बच्चुकैलाश : नेपाली सङ्गीतबाट हराउने अन्तिम आवाज
अम्बर गुरुङले सन् १९६३ तिर दार्जीलिङमा एकदिन मसँग भन्नुभएको थियो- काठमाडौंमा एक जना गायक छन्, जो बडा असाधारण छन्। उनी गाउन थाल्दा, आँखा चिम्म गर्छन्, ध्यान गरे झैं र अन्तिम नोट सिद्धिसकेपछि मात्रै आँखा खोल्छन्।
'मैले ती सब त्यागिदिएँ, (आई थ्रु इट अल अवे)।’ - बब डिलन
मलाई लाग्छ, बच्चुकैलाश नेपाली सङ्गीतबाट हराउने अन्तिम आवाज हुन्।
'पिटर,' अम्बर गुरुङले एकदिन मसँग भन्नुभएको थियो त्यो सन् १९६३ को दार्जीलिङको कुरा हो। काठमाडौंमा एक जना गायक छन्, जो बडा असाधारण छन्। उनी गाउन थाल्दा, आँखा चिम्म गर्छन् ध्यान गरे झैं र अन्तिम नोट सिद्धिसकेपछि मात्रै आँखा खोल्छन्।
'को रैछन् सर,' उस्तादको मुक्तकण्ठ प्रशंसा सुनेर म प्रभावित भएको थिएँ।
'उनको नाम बच्चुकैलाश हो।'
शरद् ऋतुको शान्त साँझ थियो। स्थान थियो आर्ट एकेडेमी अफ म्युजिक जुन त्यतिखेर पुलिस कोर्ट इन्सपेक्टर सचिन्द्रमणि गुरुङको सरकारी क्वार्टरमा रहेको थियो। सचिन्द्रमणि तिनै दानी आत्मा थिए जसले अम्बर गुरुङको 'नौलाख तारा उदाए र 'म अम्बर हुँ' रेकर्डिङ गर्न पैसा हालेका थिए। रुद्रमणि गुरुङ र अरुणा लामाको गीतको रेकर्डिङ पनि उनैको द्रव्य सौजन्यमा कोलकातास्थित हिन्दुस्तान रेकर्ड्समा भएको थियो।
एकेडेमीका अरू सदस्यहरू अझै आइपुगेका थिएनन् र हामी दुई जना हेवर्ड रमको बोतल रित्याउँदै थियौँ।
काठमाडौंको चर्चा गर्दै अम्बर गुरुङले यी कुरा मलाई सुनाउनुभएको थियो। काठमाडौंमा उहाँ एकेडेमीका अरू सदस्यहरूलाई लिएर जानुभएको थियो र जसलाई हामी 'नौलाख तारा टुर' भन्ने गर्थ्यौं। यो भ्रमण राजा महेन्द्रको आज्ञाबाट सम्पन्न भएको थियो।
फर्किएपछि त्यस टुरका हाम्रा साथी सदस्यहरूले आ-आफ्ना अनुभव सुनाए- काठमाडौंका अनेक दरबार र भव्य भोजका कुराहरू। विराटनगर विमानस्थलबाट शुरू भएका उनीहरूका रमाइला किस्साका शृङ्खला राजधानी काठमाडौं हुँदै फेरि विराटनगर फर्किएपछि टुङ्गिएका थिए। उनीहरूका किस्सा निकै मनोरञ्जक थिए र तिनबाट नेपालबारे निकै जानकारी पनि पायौं।
अम्बर सरले काठमाडौंको प्रभावबारे मलाई सुनाएका कुरामध्ये एउटा प्रसङ्ग बच्चुकैलाशको थियो, जसले आफ्नो थर कहिल्यै आम रूपमा प्रयोग गर्नुभएन, जुन बस्नेत थियो।
'उनी गीतमा यसरी मग्न हुन्छन्,' सरले भन्नुभयो, 'कि गाउँदा उनलाई आकाश खसे पनि धर्ती भासिए पनि परवाहै रहन्न।'
बच्चुकैलाशका गीतहरू दार्जीलिङमा निकै लोकप्रिय भइसकेका थिए। उनका गीतहरू हामी प्रायः रेडियो नेपालका प्रसारणबाट सुन्थ्यौं। विशेषतः पुष्प नेपालीसँग उनले गाएका युगल गीतहरू दार्जीलिङका पहाडमा निकै हिट थिए। जमघट र पार्टीहरूमा हामी यी गीतहरू गाउने गर्थ्यौं।
...
