बढे बाघ, बढेन वासस्थान
बाघको संख्या वृद्धि हुनु जति सुखद छ, यसको संरक्षण र बासस्थान व्यवस्थापनको चुनौती उत्तिकै पेचिलो छ।
बाघको संख्या दोब्बर बनाउन नेपालले प्रतिबद्धता जनाएको समय आगामी वर्ष पूरा हुँदै छ। बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियामा भएको सम्मेलनमा नेपालले बाघको संख्या सन् २०२२ सम्म दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। जस अनुसार, सन् २०१० मा नेपालमा बाघको संख्या १२१ रहेकोमा आगामी वर्ष २४२ हुनुपर्छ। तर, नेपालले दोब्बरभन्दा पनि बढी २५० पुर्याउने प्रतिबद्धता जनाएको थियो।
सन् २०१८ को गणनामा बाघको संख्या २३५ रहेकाले नेपालले राखेको लक्ष्य सहजै पूरा हुने विश्वास सरकारी अधिकारीहरूको छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बुद्धि पौडेल भन्छन्, “तीन वर्ष अघिको गणनामै बाघको संख्या २३५ पुगिसकेकाले लक्ष्य पूरा गर्न गाह्रो हुँदैन। यकिन संख्या त गणनापछि नै थाहा हुन्छ, तर अहिले २५० भन्दा बढी नै बाघ छन् भन्ने हाम्रो अनुमान छ।”
आगामी नोभेम्बरदेखि बाघको गणना शुरू गरेर प्राप्त तथ्यांक विश्लेषणपछि सन् २०२२ मा बाघको संख्या सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ।
चोरी शिकार, वन विनाश र जनघनत्व वृद्धिका कारण बढेको अतिक्रमणका कारण बाघको वासस्थान संकटमा परेको छ भने आहारा प्रजाति पनि घट्दो छ। यसबाट विश्वबाटै बाघ लोप हुने स्थितिमा पुगेको भन्दै पाटे बाघ पाइने देशहरूले सेन्ट पिटर्सबर्ग सम्मेलनमा बाघको संख्या बढाउने लक्ष्यसहित प्रतिबद्धता जनाएका थिए। जैविक विविधताको सूचकका रूपमा लिइने बाघको संख्या लोप भए त्यसले मानव जीवनको भविष्य नै प्रभावित हुने भन्दै सम्मेलनले बाघ संरक्षणमा जोड दिएको थियो।
संख्या बढ्दा वासस्थानको चुनौती
लक्ष्य अनुसार बाघको संख्या वृद्धि हुनु सुखद पक्ष हुँदै हो, सँगै चुनौती पनि थपिएको छ। किनभने नेपालमा बाघ पाइने निश्चित क्षेत्र मात्र छन्। चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज बाघका प्रमुख वासस्थान हुन्। सन् २०१८ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ पाइएका थिए।
यी दुई निकुञ्ज बाहेक बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि बाघका वासस्थान हुन्। गणनाका क्रममा बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ देखिएका थिए।
वासस्थानको अवस्था, आहारा प्रजातिको पर्याप्तता र पानीको उपलब्धताले कुन स्थानमा कति बाघ रहन सम्भव हुन्छ भन्ने निर्धारण हुन्छ। विज्ञहरूका भनाइमा नेपालका निकुञ्जहरूले धेरै बाघ धान्न सक्ने अवस्था छैन।
वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवाली निकुञ्जहरूले मात्र अब थप बाघ धान्न नसक्ने बताउँछन्। “आहारा प्रजाति र वासस्थानको क्षेत्रफलले पनि थप संख्या धान्न गाह्रो हुनसक्छ,” ज्ञवाली भन्छन्, “यो सीमा विचार गरेर आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे योजना बनाउन ढिला गर्न हुँदैन।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत वर्ष गरेको अध्ययन अनुसार, चितवन राष्ट्रिय निकुञ्जले १३६ र पर्सा राष्ट्रिय निकुञ्जले ३९ वटा बाघ थेग्न सक्ने देखिएको छ। यी दुई बाहेक अन्यत्रका राष्ट्रिय निकुञ्जहरूले आहाराको उपलब्धता र वासस्थानको अवस्थाले कति बाघ थेग्न सक्छन् भनेर अध्ययन हुन बाँकी छ। बर्दिया राष्ट्रिय निकुञ्जमा यस वर्ष अध्ययन हुँदै छ।
बाघको संख्या बढेपछि मानिस र बाघबीच द्वन्द्व बढेको कतिपयको बुझाइ छ। संख्या बढेकै कारण बर्दियामा बाघले मानिसमाथि आक्रमण गर्ने क्रम बढेको बताइन्छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, बाघको आक्रमणबाट २०७७ असारयताको एक वर्षमा १२ जनाको मृत्यु भएको छ। आक्रमणका यी घटना बाघको वासस्थानमा भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बताउँछन्।
“मानिसको मृत्यु हुनु आफैंमा दुःखद त हो। तर, बाघले आफ्नो वासस्थान अर्थात् निकुञ्ज बाहिर आएर आक्रमण गरेको छैन,” श्रेष्ठ भन्छन्, “आक्रमणको घटना हेरेर अध्ययन विना नै बर्दियाले अब बाघ थेग्न सक्दैन भन्ने निष्कर्ष निकाल्नु हतार हुन्छ।”
