तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारी, ६ वर्षमा निर्माण सक्ने लक्ष्य
दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका हुन्।
करीब रू.१६ अर्ब १९ करोड (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करीब रू.११ अर्ब ३३ करोड) ऋण लगानी गर्नेछ। जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत शेयर निष्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइनेछ।
तामाकोशी पाँचौं ४५६ मेगावाटको माथिल्लो तामाकोशीको क्यास्केड आयोजना हो। त्यसैले, तामाकोशी पाँचौंले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुनपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ।
माथिल्लो तामाकोशीको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ। आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत्गृह, करीब दुई किलोमिटर २२० केभी प्रसारण लाइन लगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ।
विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ। चीनको अगुवाइमा स्थापना भएको एशियन इन्फ्रास्ट्रक्चर लगानी बैंंक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ।
आयोजनाको अहिले निर्माण पूर्वका कामहरू भइरहेका छन्। आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ।