ऋण वा सापट लिएर पनि सबैलाई खोप लगाउँछौं : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भए पनि सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने बताएका छन्।
प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने बताए। प्रधानमन्त्री देउवाले भने, “ऋण लगाएर वा सापट लिएर भए पनि जहाँ जहाँबाट पाइन्छ, जति महँगो भए पनि किनेर नेपाली जनतालाई खोप पुर्याउने प्रतिबद्धता गरेका छौं।”
उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारे।
उनले राष्ट्रपतिले बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि प्रधानमन्त्री नियुक्त नगरेको स्मरण गरे। देउवाले भने, “राष्ट्रपतिको आह्वान अनुसार, हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोही अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यस वेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो, तर राष्ट्रपतिबाट त्यो भएन।”
संविधान सभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्वीप नलाग्ने अवस्था आएको जिकिर गरेका थिए। उनले ‘जनादेश’ बाट नभई ‘परमादेश’ बाट प्रधानमन्त्री भएको भन्दै देउवालाई प्रश्न गरेका थिए।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, “यो संविधानमा ७६ (५) किन लेख्नुभयो भनेर सोध्नेवाला थिएँ, हिँडिसक्नुभयो।” पूर्वसभामुख समेत रहेका नेम्वाङ आफूले सोधेको जिज्ञासाको जवाफ नसुनेर गएकोमा पनि देउवाले प्रश्न गरेका थिए।
प्रधानमन्त्री देउवाले अब डेढ वर्ष जति मात्रै प्रतिनिधि सभाको अवधि रहेको उल्लेख गर्दै मिलेर काम गर्नुपर्ने बताए। त्यसका लागि सहयोग गर्न सबै दललाई आग्रह गरे।