त्यसको धेरै वर्ष पश्चात् म काठमाडौं आएपछि अम्बर गुरुङ मार्फत मेरो भेट दाइ बच्चुकैलाशसँग भयो। बच्चु दाइले जयनेपाल चित्रघर नजिकैको आफ्नो घरमा बेलुकी मदिरा र भोजनका निम्ति हामीलाई निम्त्याउनुभएको थियो। हामी विभिन्न कार्यक्रमहरूमा सँगै गएका थियौं। एक साँझ लेकाली समूहको कार्यक्रम हेर्न हामी राष्ट्रिय नाचघर पनि पुग्यौं। बच्चु दाइ कार्यक्रममा आउनु त भयो, तर त्यस साँझ उहाँले गीत गाउनुभएन।
अम्बर सरले काठमाडौंको प्रभावबारे मलाई सुनाएका कुरामध्ये एउटा प्रसङ्ग बच्चुकैलाशको थियो। 'उनी गीतमा यसरी मग्न हुन्छन्,' सरले भन्नुभयो, 'कि गाउँदा उनलाई आकाश खसे पनि धर्ती भासिए पनि परवाहै रहन्न।'
रूपरेखा साहित्यिक पत्रिकाका सम्पादक उत्तम कुँवरले हामीलाई एक पल्ट दक्षिणकाली मन्दिर घमाउन लैजानुभयो जसमा अम्बर सर, बच्चु दाइ, श्रीमती कुँवर, रत्न राई लामि১छाने (शंकर लामिछानेकी धर्मपत्नी), रञ्जित, फुर्वा छिरिङ भुटिया र म सामेल थियौं। फर्कंदा हामी फर्पिङमा रोकियौं। फर्पिङ स्कूलका प्रिन्सिपल अम्बरबहादुर श्रेष्ठको अनुरोधमा त्यहाँका विद्यार्थीहरूका लागि हामीले छोटो सांगीतिक कार्यक्रम पनि गर्यौं। त्यस अवसरमा भने बच्चु दाइले गाउनुभयो।
मेरी पत्नी रञ्जना राष्ट्रिय नाचघरमा काम गर्दादेखि नै बच्चु दाइलाई चिन्थिन्। बच्चु दाइ त्यहाँ नियमित आउनुहुन्थ्यो र रञ्जना विशेष अवसरमा त्यहाँ नृत्य प्रस्तुत गर्थिन्। बच्चु दाइ मेरा दुई जना जेठानहरूलाई पनि चिन्नुहुन्थ्यो । उनीहरू पनि जागीरे थिए- एक जना नर्तक थिए, अर्का चाहिं दर्शक-व्यवस्थापनकर्ता। दर्शकका सामु नृत्य प्रस्तुत गर्न रञ्जनालाई त्यतिखेर कुनै पनि सामाजिक खिसी टिउरीको गर्नुपरेन, किनभने राजधानीस्थित प्रमुख सांस्कृतिक केन्द्रमा नाच्न उनले आफ्ना दाजुहरूबाट स्वीकृति र साथ दुवै पाएकी थिइन्।
रञ्जना पछि थाई एअरवेजमा जागीर खान थालिन्। बच्चु दाइ बराबर यात्रा गर्नुहुन्थ्यो र उहाँ प्रायःजसो थाई एअरवेजमै उड्नुहुन्थ्यो।
यिनै सम्बन्धका कारण हाम्रो निकटता बढ्दै गयो। त्यस निकटतामा मैले बिर्सिसकेको एउटा शब्द पनि उहाँले मलाई सम्झाउनुभयो– भैया, त्यस सम्बोधनलाई मैले दार्जीलिङमै छाडेर आएँ भन्ठानेको थिएँ।
...
'पिटर भैया, मैले सबै पैसा हारें। अब के गर्ने होला,' बच्चु दाइ मेरो सामु उभिनुभएको थियो त्यस रात।
हामी सोल्टी होटेलको छिंडीमा रहेको गुफारूपी क्यासिनो नेपालमा थियौं । म त्यहाँ ब्ल्याकज्याक टेबलको निगरानीकर्ताको काम गर्थें।
त्यो रात निकै भीडभाड थियो, म दुईवटा टेबलको निरीक्षणमा खटिएको थिएँ, जहाँ मातेका जुवाडेहरूको भीड थियो, जसमध्ये अधिकांश निजामती कर्मचारी, सैनिक अफिसर र सरकार नियन्त्रित निगमका हाकिमहरू थिए। क्यासिनोमा अन्य नियमित आगन्तुकहरूमा चित्रकार उत्तम नेपाली, कवि भूपी शेरचन, बैरागी काइँला र सम्पादक–प्रकाशक बालमुकुन्ददेव पाण्डे थिए।
बच्चु दाइलाई पैसा खाँचो भएको प्रष्ट थियो। उहाँ गाडीमा घर गएर पैसा ल्याउन पनि सक्नुहुन्थ्यो, तर त्यसो गर्दा सम्भवतः उहाँकी पत्नीले आपत्ति जनाउनुहुन्यो। त्यसैले होला, मैले केही सहयोग जुटाउन सक्छु कि भनेर मकहाँ आउनुभएको थियो। त्यसो भएमा बाँकी रात खेल्न सक्नुहुन्थ्यो। तर, म निस्सहाय थिएँ। बच्चु दाइ सम्पन्न मान्छे हुनुहुन्थ्यो र मेरो वालेटमा भएको पैसा उहाँका लागि खुद्राखाद्री मात्र हुन्थ्यो।
मसँग एउटै उपाय थियो- खजाञ्जीको कोठामा गएर थोरबहुत रुपियाँ माग्ने या मेरो तलबबाट काटिने गरी पेश्की लिने र बच्चु दाइलाई सापटी दिने। तर, म व्यस्त थिएँ र मलाई पालो दिने अरू कोही थिएन। जतिखेर मैले विश्रामको समय पाएँ, आधा रात भइसकेको थियो र बच्चु दाइ गइसक्नुभएको थियो। त्यस रात नरमाइलो लाग्यो, उहाँलाई सहयोग गर्न नपाएकोमा। त्यसको केही समयपछि सरकारले क्यासिनोमा नेपालीहरूले प्रवेश नपाउने घोषणा गर्यो। क्यासिनो नेपाल त्यतिखेर बेरुत र मकाओका बीचको एउटै मात्र जुवाघर थियो।
...
