पहाड चढ्यो बाघ, संरक्षण गर्ने कसरी?
लोपोन्मुख वन्यजन्तु बाघ परम्परागत वासस्थान बाहिरका क्षेत्रमा पनि प्रशस्तै पाइन थालेको पछिल्ला अध्ययनहरूले देखाएका छन्। यसले संरक्षणका कार्यक्रम तराईका निकुञ्जमा मात्रै सीमित गर्न नहुने सन्देश दिएको छ।
राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास बोर्ड र राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरे क्षेत्रमा जैविक विविधताबारे गरेको संयुक्त अध्ययनले रुपन्देही, कपिलवस्तु र पाल्पामा पनि पाटे बाघ रहेको देखाएको छ। नेपालमा सन् २००९, २०१४ र २०१८ मा बाघ गणना गरिएको थियो, जुन वेला पश्चिम नेपालका यी तीन जिल्लामा बाघ पाइएका थिएनन्। सन् २०२१ को शुरूआती महीनामा प्रकाशित अध्ययनले भने यी जिल्लामा कम्तीमा दुई वटा बाघ भेटिएको जनाएको छ। क्यामेरा ट्र्यापमा एउटा पोथी र एउटा भाले बाघ भेटिएका हुन्।
पोथी बाघ रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा एकभन्दा बढी ठाउँमा देखिएको र त्यसभन्दा करीब ४० किलोमिटर पश्चिममा कपिलवस्तुको उत्तरी क्षेत्रमा भाले बाघ देखिएको अध्ययनमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए।
“यसअघि बाघ नदेखिएको बुटवलभन्दा उत्तर र पश्चिमको जंगलमा पाटे बाघ स्वचालित क्यामेरामा कैद गर्न हामी सफल भएका छौं। तराईका राष्ट्रिय निकुञ्जहरूभन्दा बाहिर चुरे क्षेत्रमा पनि बाघ पाइएको छ,” लामिछानेले भने।
तराई भू–परिधि कार्यक्रम लागू गरिएका तराईका पाँच वटा संरक्षित क्षेत्रलाई नेपालमा बाघको परम्परागत वासस्थानका रूपमा लिइन्छ। जसमा पूर्वमा पर्सा राष्ट्रिय निकुञ्जदेखि चितवन, बाँके, बर्दिया र पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पर्छन्।
कपिलवस्तु, रुपन्देही र पाल्पा बाघका वासस्थानका रूपमा रहेका पूर्वको चितवन–पर्सा र पश्चिमको बाँके–बर्दिया निकुञ्जबाट झन्डै समान दूरीमा पर्छन्। बाघको वैज्ञानिक सर्वेक्षण हुन थालेको एक दशकयता कपिलवस्तु–रुपन्देही–पाल्पामा पहिलो पटक बाघ रहेको प्रमाण भेटिएको हो।
बाघलाई उसको शरीरमा रहेको धर्काहरूको विशेषताका आधारमा पहिचान गर्न सकिन्छ। अनुसन्धाताहरूले कपिलवस्तु–रुपन्देही–पाल्पामा पाइएका बाघका तस्वीरलाई चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटामा यसअघिको सर्वेक्षणमा भेटिएका बाघका तस्वीरसँग तुलनात्मक विश्लेषण गरेका थिए। तर, बुटवल क्षेत्रमा पाइएका बाघको तस्वीर पुरानासँग मेल खाएन। त्यसैले अहिले त्यहाँ भेटिएका बाघको वास्तविक वासस्थान कहाँ हो भन्नेबारे पहिचान हुनसकेको छैन।
रुपन्देही–पाल्पामा पोथी बाघ भेटिएको ठाउँभन्दा करीब २५ किलोमिटर पूर्वको तिलोत्तमा (रुपन्देही) मा त्यसको ९ महीनाअघि एक बाघले स्थानीयवासीलाई आक्रमण गरेको समाचार आएको थियो। संरक्षणकर्मीहरूले ती दुवै ठाउँमा भेटिएको बाघ एउटै हुनसक्ने अनुमान गरेका छन्। ती दुई क्षेत्रलाई जंगलले जोडेकाले पनि त्यस्तो अनुमान गर्ने ठाउँ छ।
