गरीबीको रेखामुनि रहेका जनतालाई बिजुलीमा सहुलियत दिने योजना छः ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विद्युत् उपयोगमा विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन्।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने योजनामा काम गरिरहेको बताएकी हुन्।
मन्त्री भुसालले विद्युत् महसुलमा पुनर्विचार गर्ने नीति बनाउने पनि बताइन्। महसुल महँगो भएको बताउँदै यसलाई उपयोगको आधारमा समायोजन गर्नुपर्ने उनको धारणा थियो।
ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ भएको बताउँदै मन्त्री भुसालले त्यसको खपत स्वदेशमै हुनुपर्ने पनि बताइन्। उत्पादन भएको विद्युत् स्वदेशमै प्रयोग गर्न सक्ने गरी रणनीतिक योजना तयार गर्ने उनले दाबी गरिन्।
सर्वेक्षण र विस्तृत अध्ययन भएका ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना सरकारले बनाउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गरिने बताइन्।
उत्पादन वृद्धि गर्ने, बिजुलीको सस्तो दर तोक्ने, सहुलियत दिने र उपभोक्ता बढाउनेतर्फ आफू लाग्ने बताउँदै मन्त्री भुसालले स्वदेशी विद्युत्ले विदेशबाट आयात हुने पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने गरी नीति तयार गर्ने बताइन्।