ठाकुरको निवेदनको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज सुनुवाइ तोकिएको छ।
सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूचीमा ठाकुरको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको हो। यो निवेदनमाथिको सुनुवाइ इजलास नं. ९ को अन्तिम नम्बरमा राखिएको छ।
जसपा आधिकारिकता विवाद सुल्झाउन निर्वाचन आयोगको इजलासमा सुनुवाइ जारी छ। आयोगको इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई नागरिकता सहित ११ साउनमा बोलाएको छ। आयोगले सनाखतका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएको हो।
अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले आफ्नो पक्षमा बहुमत सदस्य रहेको भन्दै आधिकारिकताका लागि आयोगमा निवेदन दिएका थिए। त्यसको टुंगो लगाउन आयोगले सदस्यलाई नै बोलाएको हो। त्यसपछि आयोगले जसपाको आधिकारिकता टुंग्याउनेछ।
आयोगले केन्द्रीय सदस्यलाई बोलाएपछि अध्यक्ष ठाकुर ८ साउनमा सर्वोच्च पुगेका हुन्। उनले आयोगको आधिकारिकता दिने प्रक्रिया तत्काल रोक्न आदेशमा माग गरेका छन्।
निर्वाचन आयोगलाई विपक्षी बनाएर ठाकुरले दिएको निवेदनमा भनेका छन्, “उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८–३–४ को दाबी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ (१) को प्रतिकूल रहेकाले सो गैरकानूनी दाबीको आधारमा कुनै निर्णय, कामकारबाही नगर्नू नगराउनू भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाऊँ।”
अध्यक्ष ठाकुरको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको हो।