नेप्सेमा रेकर्ड, परिसूचक ३०५८ बिन्दुमा
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा रेकर्ड कायम भएको छ।
आज परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ बिन्दुमा पुगेको हो। यसअघि ३१ जेठमा परिसूचकले ३०२५ बिन्दु छोएको थियो।
आइतबार २२३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ। ६६ कम्पनीको मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ। ९ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्यो।
आइतबार नेपाल ब्यांकको सबैभन्दा धेरै ५० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज ब्यांकिङ उपसमूह ३.४३ प्रतिशतले बढेको छ। त्यसैगरी जलविद्युत् २.३९, माइक्रोफाइनान्स १.५७ र उत्पादन उपसमूहको सूचक १.०४ प्रतिशतले बढ्यो।