दुई महीनापछि चले लामो दूरीका गाडी, कहाँको भाडा कति?
कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बन्द रहेका लामो दूरीका गाडी दुई महीनापछि सञ्चालनमा आएका छन्।
आजबाट काठमाडौं उपत्यकादेखि देशका अन्य भागमा लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन चल्न थालेका हुन्। शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको जनाएको थियो।
कोरोनाको दोस्रो लहर चलेपछि १६ वैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो। त्यससँगै सार्वजनिक यातायातका साधन बन्द भएका थिए।
काठमाडौं उपत्यकामा भने तीन साताअघि यातायातका साधन चल्न दिइएको थियो। तर, अन्तर जिल्ला र अन्तर प्रदेशका सार्वजनिक यातायातका साधन भने खोलिएको थिए।
विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षा सञ्चालन हुन थालेपछि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिइएको हो। देशका विभिन्न भागबाट परीक्षार्थी काठमाडौं आउने भएकाले सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यससँगै आजबाट लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन्।
तर, लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको भाडा भने निषेधाज्ञा अघिको भन्दा केही महँगो हुनेछ। यातायात व्यवसायीको माग अनुसार, यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका सवारी साधनको भाडा बढाएको छ।
काठमाडौंबाट देशका विभिन्न भागमा चल्ने सार्वजनिक सवारी साधनसँगै ढुवानीका साधनको पनि भाडा बढाइएको हो। विभागले २९ असारदेखि नै भाडा बढाएको भए पनि आजबाट नयाँ भाडादर कार्यान्वयनमा आउनेछ।
यस्तो छ देशभरको नयाँ भाडादर :