नेपाली सङ्गीत जगत्मा आफूले देखेका कुरा गर्दा म पहिलेदेखि नै स्पष्टवक्ता छु, चाहे त्यो दार्जीलिङको होस् या काठमाडौंको। अब म अर्को किस्सा सुनाउँदै छु, जसबाट नेपालका 'उच्च र शक्तिशाली वर्ग'को सामाजिक संरचनाबारे केही जानकारी मिल्दछ।
एक दिन, मलाई र रञ्जित गजमेरलाई अम्बर सरले उहाँ र बच्चुकैलाशका लागि गीतकार छिन्नलताका घरमा गएर सङ्गीत दिन तयार रहन खबर पठाउनुभयो। खास नाउँ रमोलादेवी भएकी छिन्नलता काठमाडौंको मानन्धर परिवारकी थिइन्। उनी राजा महेन्द्रका दुई भाइमध्ये कान्छा 'रसिक अधिराजकुमार' बसुन्धरालाई मोहित पार्नसक्ने सुन्दरी थिइन्। उनी बसुन्धराकी भित्रिनी बनिन् र बसुन्धराले उनलाई ताहाचलमा आलिशान बङ्गलामा राखेका थिए।
हामीले त्यस साँझ रानी साहिबा रमोलादेवी शाहको मनोरञ्जनका खातिर गानबजान गर्नुपर्ने थियो। छिन्नलताको सामन्ती शोख पुर्याउन रेडियो नेपालका तत्कालीन निर्देशक भोग्यप्रसाद शाहले सो कार्यक्रमको आयोजना गरेका थिए। शाह र बच्चु दाइबीच साडुदाइ साडुभाइको नाता थियो। दुवैले एकै परिवारका दिदीबहिनी बिहे गरेका थिए। यस्तै सम्बन्ध-सूत्रका कारण हामी पाँच जना छिन्नलताको निवासमा पुगेका थियौं। अम्बर सर र बच्चु दाइले त्यस साँझ हार्मोनियम बजाएर गीत सुनाउनुभयो। रञ्जितले तबला बजायो र मैले गिटार।
पानी परेको चिसो साँझ थियो त्यो। हाम्रो कार्यक्रम चल्दाचल्दै बीचमा छिन्नलता बैठक कोठाबाट बाहिर निस्किइन् र फर्कंदा हातमा 'रेड लेबल' को बोतल लिएर आइन्। बोतल खोलिसकेपछि सबैका निम्ति उनले बिर्कोले नापेर एकएक बिर्को रक्सीको पेग बनाइन्। त्यसमाथि पानी खन्याएर रक्सी पातलो पारिन्। उनको कृपण आतिथ्य देखेर मैले अपमानित महसूस गरें, तर हामीमध्ये सबै जनाले उनको कृपालाई कृतज्ञतापूर्वक स्वीकार गरेको स्वाङ पार्यौं र आफ्नो प्रस्तुति जारी राख्यौं।
संयोगले कोठामा एक जना पाण्डे भन्ने व्यक्ति पनि थिए। उनले रानी साहिबाको कन्जुस्याइँ हेरिरहेका थिए। अर्कोपल्ट उनी बाहिर निस्किएपछि उनले भने, 'यसरी पनि पाहुनालाई सत्कार गरिन्छ? कसले गर्न सक्ला यस्तो?' उनले झम्टेर बोतल समाए र हाम्रो ग्लासमा दोब्बर–तेब्बर पेग भरिदिए। त्यसपछि हामीमा स्फूर्ति आयो र हाम्रो संगीतमा अचानक जीवन्तता थपियो। जब रानी साहिबा फर्किइन् र बोतल आधा रित्तिइसकेको देखिन्, उनको मुखबाट योभन्दा ज्यादा फुटेन, 'यहाँ के भयो?'
एक दिन बच्चु दाइसँग दरबारमार्गमा भेट्ने मौका जुर्यो। दाइले मलाई उहाँको घर लग्नुभयो र नयाँ गीतहरूको एउटा 'एलपी रेकर्ड' दिनुभयो। त्यतिखेर नेपाली सङ्गीतसर्जक आफैंले निजी लगानीमा उत्पादन गरेको रेकर्ड थियो त्यो।
पाण्डेले उनलाई छड्के आँखाले हेर्दै भने, 'मैले पाहुनाहरूलाई टक्रयाइदिएँ। हजुरले के गरिबक्सेको यस्तो वाहियात!' को थिए ती पाण्डे? मलाई आजसम्म पनि थाहा छैन। तर, त्यस साँझ उनले हाम्रो ठूलो कल्याण गरे।
अन्त्यमा डिनरको कार्यक्रम थियो – चिसो मौसममा र भिजेको बगैंचामा पालमुनि। मलाई अझै सम्झना छ – नान लतक्क परेको थियो।
अहिले स्वर्गीय गीतकार रानी साहिबा रमोलादेवी शाहको स्मृतिलाई छिन्नलता ट्रस्टले जोगाएर राखेको छ, जसको स्थापना उनैले गरेकी थिइन् र जसले वार्षिक छिन्नलता पुरस्कार प्रदान गर्दछ।
...