संरक्षणकर्मीहरूलाई रुपन्देही र कपिलवस्तुमा क्यामेरा ट्र्यापमा देखिएका भाले र पोथी बाघको भेट भयो होला कि नहोला भन्ने कौतूहल पनि छ। बुटवल क्षेत्रमा देखिएका बाघको सम्भावित वासस्थानबारे लोरेस्टन विश्वविद्यालय (इरान) को जर्नल अफ एनिमल डाइभर्सिटीमा नरेश सुवेदी, बाबुराम लामिछानेसहितका सात संरक्षणकर्मीहरूको लेख प्रकाशित छ, जसमा उनीहरूले ‘कपिलवस्तु र रुपन्देहीमा भेटिएका भाले–पोथी बाघले एकअर्कालाई भेटे होलान् र त्यसपछि प्रजनन क्रियाका लागि सफल भए होलान् वा नहोलान् भन्नेबारे कुनै जानकारी पाउन नसकिएको’ उल्लेख गरेका छन्।
पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको रौतहटको जंगलमा पनि सन् २०२१ मा चार वटा बाघ देखिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी अफ लन्डनले गरेको संयुक्त अध्ययनले यसअघि बाघ नपाइएको रौतहटको जंगलमा चार वटा बाघ पाएको हो। यो अध्ययन प्रतिवेदन सार्वजनिक हुन बाँकी छ।
यी बाहेक कञ्चनपुरको ब्रह्मदेव–लालझाडी करिडोर र त्यससँग जोडिएको जंगलमा पनि बाघको आवतजावत देखिएको छ। त्यस्तै, कैलालीको वसन्त करिडोर बाघको अर्को वासस्थान बनेको छ। यो करिडोरले शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्छ। त्यस्तै, बाँके राष्ट्रिय निकुञ्जलाई भारतको सोहेल्वा वन्यजन्तु संरक्षण क्षेत्रसँग जोड्ने र दुई देशबीच वन्यजन्तुको आवतजावत सहज बनाउने बाँकेको काम्दी करिडोरमा पनि प्रशस्तै बाघ देखिएका छन्। त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको उत्तरी चितवनको जंगलमा पनि बाघ देखिन थालेका छन्।
पछिल्लो पटक सन् २०१८ मा गरिएको बाघ गणनामा तराईका पाँच निकुञ्जमा २३५ वटा बाघ पाइएका थिए। जसमध्ये सबैभन्दा बढी चितवनमा ९३ वटा, बर्दियामा ८७, बाँकेमा २१ वटा, पर्सामा १८ वटा र शुक्लाफाँटामा १६ वटा बाघ पाइएका हुन्। सन् २००९ मा १२१ वटा बाघ गणना भएकोमा त्यसपछिको ९ वर्षमा ११४ वटा बाघ बढेका हुन्।
सन् २०२२ सम्म बाघको संख्या २५० पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता र लक्ष्यसहित भइरहेका कामले संरक्षण क्षेत्रभित्र बाघको संख्या बढाएको छ। निकुञ्जमा बाघको घनत्व बढ्दा कतिपय बाघ संरक्षण क्षेत्रभन्दा बाहिर निस्केका छन्। पछिल्ला अध्ययनहरूले परम्परागत रूपमा बाघको वासस्थान मानिएका पूर्व र पश्चिम तराईका संरक्षण क्षेत्रलाई जोड्न सकिने सम्भावना देखाएका छन्। यस्तै सम्भावनाबारे चर्चा गर्ने जर्नल अफ एनिमल डाइभर्सिटीमा प्रकाशित लेखमा बाघ संरक्षणको अभियान निकुञ्ज र त्यसभन्दा बाहिरको जंगलमा समान महत्त्वका साथ सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य निकुञ्जमा घनत्व बढेसँगै बाघले त्यस बाहिर निस्किएर नयाँ वासस्थान खोजी गरिरहेको बताए। “बाघ आफ्नो परम्परागत क्षेत्र छाड्न नरुचाउने जनावर हो, बाध्यताले बाहिर आएको छ। यसले संरक्षणमा पाएको सफलता त जनाउँछ नै, त्यस बाहेक चुनौती पनि थपेको छ,” उनले भने, “मानिससँग द्वन्द्व बढेको छ। यो मानिस र बाघ दुवैका लागि चिन्ताको विषय हो।”
गत वर्ष इलाममा हालसम्मकै अत्यधिक उचाइमा पाटे बाघ पाइएको थियो। रेड पान्डा नेटवर्कले कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका रेड पान्डाको अनुगमन गर्न राखेका स्वचालित क्यामराले बाघको तस्वीर खिचेको थियो। इलामको चौडापाते जंगलमा तीन हजार १६५ मिटर उचाइमा पाइएको यो बाघ नै नेपालमा हालसम्म सर्वाधिक उचाइमा बाघ पाइएको प्रमाण भएको रेडपान्डा नेटवर्कका सोनाम टासी लामाले बताए।
