक्ष असर घाँसे मैदानमा परेको छ।
किन जोगाउने?
वन्यजन्तु संरक्षणका लागि चरिचरन क्षेत्रको दिगो व्यवस्थापन पहिलो आवश्यकता हो। हाम्रा संरक्षण क्षेत्र भित्रका घाँसे मैदानको खस्किँदो गुणस्तरले समग्र पर्यावरणीय चक्र नै प्रभावित भइरहेको छ। चोरीशिकार नियन्त्रण भएर गैंडाको सख्या बढिरहँदा अनपेक्षित रूपमा मृत्युदर पनि बढ्नुमा वासस्थान घाँसे मैदानमा आएको ह्रासलाई पनि कारण मानिएको छ।
घाँसे मैदानको अभावमा बाघका आहाराजन्य प्रजातिको विविधता र संख्या घटेसँगै यसको सीधा असर बाघ संरक्षणमा पनि पर्छ। अन्ततः यसले मानव वन्यजन्तु द्वन्द्वलाई थप चर्काउन मद्दत गर्छ।
यस्तै, घाँसे मैदानको अभावमा बाघका आहाराजन्य प्रजातिको विविधता र संख्या घटेसँगै यसको सीधा असर बाघ संरक्षणमा पनि पर्छ। अन्ततः यसले मानव वन्यजन्तु द्वन्द्वलाई थप चर्काउन मद्दत गर्छ।
यसको असर चरामा पनि परेको छ। विश्वमा दुर्लभ १३ प्रजातिका चरा नेपालको घाँसे मैदानमा मात्र पाइन्छन्। यीसँगै राष्ट्रिय रूपमा संकटापन्न २५ प्रजातिका चराले संकट झेलिरहेका छन्। घाँसे मैदानको विनाशसँगै पर्यावरणीय चक्र, खाद्यशृंखला र जैविक विविधताको अस्तित्व नै छिन्नभिन्न हुँदै गएको छ।
घाँसे मैदान संरक्षणका लागि संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रले आफ्नो वार्षिक कार्यक्रम बनाएर काम गरिरहेको भए पनि काममा एकरूपता र प्राविधिक तालमेल देखिँदैन। उदाहरणका लागि घाँसे मैदानमा बस्ने चराको प्रजनन समयसँग मिल्ने गरी वर्षायाम शुरू हुनुअघि घाँस काट्ने र जलाउने प्रचलन छ, जुन मुख्य खतरा बन्दै गएको छ। यो समयमा घाँस काट्ने, जलाउने र मानिसको अत्यधिक आवतजावत जस्ता कार्यलाई रोक्नुपर्छ।
संरक्षित क्षेत्र बाहिर पनि बाघको उपस्थिति बाक्लो बन्दै गइरहेको वेला आहारा प्रजाति जोगाउन घाँसे मैदान संरक्षणमा वन विभाग, मातहतका निकाय र सामुदायिक वनले पनि चासो दिनु जरुरी छ। वनको व्यवस्थापनमा घाँसे मैदानको संरक्षणलाई पनि समेट्नुपर्छ। करीब तीन वर्षअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा घाँसे मैदान व्यवस्थापन कार्ययोजना बनाउने कार्यको थालनी भएको थियो। तर, अझै पूर्णता पाउन सकेको छैन।
आशा गरौं, घाँसे मैदान व्यवस्थापन कार्ययोजनाले छिटै पूर्णता पाउनेछ र घाँसे मैदान बेवास्तामा पर्नेछैनन्। फेरि संरक्षण हुनेछ। पहिले झैं संरक्षण क्षेत्रका साथै पूर्व-पश्चिम राजमार्गमा हुइँकिदा सुन्दर घाँसे मैदानको दृश्यावलोकन गर्न पाइनेछ।
(भुसाल जीवशास्त्री हुन् ।)