एक दिन बच्चु दाइसँग दरबारमार्गमा भेट्ने मौका जुर्यो। दाइले मलाई उहाँको घर लग्नुभयो र नयाँ गीतहरूको एउटा 'एलपी रेकर्ड' दिनुभयो। त्यतिखेर नेपाली सङ्गीतसर्जक आफैंले निजी लगानीमा उत्पादन गरेको रेकर्ड थियो त्यो।
त्यसको कभर हेर्नासाथ मलाई झट्का लाग्यो। रेकर्डको खोलमा रहेको उहाँको श्यामश्वेत तस्वीर केएल सहगलसँग मिल्दोजुल्दो थियो। सहगल सन् १९४० ताका बम्बई 'टाकिज' का महान् पार्श्व गायक तथा अभिनेता थिए। त्यसपछि मैले महसूस गरें, बच्चु दाइ ठ्याक्कै सहगल जस्तै देखिनुहुन्थ्यो। निधारमा कुर्ली परेर तलतिर झरेको केसको लर्कन समेत दुरुस्तै।
...
मैले यसअघि लेखेका लेखहरूमा उल्लेख गरेको छु– नेपालका केही गायकहरूले आफ्नो बुलन्दीकै वेला गायनलाई छाडिदिएको। ध्रुव केसी र माणिकरत्न यसका उदाहरण हुन्। सन् १९६० को उत्तरार्द्धमा त्यसरी छाड्नेमा थपिनुभयो बच्चुकैलाश। ध्रुव केसी र माणिकरत्नले आफ्नो कला किन छाडे, त्यो मलाई थाहा छैन। तर, बच्चुकैलाशले दर्शकका सामु फेरि कहिल्यै नगाउने निर्णय गर्दा म साक्षी थिएँ।
सन् १९६८ को शरद् ऋतुको एक साँझको घटना हो यो। भीषण वर्षाका कारण दार्जीलिङका पहाडहरूमा पहिरो गएको थियो। केही 'दार्जीलिङका हितैषी'हरूले काठमाडौंमा दुईवटा कार्यक्रम गरेर सहयोग रकम जुटाउने निर्णय गरे। आयोजकहरूमा लेखक शंकर लामिछाने, कविद्वय भूपि शेरचन र तुलसी दिवस एवं गायक-संगीतकार बच्चुकैलाश, नारायणगोपाल लगायत अन्य थिए।
साथै दार्जीलिङकै नगेन्द्र शर्मा, डीएन प्रधान, रत्न राई लामिछाने, याङ्जी शेर्पा र गोपाल योञ्जन आदि पनि आयोजकहरूमा थिए। पहिलो कार्यक्रममा फेसन शो र सांस्कृतिक कार्यक्रम थियो। दोस्रो कार्यक्रम गीत र नृत्य प्रस्तुत भएको साङ्गीतिक कार्यक्रम थियो। महेन्द्र पुलिस क्लबमा भएका थिए दुवै कार्यक्रम। तिनताका उम्दा कार्यक्रमहरू हुने थलो नै पुलिस क्लब थियो।
सन् १९६८ मा एक साँझको कार्यक्रममा बच्चु दाइको गीतमा मैले गिटार बजाएँ। गाउँदागाउँदै पछिल्लो लहरमा बस्नेले अभद्र तरिकाले सिट्ठी मारे। आफ्नो प्रस्तुति सिद्ध्याएर माइक्रोफोनबाट पर हटेपछि उहाँले मसँग फुसफुसाउँदै भन्नुभयो, 'यस्ता मान्छेहरूका लागि अब गीत गाए त के?' उहाँ आज पर्यन्त आफ्नो वचनमा कायम हुनुहुन्छ, त्यति मात्रै होइन जिज्ञासु रिपोर्टरहरू र मिडियाबाट पनि टाढै बस्नुहुन्छ।
त्यस साँझ बच्चु दाइको गीतमा मैले गिटार बजाएँ। आफ्नै शैलीमा आँखा चिम्म गरेर भावपूर्ण तरिकाले गाउनुभयो उहाँले। तर, श्रोताहरूमध्ये केही उपद्र्याहा थिए। उहाँले गाउँदागाउँदै पछिल्लो लहरमा बस्ने तिनीहरू (जो सामान्यतया जबर्जस्ती छिर्ने र गुन्डा टाइपका हुन्थे)ले अभद्र तरिकाले सिट्ठी मारे।
मैले सम्झिए अनुसार, श्रोताहरूको यस्तो खाले व्यवहार काठमाडौंका कार्यक्रममा भई नै रहन्थे। आज पनि कार्यक्रमहरूमा त्यसरी असन्तुष्टि या भनूँ ईर्ष्यालु प्रवृत्ति व्यक्त गरेको देख्न पाइन्छ। मलाई लाग्छ, यो समग्रमा नेपालीहरूको पराजित मानसिकताको प्रतिबिम्ब हो। तिनीहरू अर्काको प्रतिभा र उन्नति देख्न सक्दैनन्।
लगनशील सङ्घर्ष र धैर्यपूर्वक गरिएको प्रयासबाट कसैले हासिल गरेको उपलब्धिको गुण गाउन उनीहरू जान्दैनन्। 'खुट्टा तान्ने' यस प्रवृत्तिले नेपालमा विनाशकारी असर पारेको छ। आफ्नो प्रस्तुति सिद्ध्याएर माइक्रोफोनबाट पर हटेपछि उहाँले मसँग फुसफुसाउँदै भन्नुभयो, 'यस्ता मान्छेहरूका लागि अब गीत गाए त के?'