यसअघि भारतमा तीन हजार ६३० र भुटानमा चार हजार ४०० मिटरमा बाघ पाइएको रेकर्ड छ। नेपालमा गत वर्ष इलामको जंगलमा बाघ भेटिनुअघि गत वर्ष नै पश्चिम डडेल्धुराको महाभारत क्षेत्रमा दुई हजार ५०० मिटरमा बाघ देखिएको थियो। उच्च भूभागमा बाघ पाइनुले उच्च पहाडी क्षेत्रको वन पनि बाघ प्रजातिका जनावरका लागि उपयुक्त वासस्थान हुनसक्ने ठानिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी आचार्य बताउँछन्।
डडेल्धुराको जंगल तराईको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण त्यहीँबाट बाघ माथि उक्लेको हुनसक्ने अनुमान गरिएको छ। तर, इलाममा पाइएको बाघ पूर्वी तराईको पर्सा–रौतहटको जंगलबाट पुग्ने सम्भावना छैन। जंगल खण्डित भएका कारण बाघले मानव बस्ती छिचोलेर इलाम पुग्न नसक्ने अनुमान गरिएको छ। संरक्षणकर्मीहरूले इलाममा बाघ भारतको संरक्षण क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरेका छन्।
इलामको उक्त जंगल भारतको सिंघलीला राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। “उक्त निकुञ्ज भारतमा बाघको वासस्थान रहेको महानन्द वन्यजन्तु आरक्षसँग जोडिन्छ। त्यसैले महानन्दबाट बाघ आएको हुनसक्ने हाम्रो अनुमान छ,” रेडपान्डा नेटवर्कका लामा भन्छन्।
त्यस्तै, सिक्किमको नेउरा भ्याली राष्ट्रिय निकुञ्ज र भुटानको संरक्षित क्षेत्रहरू समेत बाघ पाइएको इलामको चौडापाते जंगलसँग कुनै न कुनै रूपमा जोडिएका कारण त्यहाँबाट समेत आएको हुनसक्ने अनुमान छ। यसले बाघ जस्तो दुर्लभ वन्यजन्तुको अन्तरदेशीय आवागमन सहज बनाउनुपर्ने र संरक्षणका लागि पनि अन्तरदेशीय सहकार्य हुनुपर्ने आवश्यकता दर्शाउँछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य बाघ संरक्षणका लागि वासस्थान सुधार गर्ने, पानीका घोलहरू बढाउने र आहारा प्रजातिको घनत्व सुनिश्चित गर्ने जस्ता कामलाई निकुञ्ज बाहिर पनि प्राथमिकता दिइने बताउँछन्।
बाघ संरक्षणबारे प्राज्ञिक ज्ञान भएका राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख बाबुराम लामिछाने भने अहिले बाघ देखिएका ठाउँलाई वासस्थान विस्तार भएको रूपमा बुझ्न नहुने बताउँछन्। “नयाँ–नयाँ ठाउँमा बाघ देखिएको मात्र हो। बाघ स्थायी रूपमा त्यहाँ बस्न थालेको प्रमाणित भइसकेको छैन। त्यसका लागि हामीले वासस्थान सुरक्षित गरिदिनुपर्ने हुन्छ,” उनले भने। नेपालमा रहेका २३५ बाघमध्ये करीब १० प्रतिशत निकुञ्ज बाहिर रहेको हुनसक्ने उनको अनुमान छ। अर्थात् नेपालका संरक्षित क्षेत्रभन्दा बाहिर पनि २० देखि २५ वटासम्म बाघ छन्।
पछिल्लो समय अत्यधिक जनघनत्व बढिरहेको नेपालको तराई क्षेत्र मानिससँगै बाघको पनि रोजाइमा परिरहेको छ। त्यसैले त्यहाँ बाघ र मानिसबीच द्वन्द्व बढ्न थालेको छ। “हालसम्म नेपालमा बाघ दक्षिण–पश्चिम क्षेत्रमा पाइन्थ्यो। उत्तर–पूर्व इलाममा कसरी देखियो भन्ने चाखको विषय एउटा छ,” लामिछानेले भने, “अर्को विषय, वासस्थान सुरक्षित राखिदिएमा बाघलाई पहाडमा समेत संरक्षण गर्न सकिन्छ भन्ने संकेत बाघले नै दिइसकेको छ।”