अस्पताल चलाउने व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री बनाउनु कति उचित?
कोरोनाभाइरस संक्रमण महामारीका वेला सक्षम स्वास्थ्य मन्त्री नियुक्त गर्नुपर्ने माग चौतर्फी भइरहँदा प्रधानमन्त्री देउवाले स्वार्थ बाझिने गरी जनमैत्री अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्।
व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। लिटिल एन्जल्स स्कूलका सञ्चालक श्रेष्ठका होटल, जलविद्युत्, कृषि फार्म आदि क्षेत्रमा लगानी छ। पछिल्लो समय उनले अस्पतालमा लगानी बढाएका छन्। उनीसहितको समूहले जनमैत्री अस्पताल सञ्चालन गरिरहेको छ। गत जेठमा अनलाइन पोर्टल इकागज सँग गरेको कुराकानीमा श्रेष्ठले यो वर्ष रू. ५० करोड लगानीमा कम्तीमा पाँच अस्पतालसहितको चेन निर्माण गर्न लागेको बताएका थिए।
उनै व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वार्थ बाझिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। कोरोनाभाइरस संक्रमण महामारीका वेला सक्षम स्वास्थ्य मन्त्री नियुक्त गर्नुपर्ने माग चौतर्फी भइरहँदा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्ति दिएका हुन्।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका श्रेष्ठ त्यसवेला पनि स्वार्थ बाझिने गरी संसद्को शिक्षा समितिमा बसेको र व्यवसायीको हितमा कानून निर्माण गरेको भनी आलोचित थिए।
श्रेष्ठले विभागीय मन्त्रालयका लागि नै लबिइङ गरे पनि उनलाई राज्यमन्त्रीमा सीमित बनाइएको स्रोत बताउँछ। प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवासँग उनको निकट सम्बन्ध भएको स्रोतको दाबी छ। तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेन। “प्रधानमन्त्री देउवालाई आर्थिक सहायताको आवश्यकता पर्दा श्रेष्ठ नै अगाडि सर्छन्,” स्रोत भन्छ।
विभिन्न व्यवसायमा श्रेष्ठको कम्तीमा रू.२२ अर्बको लगानी रहेको बताइन्छ। पछिल्लो समय नेपाली कांग्रेसमा श्रेष्ठ र व्यवसायी विनोद चौधरीको जोडीको प्रभाव बढिरहेको स्रोतले बताएको छ। व्यवसायीहरू श्रेष्ठ, चौधरीसहित निर्माण व्यवसायी जिपछिरिङ लामा आदि मन्त्री बन्ने आकांक्षी थिए। तर, श्रेष्ठ राज्यमन्त्रीमा नियुक्त भएपछि अब अरू व्यवसायी मन्त्री बन्ने सम्भावना सकिएको स्रोतको दाबी छ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका श्रेष्ठ त्यसवेला पनि स्वार्थ बाझिने गरी संसद्को शिक्षा समितिमा बसेको र व्यवसायीको हितमा कानून निर्माण गरेको भनी आलोचित थिए।
उपभोक्ता हित अधिकारकर्मी तथा अधिवक्ता ज्योति बानियाँ महामारीका बीचमा स्वास्थ्य क्षेत्रलाई नेतृत्व दिनुपर्ने सक्षम मन्त्री छान्नुको सट्टा सरकारले एक व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नु खेदजनक भएको बताए। उनले स्वास्थ्य क्षेत्रमै लगानी गरेका व्यवसायीलाई मन्त्रालय चलाउन दिनुले स्वार्थ बाझिने बताए। उनले भने, “जनताको स्वास्थ्यको संरक्षण गर्नुपर्ने दायित्व भएको मन्त्रालयको जिम्मेवारी स्वार्थ समूहको नेतृत्व गर्ने व्यवसायीलाई सुम्पिनु नितान्त गलत हो।”
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले पनि व्यवसायी मोतीलाल दुगडलाई स्वार्थ बाझिने गरी उद्योग तथा वाणिज्य राज्यमन्त्री बनाएको थियो।