उहाँ आज पर्यन्त आफ्नो वचनमा कायम हुनुहुन्छ, त्यति मात्रै होइन जिज्ञासु रिपोर्टरहरू र मिडियाबाट पनि टाढै बस्नुहुन्छ। त्यसले गर्दा उहाँबारे कहीं कतै केही विरलै छापिएको पाइन्छ। सन् १९६८ को त्यो अन्तिम सार्वजनिक प्रस्तुतिपछि उहाँबारे हामीले गर्नसक्ने भनेको अड्कलबाजी मात्रै हो– 'शायद' वा 'हुनसक्छ' जस्ता शब्दहरूका सहारामा।
...
गायिका सुषमा श्रेष्ठले पनि त्यस्तै भोग्नुपर्यो। उनी मुम्बईनिवासी नेपाली गायिका सङ्गीतकार भोला श्रेष्ठकी छोरी हुन्। भोला धेरै वर्षअघि काठमाडौंबाट बम्बई गएका थिए। काठमाडौं आएकी सुषमाले कार्यक्रममा जब आफ्ना पिताद्वारा सङ्गीतबद्ध र लता मंगेशकरको सदाप्रिय 'आएगा, आएगा, आएगा आनेवाला' भन्ने गीत गाइन्- काठमाडौंका श्रोताले होहल्ला मच्चाए। कारण, त्यो हिन्दी गीत थियो। सुषमा रोइन् र 'यु आर सो मीन' भन्दै मञ्चबाट निस्किन्, कहिल्यै नफर्किने गरी।
...
तिनताक काठमाडौं उपत्यका झगडालु 'ग्याङ'हरूको समूहले भरिएको थियो। तर, साँचो कुरा भन्नुपर्दा, सन् १९५०–६० को दशकताका दार्जीलिङ शहरमा हाम्रो जुन खालका ग्याङ हुन्थे तिनका सामु काठमाडौंका ग्याङ दाँजिन सक्दैनथे। काठमाडौंका उपद्य्राहाहरू 'हुल्याहा' थिए, जसको अर्थ हुन्छ, एक्लो शिकारमाथि हूल बाँधेर हमला गर्ने। दार्जीलिङका ग्याङहरू आफ्नो विपक्षीलाई एकएक गरी आइज भनर झगडा गर्ने खालका हन्थे। दार्जीलिङको भूतपूर्व दादा मलाई काठमाडौंका हुल्याहाहरूको 'पानीमरुवा ताल' कहिल्यै मन परेन।
बच्चुकैलाश र अन्य कलाकारहरूलाई होहल्ला गरेर अपमान गर्ने बदमासहरूको समूह मूलत: नयाँ सडक, पाको, खिचापोखरी र रणमुक्तेश्वरतिरका थिए। यी समूहका सदस्यहरूकै बदमासीका कारण वरपरका छिमेकीहरूले बलियो सटर वा झ्यालमा ग्रिल लगाउनुपरेको थियो। नत्र यी आततायीहरूले झ्याल चढेर जवान छोरीबुहारीहरूलाई हातपात गर्न बेर लगाउँदैनथे र त्यसो गरेर आफ्नो बहादुरीको बखान गर्दै हिँड्थे। उनीहरूले गरेका कर्तुत कुनै पनि हिसाबले बहादुरी थिएनन्।
सन् १९७० सम्ममा बच्चुकैलाश फेरिइसक्नुभएको थियो। गाढा हरियो रङको सबभन्दा नयाँ मोडेलको टोयोटा सेमी कुप थियो उहाँको। शहरमा जम्मा दुईवटा थिए त्यस्ता कार। आफ्नो निजी सुरक्षाका लागि स्वचालित पेस्तोल राख्नुहुन्थ्यो।
यस्ता ग्याङको पहुँच माथिसम्म थियो। तीमध्ये एक जना कुख्यात नाइके सन् १९८० को दशकमा मन्त्री समेत नियुक्त भएको थियो। अर्कोले चाहिँ मेयर बन्ने मौका पायो।
पछि नयाँ ग्याङहरू कुपन्डोल एरियामा उदाए जसलाई हाँक्ने प्रशान्त र भोला भनेर चिनिने बदमासहरू थिए। कमलपोखरी इलाकामा रैथाने बक्सिङ क्लबका गुन्डाहरू थिए, जो सार्वजनिक कार्यक्रम बिथोल्थे । काठमाडौं शहर त्यतिखेर बेग्लै थियो– चारैतिरबाट घेरामा परेको।
...