वासस्थानको अवस्था, आहारा प्रजातिको पर्याप्तता र पानीको उपलब्धताले कुन स्थानमा कति बाघ रहन सम्भव हुन्छ भन्ने निर्धारण हुन्छ। विज्ञहरूका भनाइमा नेपालका निकुञ्जहरूले धेरै बाघ धान्न सक्ने अवस्था छैन।
बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेल भने बाघ पाइने तराईका निकुञ्जले ३०० बाघ थेग्नसक्ने बताउँछन्।
बाघको संख्या बढेसँगै यसको व्यवस्थापनका विषयमा विज्ञहरूका फरक–फरक धारणा छन्। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट बाघको संख्या बढ्दा मानवसँग द्वन्द्व बढ्ने भएकाले मानिस र बाघको सुरक्षा कसरी गर्ने कुरा महत्त्वपूर्ण रहेको बताउँछन्।
उनी भन्छन्, “बाघ जोगाउन नेपाल र भारतबीचको करिडोर पनि व्यवस्थित हुनुपर्छ। जसले गर्दा नेपालमा असुरक्षा हुँदा भारत र उता असुरक्षा हुँदा नेपालतिर आउजाउ गर्न सकून्।”
वन्यजन्तुको क्षेत्रमा लामो समय काम गरेका र हाल प्रदेश २ सरकारको सचिव रहेका डा. रामचन्द्र कँडेल भने बाघको संख्या कुनै प्रयासबाट नभई प्राकृतिक रूपमा निर्धारण हुने बताउँछन्। “निश्चित संख्या पुगेपछि हामीले जतिसुकै बढाउँछौं भनेर पनि हुँदैन, प्रकृतिले नै त्यसलाई नियन्त्रण गर्छ,” उनी भन्छन्, “संख्या बढे के गर्ने भनेर आत्तिनु पर्दैन। हामीले त व्यवस्थापनको काम अझ राम्रो गर्दै जाने हो।”
व्यवस्थापनको प्रश्न
पछिल्लो समय बाघ निकुञ्जमा मात्र नभएर बाहिरका क्षेत्रमा समेत देखिन थालेका छन्। जस्तो कि, डडेल्धुराको महाभारत जंगल, रुपन्देहीमा पर्ने चुरे तथा इलाममा समेत बाघ भेटिएका छन्। विज्ञहरू निकुञ्जमा बाघको संख्या बढेपछि बाहिर निस्किन थालेको अनुमान गर्छन्। तर, ती स्थानमा के कारणले बाघ देखिएका हुन् भन्नेबारे अध्ययन भएको छैन।
निकुञ्जसँग जोडिएका चुरे क्षेत्र बाघको वासस्थान हुने सम्भावित क्षेत्र देखिए पनि व्यवस्थापनमा अनेक जटिलता छन्। राष्ट्रिय निकुञ्ज संघ र वन क्षेत्र प्रदेश मातहत छ। प्रदेशहरूले अहिलेसम्म वन क्षेत्रलाई वन्यजन्तुको सम्भावित वासस्थानको दृष्टिकोणले हेरेका छैनन्।
जुनसुकै कारणले निकुञ्ज बाहिरका क्षेत्रमा बाघ देखिन थाले पनि ती ठाउँमा पनि उपयुक्त वासस्थान र संरक्षण कार्यक्रमका लागि थप काम गर्नुपर्ने देखिएको छ। वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवाली चुरे र महाभारतको जंगल बाघका लागि राम्रो वासस्थान हुनसक्ने भन्दै त्यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिन्छन्।
“बाघको वासस्थानका लागि मध्यवर्ती क्षेत्र प्रशस्त छन्, त्यस बाहेक चुरे पनि राम्रो सम्भावित क्षेत्र हो,” उनी भन्छन्, “निकुञ्जका साथै बाहिरका क्षेत्रलाई पनि व्यवस्थापन गर्ने विषयमा ध्यान दिनुपर्छ।”
निकुञ्जसँग जोडिएका चुरे क्षेत्र बाघको वासस्थान हुने सम्भावित क्षेत्र देखिए पनि व्यवस्थापनमा अनेक जटिलता छन्। राष्ट्रिय निकुञ्ज संघ र वन क्षेत्र प्रदेश मातहत छ। प्रदेशहरूले अहिलेसम्म वन क्षेत्रलाई वन्यजन्तुको सम्भावित वासस्थानको दृष्टिकोणले हेरेका छैनन्। प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रामचन्द्र कँडेल प्रदेश सरकारले वन क्षेत्रलाई वन्यजन्तुको वासस्थानका रूपमा नहेरेको बताउँछन्।
“ज्ञानको अभावका कारण अहिलेसम्म प्रदेश सरकारले वन्यजन्तुको वासस्थानको दृष्टिले कार्यक्रम ल्याउन सकेको छैन। अब कुरा बुझाउन आवश्यक छ,” उनी भन्छन्।
चुरे तथा महाभारत क्षेत्रमा अतिक्रमण गरेर मानिस बसोबास गर्ने क्रम बढ्दो छ। निकुञ्ज बाहिरका क्षेत्रमा बाघ लगायत अन्य वन्यजन्तु जाँदा तिनको सुरक्षा जोखिममा पर्ने गरेको वन्यजन्तु मारिएका घटनाहरूले देखाएकै छन्। जस्तो कि, कैलालीको गौरीगंगा नगरपालिकाको वन क्षेत्रमा पुगेको पाटे बाघ गत असारमा मृत भेटिएको थियो।
वन्यजन्तु विज्ञ बाघ संरक्षणका लागि पालिका मार्फत गाउँगाउँमा जनचेतनाका कार्यक्रम लैजानुपर्ने बताउँछन्। बाघ विज्ञ पोखरेल भन्छन्, “स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर उनीहरूलाई जिम्मेवार नबनाएसम्म संरक्षणको काम कठिन हुन्छ।”
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. बुद्धि पौडेल बाघको संख्या गणनापछि संरक्षण र वासस्थान व्यवस्थापनका लागि नयाँ योजना बनाइने बताउँछन्।