नेपालमा साफ च्याम्पियनशिप गर्न प्रस्ताव
नेपालमा साफ च्याम्पियनशिप फूटबल प्रतियोगिता आयोजना गर्न दक्षिण एसियाली फूटबल महासंघ (साफ)ले प्रस्ताव गरेको छ।
दक्षिण एसियाली फूटबल महासंघ (साफ)ले आगामी असोज-कात्तिक (अक्टोबर)मा साफ च्याम्पियनशिप आयोजना गर्न अखिल नेपाल फूटबल संघ (एन्फा)लाई प्रस्ताव गरेको हो। साफका महासचिव अन्वरुल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रस्ताव पठाएका हुन्।
साफले प्रस्ताव पठाएको एन्फाले जनाएकाे छ। नेपाल साफ च्याम्पियनशिप आयोजना गर्न तयार रहेको एन्फा महासचिव तुलाधरले जानकारी दिए। “साफ च्याम्पियनशिप आयोजना गर्नका लागि विस्तृत प्रस्ताव पठाउने तयारीमा छौं,” महासचिव तुलाधरले भने।
साफ च्याम्पियनशिप कहाँ आयोजना गर्ने भन्ने निर्णय साफ अध्यक्ष तथा साफ कार्यकारी समितिले गर्नेछ। एन्फाले पठाउने प्रस्तावलाई अध्ययन गरेर निर्णय हुने महासचिव तुलाधरले बताए।
साफ च्याम्पियनशिप बाङ्लादेशमा गर्ने तय भएको थियो। तर, कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि ८ साउनमा बसेको सदस्य राष्ट्रहरूको भर्चुअल बैठकले बाङ्लादेशमा नगर्ने निर्णय गरेको हाे। त्यसपछि नेपाललाई प्रस्ताव आएकाे छ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनशिपको आयोजना गरिसकेको छ। सन् १९९७ र २०१३ मा नेपालमा प्रतियोगिता भएको थियो। सन् २०१३ मा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलमा बाङ्लादेशसँग पराजित भएको थियो।