सन् १९७० सम्ममा बच्चुकैलाश फेरिइसक्नुभएको थियो। गाढा हरियो रङको सबभन्दा नयाँ मोडेलको टोयोटा सेमी कुप थियो उहाँको। शहरमा जम्मा दुईवटा थिए त्यस्ता कार। आफ्नो निजी सुरक्षाका लागि स्वचालित पेस्तोल राख्नुहुन्थ्यो। सम्भवतः दरबारसँग नजिक रहेकाहरूको सल्लाहमा रइसहरूको निजी खोपीमा गाउँदागाउँदा उहाँ आखिरकार अधिराज्यमा उपलब्ध सफलताको सर्वोच्च शिखर पुगिसक्नुभएको थियो। सत्तासीन शाह परिवार र नसनाताका राणाहरूका साथै अन्य ठकुरी परिवारका उच्च वर्गका मानिसहरू आफ्नो बैठकमा बच्चु दाइलाई बोलाएर गाउन लगाउन तँछाडमछाड गर्थे।
अधिराजकुमार हिमालयवीरविक्रम शाहकी गजबदना पत्नी अधिराजकुमारी प्रिन्सेप शाह बच्चु दाइको हितचिन्तनमा 'सदा व्याकुल' रहन्थिन्। नेपालका सर्वाधिक शक्तिशाली व्यक्तिहरूको संरक्षण पाउनुभएको थियो उहाँले। उच्च घरानाका महिलाहरू उहाँलाई लाडप्यार गर्थे र उनीहरूको उदारता नगद र जिन्सी दुवै स्वरूपमा प्राप्त हुन्थ्यो। औसत कद र सुगठित शरीरका ह्यान्डसम बच्चु दाइ सामन्ती नेपालका उच्च वृत्तका महिलाहरूका चहेता हुनुहुन्थ्यो।
पूर्वी पहाडको खोटाङ वा त्यहीं वरपरबाट आएका विनीत 'बस्नेत' बाट उहाँ 'बस्न्यात' तहमा उक्लिनुभयो, जसलाई लगभग नेपालको जातक्रममा ठकुरी बराबर मानिन्छ। उहाँको रोचक जीवनचक्र र लामो सफरबारे उहाँ आफैंले लेख्नुपर्छ भन्ने मलाई लाग्छ। जोन ब्रेयनको क्लासिक उपन्यास रुम एट दी टपको चरित्रको काठमाड्यौंली मान्नुपर्छ बच्चु दाइलाई।
उहाँको जीवनशैली पछि गएर शाही पारामा ढले पनि बच्चु दाइले आफ्नो पुरानो स्वभाव कहिल्यै छाड्नुभएन। सदा मधुरभाषी र मित्रवत् उहाँ काठमाडौंका गायक–सङ्गीतकारहरूसँग निकट रहनुभयो। उदाहरणका लागि, 'लेकाली' का निम्ति उहाँ 'रोलमोडेल' र पथप्रदर्शक नै हुनुहुन्थ्यो। आफूलाई सार्वजनिक र मिडियाको चकाचौंधबाट टाढै राखे तापनि उहाँ सक्रिय रहिरहनुभयो।
नेपालका सर्वाधिक शक्तिशाली व्यक्तिहरूको संरक्षण पाउनुभएको थियो उहाँले। उच्च घरानाका महिलाहरू उहाँलाई लाडप्यार गर्थे र उनीहरूको उदारता नगद र जिन्सी दुवै स्वरूपमा प्राप्त हुन्थ्यो।
सन् १९८५ ताका होला, दरबारमार्गमा बच्चु दाइसँग मेरो फेरि जम्काभेट भयो। नयाँ एलपीको रेकर्ड गर्ने योजना भएको उहाँले मलाई सुनाउनुभयो। कलकत्ता र बम्बईका रेकर्डिङ स्टुडियोबारे हामीबीच कुरा भए। रेकर्डिङ कहाँ गर्ने भनेर उहाँले निर्णय लिइसक्नुभएको थिएन। एलपीमा बाह्रदेखि पन्ध्र वटा गीत राख्ने कुरा बताउँदै त्यसका गीतबारे उहाँले चर्चा गर्नुभयो, जुन अधिकांशतः घरानियाँहरूले लेखेका थिए। कति जना वाद्य वादकहरू चाहिएलान् भन्नेमा र समग्रमा कुल लागत कति पर्ला भन्नेमा पनि छलफल भयो। तर, त्यसपछि अर्को भेटमा खर्च धेरै लाग्ने भएकाले काम अघि बढाउन मुश्किल भएको सुनाउनुभयो र त्यो प्रोजेक्ट त्यहीं सेलायो।
त्यसको आधा दशक नपुग्दै सन् १९९० मा प्रजातन्त्रको पुनर्बहालीपछि काठमाडौंमा निजी एफएम स्टेशन र रेकर्डिङ स्टुडियोहरू धमाधम खुल्नथाले। रेडियो नेपाल र रत्न रेकर्डिङको एकाधिकार अन्तत: समाप्त भयो। बच्चु दाइले आफ्नो सुविधा बमोजिम कुनै पनि बखत आफ्नो दोस्रो एलपी काठमाडौंमा रेकर्ड गरेर बजारमा ल्याउन सक्नुहुन्थ्यो। तर, त्यसो कहिल्यै भएन।
यस अवधिमा उहाँका आवाज विरलै रेकर्ड भए- दुई वटा गीत बाहेक। एउटा गीत थियो 'हृदयभरिको मेरो शुभकामना तिमीलाई' जसलाई उहाँले एउटा बेकारको नेपाली सिनेमाका लागि गाउनुभएको थियो। अर्को चाहिँ जी. शाहको रचनामा 'हे युवा' भन्ने गीत। यही समयमा उहाँले निकै कम उमेरकी एक युवतीसँग बिहे गर्नुभयो, जसबाट उहाँका सन्तानहरू भए, जुन पहिली पत्नीबाट भएका थिएनन्।
यसबाट मुख्य घाटा चाहिँ श्रोताहरूलाई भयो। बच्चुकैलाश आफैं उहाँको पुस्ताको धनाढ्य गायक सङ्गीतकार बन्नुभयो। हो, वैभवपूर्ण जीवनका लागि उहाँले आफ्नो सार्वजनिक जीवनको बलि दिनुभयो। तर, उहाँले चाहे जस्तै जीवन रोजेकोमा उहाँप्रति मेरो असीम आदर छ।
उहाँ अक्सर भन्ने गर्नुहुन्थ्यो- दरबारिया सम्भ्रान्तहरू, मन्त्रिपरिषद्का सदस्यहरू, निजामती र राज्यका अन्य निकाय हाकिमहरूका साथै नागरिक समाजका सदस्यहरू सबै एउटा सामूहिक लघुदृष्टिको रोगबाट ग्रस्त छन्। काठमाडौं उपत्यकाका अग्ला पहाडहरूले उनीहरूको दृष्टिलाई छेकिदिएका छन्। फुल्चोकी डाँडाभन्दा पर्तिर उनीहरू देख्न सक्दैनन्। नेपालको साँघुरो सरहद परतिरका विशाल देशहरूमा पुग्ने बित्तिकै उनीहरूको कल्पनाले हावा खान्छ।
...
