आजसम्म कतिले लगाए कोरोना खोप?
कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको पाँच महीना भएको छ। अहिलेसम्म पूर्ण रूपमा खोप लगाउनेको संख्या १३ लाख मात्रै पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शनिबारसम्म ३३ लाख ७७ हजार २२८ जनाले पहिलो डोज र १३ लाख ६६ हजार १४ जनाले दोस्रो डोज अर्थात पूर्ण खोप लगाएका छन्।
अहिले तीन वटा खोप लगाइँदै छ। कोभिशिल्ड र भेरोसेल दुई डोज लगाउनुपर्छ भने जोन्सन एन्ड जोन्सन एक डोजले पुग्छ। कोभिशिल्ड र भेरोसेलका दुई डोज तथा जोन्सन एन्ड जोन्सनको खोप लगाएका १३ लाख नाघेका हुन्।
अहिलेसम्म ३३ लाख ७७ हजार २२८ जनाले कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लगाएका छन्। उनीहरूलाई भेरोसेलको दोस्रो डोज केही समयपछि लगाइनेछ भने कोभिशिल्डको दोस्रो डोज नआएकाले उस्तै खोप अस्ट्राजेनेका लगाइने भएको छ।
अहिलेसम्म १८ लाख २८ हजार ४८४ जनाले कोभिशिल्डको पहिलो डोज र चार लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन्। त्यस्तै, १५ लाख ४८ हजार ७४४ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ९४ हजार ५६० जनाले दोस्रो डोज लगाएका छन्।
यसैगरी, जोन्सन एन्ड जोन्सनको खोप दुई लाख ११ हजार १७८ जनाले लगाएका छन्। जसमध्ये बागमती प्रदेशमा एक लाख ७२ हजार ९७७, गण्डकी प्रदेशमा ३६ हजार ३४२ र प्रदेश २ मा एक हजार ८५९ जनालाई लगाइएको छ।
प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छैन। अमेरिकाले कोभ्याक्स सुविधा मार्फत १५ लाख ३४ हजार खोप दिएको थियो।
त्यस्तै, चीनले भेरोसेल र भारतले कोभिशिल्ड खोप दिएको थियो। भारतले कोभिशिल्ड खोप बिक्रीमा रोक लगाएपछि चीनबाट भेरोसेल खोप खरीद गरेर ल्याइएको छ। अझै ल्याउने क्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म कोभिशिल्ड खोप लगाएकामध्ये प्रदेश १ मा पहिलो डोज तीन लाख सात हजार १८४ र दोस्रो डोज ५२ हजार ८५५, प्रदेश २ मा पहिलो डोज तीन लाख २० हजार ५३२ र दोस्रो डोज ४६ हजार ३५८ तथा बागमती प्रदेशमा पहिलो डोज चार लाख २१ हजार ४८२ र दोस्रो डोज एक लाख ६० हजार ४९० जनाले लगाएका छन्।
त्यस्तै, कोभिशिल्ड नै गण्डकी प्रदेशमा पहिलो डोज एक लाख ८७ हजार ९७४ र दोस्रो डोज ४९ हजार ६११, लुम्बिनीमा पहिलो डोज दुई लाख ७८ हजार ४७६ र दोस्रो डोज ८३ हजार ९२७, कर्णालीमा पहिलो डोज एक लाख सात हजार ३२८ र दोस्रो डोज २९ हजार १५१ तथा सुदूरपश्चिममा पहिलो डोज दुई लाख पाँच हजार ५०६ र दोस्रो डोज ३७ हजार ९०६ जनामा लगाइएको छ।
भेरोसेल पनि सबैभन्दा बढी बागमती प्रदेशमै लगाइएको छ। बागमतीमा पहिलो डोज आठ लाख १० हजार ४८३ र दोस्रो डोज चार लाख ४२ हजार ५९३ जनालाई लगाइएको छ।
त्यस्तै, प्रदेश १ मा ७५ हजार ४४० जनालाई पहिलो डोज र ५८ हजार ६९५ जनालाई दोस्रो डोज, प्रदेश २ मा ७४ हजार १५७ जनालाई पहिलो डोज र ४४ हजार २१७ जनालाई दोस्रो डोज लगाइएको छ।
गण्डकीमा पहिलो डोज एक लाख ९० हजार ७४९ र दोस्रो डोज २८ हजार २७९, लुम्बिनीमा पहिलो डोज तीन लाख २७ हजार १०२ र दोस्रो डोज ६८ हजार ८९८ जनाले लगाएका छन्। कर्णालीमा पहिलो डोज २७ हजार ९४७ र दोस्रो डोज १८ हजार ५७५ तथा सुदूरपश्चिममा पहिलो डोज ४२ हजार ८६६ र दोस्रो डोज ३३ हजार ३०३ जनालाई लगाइएको छ।