यदि नेपाली र नेपाललाई केले सताएको छ भन्ने कुरामा बच्चु दाइको मूल्याङ्कनलाई मैले छुटाएँ भने बच्चु दाइबारेको यो लेख अधुरै हुनेछ।
उहाँ अक्सर भन्ने गर्नुहुन्थ्यो- उहाँका देशवासीहरू विशेषगरी दरबारिया सम्भ्रान्तहरू, मन्त्रिपरिषद्का सदस्यहरू, निजामती र राज्यका अन्य निकाय हाकिमहरूका साथै नागरिक समाजका सदस्यहरू सबै एउटा सामूहिक लघुदृष्टिको रोगबाट ग्रस्त छन्। काठमाडौं उपत्यकाका अग्ला पहाडहरूले उनीहरूको दृष्टिलाई छेकिदिएका छन्। फुल्चोकी डाँडाभन्दा पर्तिर उनीहरू देख्न सक्दैनन्। नेपालको साँघुरो सरहद परतिरका विशाल देशहरूमा पुग्ने बित्तिकै उनीहरूको कल्पनाले हावा खान्छ।
बच्चु दाइका अनुसार, नेपालको कुनै विशेष चरित्र छैन। त्यसैकारण यहाँ हरेक प्रकारका तमासा भइरहन्छन्। उहाँ आफ्नो भनाइलाई एउटा किस्सा सुनाएर पुष्टि गर्नुहुन्थ्यो: 'म त्रिभुवन एअरपोर्टको डिपाचेर लाउन्जमा छु,' उहाँ भन्नुहुन्छ, 'दिल्ली जान लागेको छु। थुप्रै नेपालीहरू पनि त्यहाँ छन्, धेरैले शिरमा टोपी ढल्काएका छन्, के छ भन्दै हाहु मचाइरहेका। आ-आफ्नो हैकम प्रदर्शन गर्दै, एकअर्कासँग धक्कु लगाउँदै यसरी बहस गर्दै थिए, मानौं त्यसबाट नेपालका सारा समस्या समाधान हुनेछन्।
'बिस्तारै हामी एभ्रोतिर लाग्छौं। ती नेपालीहरू जहाजभित्र परिचारिकाहरूसँग नास्ता र रक्सी मगाउन थालिसकेका छन्। पुरुषहरू दिउँसै हाइनिकेन र स्कच घुट्क्याउन थालिसकेका छन्। महिलाहरू चाहिँ भद्दा तरिकाले भुइँमा काँटा र छुरी खसाउँदै छन्। बडो हल्लाबाज छन् उनीहरू।'
'आधा घण्टा नबित्दै हामी सीमापार गर्छौं र जहाज हिन्दुस्तानको गङ्गामैदानमाथि उड्न थाल्छ। नयाँ दिल्ली जति वरवर आउँदै छ, डरले उनीहरूका अनुहारको रङ उड्दै छ। सब चुप लागेका छन्। उनीहरू अब नेपालमा छैनन्, जहाँ उनीहरू आफ्नो रवाफ खुलेआम देखाउन सक्छन्।'
'नयाँ दिल्लीको आगमन कक्षमा पुग्दासम्म ती ठूला हाकिम र सामन्ती प्रभुहरू अधिकारहीन भए जस्ता देखिन्छन्। उनीहरूका राष्ट्रवादी टोपी बेपत्ता भइसकेका छन् र शिरमा असरल्ल पातला केस देखिन्छन्। जहाजमा खाएको नशा पनि उत्रिसकेको छ। तिनीहरू हारेका मान्छे जस्ता देखिन्छन्।'
'त्यसपछि छिटै नै विमानस्थलका विभिन्न जात र धर्मका हिन्दुस्तानी अधिकारीहरू नेपाली इन्डो-आर्यन हिन्दूहरूलाई झमेला दिन थाल्छन्। हाम्रा खोक्रा नेपालीहरू उनीहरूकै पुर्खा हिन्दुस्तानीहरूबाट अपमानित हुँदै छन्। त्यसैले गर्दा म प्रायः अलग्ग बस्छु र नेपालीहरूसँग पूरै बचेर हिँड्छु, चाहे त्यो काठमाडौंको एअरपोर्ट होस् या एभ्रोभित्र होस् वा दिल्ली एअरपोर्टमा होस्।'
सम्झनाबाट उद्धृत र मेरा आफ्ना शब्दहरूमा प्रस्तुत उहाँको यो किस्सा ठट्यौलीमा भनिए तापनि यसले सम्भवतः बच्चु दाइले समय बित्दै जाँदा किन ज्यादा से ज्यादा एकान्तवासमा रहन रुचाउनुभयो भन्ने कुरालाई प्रष्ट पार्दछ। तर, म यस किस्सामा नेपालीहरूको घिनलाग्दोपनमाथि कवि भूपि शेरचनको व्यङ्ग्य गुञ्जन सुन्दछु र नाटककार बालकृष्ण समको दृष्टिकोण समेत पाउँछु।
मैले 'हिलियन्स' र 'संगम' त्यागें र दार्जीलिङ छाडें। त्यसको एक दशकपछि मैले सधैंका लागि सङ्गीत पनि छाडें। मैले एउटा नेपाली उपन्यास लेखें। यसले सन् १९७७ मा साझा पुरस्कार पायो, तर मैले नेपालीमा अर्को उपन्यास लेखिनँ।
हिन्दुस्तानमा पनि रवीन्द्रनाथ टैगोर र निरद सी. चौधरीहरूले आफैंलाई पर्गेलेर आफ्नै बङ्गाली भद्रलोकबारे लेखेको पढ्न पाइन्छ।
...
म यो रचना त्यहीं फर्केर सिध्याउन चाहन्छु जहाँ मैले मेरो अर्को लेख 'काठमाडौं खाल्डोको सङ्गीत संसारको शुरूमा सोधेको थिएँ– 'किन केही मानिस आफ्ने कलालाई त्यागिदिन्छन्? ध्रुव केसी र माणिकरत्नले आफ्नो करिअरको लोकप्रिय र सिर्जनशील मोडमा छँदा गायनबाट सन्न्यास किन लिए?' ध्रुव केसीले हिन्दुस्तानमा व्यापार गर्नुपरेकाले? नारायणगोपाललाई कुनै वेला माणिकरत्नले बाटो देखाएका र सघाएका थिए। पछि, नारायण गोपालसँग माणिकरत्नको खटपट भयो। उनले गाउन छाड्नुको कारण त्यही थियो? के त्यस्तो कुन कारणले गर्दा नेपाली सङ्गीत आकाशमा रहेको शीर्षस्थानलाई बच्चुकैलाशले त्यागिदिनुभयो? सम्भवतः हामीलाई उनीहरू स्वयंले मात्र आफ्नो कहानी भन्न सक्छन्।
यी तीन सङ्गीत स्रष्टाहरूसँग मेरा पनि केही मिल्दाजुल्दा कुरा छन्। मैले 'हिलियन्स' र 'संगम' त्यागें र दार्जीलिङ छाडें। त्यसको एक दशकपछि मैले सधैंका लागि सङ्गीत पनि छाडें। मैले एउटा नेपाली उपन्यास लेखें। यसले सन् १९७७ मा साझा पुरस्कार पायो, तर मैले नेपालीमा अर्को उपन्यास लेखिनँ । वास्तवमा मैले नेपालीमा लेख्न छाडेको सन् १९८० को दशकदेखि नै।
मैले जे गरें, किन गरें? त्यसका कारणहरू छन्, तर यहाँ उल्लेख गर्नु आवश्यक छैन।
के त्यो व्यक्तिगत मोहभङ्ग थियो? के त्यो आशक्तिको जालो थियो, मृगतृष्णा थियो? जसलाई दक्षिण एशियाका हिन्दूहरूले रामछाया भन्दछन्? के त्यो बुद्धले इंगित गरेको भ्रान्ति थियो? के कुनै प्रेत अथवा दुष्टात्मालाई भगाउन हामीले मन्साउन वा झारफुक गर्नुपरेको थियो?
म यति मात्र भन्न सक्छु कि हामी सबैले सफलताको शिखरमा रहँदै ती सब त्यागिदियौं। हामीले यशलाई पछाडिबाट लात मार्यौं र गायब भयौं। हामी एलन सिलिटो (सन् १९२८–२०१०, बेलायती कवि)को कथाको म्याराथन धावक झैं भयौं जसले विजय हासिल गर्ने बिन्दुमा पुग्न आँट्दा दौड छाडिदिन्छ, रोकिन्छ र प्रतिष्ठालाई त्यागिदिन्छ।
मलाई कुनै पछुतो छैन। ध्रुव केसी, माणिकरत्न र बच्चुकैलाशलाई पनि त्यस्तै लागेको हुनुपर्छ। हामीले हाम्रा सर्वोत्तम कृति दुनियाँलाई दिएका छौं र अन्ततः अर्थ रहने त्यसैको हो।
*२१ मार्च २०१५ मा लेखिएको यस आलेखलाई १४ डिसेम्बर २०१६ मा कुपन्डोलमा र २५ अप्रिल २०१७ मा काठमाडौंको शान्तिनगरमा परिमार्जन गरिएको थियो।
अंग्रेजी मूलबाट अनुवाद : विप्लव प्रतीक
(पिटर जे. कार्थकलिखित यो लेख हामीले हिमाल किताबद्वारा प्रकाशित ‘नेपाली सङ्गीतस्रष्टा’ पुस्तकबाट लिएका हौं। पुस्तकमा लेखको शीर्षक 'बच्चुकैलाश : जसले सब त्यागिदिए' रहेको छ।)