कसरी हुन्छ महबाट वनस्पति अध्ययन?
महमा कुन कुन वनस्पतिका परागकण छन्, के कस्ता रसायन छन् र त्यो कुन भूगोलको हो भन्ने विषयमा गरिने अध्ययनले ठाउँविशेषमा कुन कुन वनस्पति प्रजाति छन् भन्ने पनि थाहा हुन्छ।
मानिस र प्रकृतिका लागि उपयोगी जीव हो, मौरी। यसले मह र मैन दिन्छ भने वनस्पतिको परागसेचनमा पनि भूमिका खेल्छ। संसारभर मौरीका आठ प्रजाति छन्, यस अन्तर्गत करीब तीन दर्जनभन्दा बढी उप–प्रजाति अस्तित्वमा छन्। मौरीले फूलबाट मह र परागकण संकलन गर्छ। महमा फूलको गुलियो रस, परागकण, उन्यू, एल्गी र फंगल स्पोर आदि हुन्छन्।
ग्रीक भाषामा मौरीलाई मेलिसा भनिन्छ। वैज्ञानिक वर्गीकरण अनुसार, मौरी एपिस जाति अन्तर्गतको कीरा हो। घर मौरीको एक प्रजातिको वैज्ञानिक नाम एपिस मेल्लीफेरा राखिएको छ। ‘मेल्ली’ ले मह र ‘फेरिइ’ ले बोक्ने भन्ने अर्थ दिँदो रहेछ। नेपालमा घर मौरीका दुई प्रजाति एपिस फ्लोरिआ र एपिस सेराना छन्। एपिस मेल्लीफेरा चाहिँ हामीकहाँ आयातीत प्रजाति हो।
रूखका हाँगामा बाहिर नै घार बनाउने मौरी एपिस डोर्साटा हो। जूकिज जर्नलको २२ जुलाई, २०२० को संस्करणमा छापिएको लेख अनुसार, नेपालमा पाइने भीर मौरी एपिस ल्याबोरिओसा समुद्री सतहबाट १ हजारदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ।
ग्रीक भाषामा परागकणलाई ‘पालुनो’ भनिन्छ। यसैबाट परागकण अध्ययन गरिने शाखाको नाम पालिनोलोजी बनेको हो। स्पोर (बीजाणु) को अध्ययन पनि पालिनोलोजी अन्तर्गत नै पर्छ। जमीनमा हुने वनस्पतिका परागकण तथा उन्यूका स्पोर यति कडा हुन्छन्, ती हत्तपत्त सड्दैनन्। अनुकूल वातावरण भए जीवाश्म नै बन्छन्।
वनस्पतिको फूलमा हुने परागकणका कारण मह पौष्टिक मानिन्छ। परागकणमा भएका रसायन मानव स्वास्थ्यका निम्ति फाइदाजनक हुन्छ। वनस्पति प्रजातिको विविधता भूगोल अनुसार फरक हुन्छ। महमा कुन कुन वनस्पतिका परागकण छन्, महमा के कस्ता रसायन छन् र त्यो कुन भूगोलको हो भन्ने विषयमा गरिने अध्ययनलाई मेलिसोपालिनोलोजी भनिन्छ। यस्तो अध्ययनले ठाउँविशेषमा कुन कुन वनस्पति प्रजाति छन् भन्ने पनि पत्तो लाग्छ।
सबै वनस्पतिका परागकणबारे अध्ययन भएको छैन। अध्ययन भएका प्रजातिका पनि परागकणको राम्रो र विस्तृतमा देखिने तस्वीर कमै छन्। अहिलेसम्म नेपालमै महमा रहेको परागकणको अध्ययन भएको जानकारी छैन। हामीकहाँ आधुनिक उपकरणको अभाव हुँदा मह तथा परागकणका नमूना विदेश लगेर अध्ययन गरिँदै आएका छन्।
परागकणको नालीबेली
महको मुख्य स्रोत फूल हो। फूलको भाले प्रजनन अंग स्टामेनको तल्लो भागलाई फिलामेन्ट र टुप्पोतिरको भागलाई एन्थर भनिन्छ। फिलामेन्ट सुइरो आकारमा ठडिएको हुन्छ भने एन्थर विभिन्न आकारका हुन्छन्। एन्थरभित्रका कोषहरू अर्धसूत्री विभाजन भई एक कोषबाट चार–चार वटा बन्छन्। तिनै कोष परागकण हुन्।
एन्थर परिपक्व भएपछि फुटेर परागकण निस्किन्छ, र हावा, पानी तथा कीरा, चरा, साना स्तनधारीका माध्यमबाट पोथी प्रजनन अंगको स्टिग्मामा पुग्छ। स्टिग्मामा रहेका रसायनका कारण परागकण लामो ट्युब आकारमा बढ्छ।
परागकणको आकार र बनावट वनस्पतिको परिवार र जातैपिच्छे फरक हुन्छ। एकै जाति अन्तर्गतका प्रजातिमा पनि फरक हुन्छ। यस कारण परागकणलाई वनस्पति पहिचानको आधार मानिन्छ। परागकणको आकार सामान्य माइक्रोस्कोपबाट पहिचान गर्न सकिन्छ। तर, बृहत् अध्ययनका लागि स्क्यानिङ इलेक्ट्रोनिक माइक्रोस्कोप प्रयोग गर्नु उपयुक्त हुन्छ।
महमा परागकण
भारतस्थित लखनउ विश्वविद्यालय, अलाहाबाद विश्वविद्यालय र वीरबल साहनी इन्स्टिच्यूट अफ पालिओबोटानी, लखनउका तीन अनुसन्धानकर्ताले कञ्चनपुर जिल्लाको महमा रहेको परागकणबारे अध्ययन गरेका छन्। जिओफाइटोलोजी जर्नलको सन् २०१४ मेको संस्करणमा प्रकाशित त्यस सम्बन्धी अनुसन्धान लेखमा २९ प्रजातिका परागकण पाइएको उल्लेख छ। सामान्य माइक्रोस्कोपबाट परागकणको तस्वीर लिइएको छ, जसमा कुुसुम र सालका परागकण क्रमशः ५० र २० प्रतिशत पाइएका थिए।
त्रिभुवन विश्वविद्यालयको जर्नल अफ न्याचुरल हिस्टोरी म्यूजियमको भोलम २६ (सन् २०१२) मा ललितपुरस्थित गोदावरीको मह सम्बन्धी खुमनारायण पौडेल र इशान गौतमको लेख प्रकाशित छ। लेखमा स्क्यानिङ इलेक्ट्रोनिक माइक्रोस्कोपको प्रयोग गरी घर मौरीको महमा रहेका २८ वनस्पति परिवारका परागकणका तस्वीर उतारिएका छन्। जम्मा ११ वटा प्लेटमा ४४ वनस्पतिका परागकणका तस्वीर छन्। हरेक वनस्पतिको एउटा सग्लो परागकण र त्यसको विस्तृत वर्णनसहित जम्मा ८८ वटा तस्वीर छन्। तस्वीर चित्ताकर्षक भए पनि परागकणको पहिचान प्रजाति तहसम्म हुन सकेको छैन।
पौडेल र गौतमलिखित लेख विशेषतः वनस्पति संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीका लागि परागकणको तस्वीर अध्ययन गर्न उपयोगी रहेको पंक्तिकारको बुझाइ छ।
महमा परागकण सम्बन्धी पौडेल र गौतमको अर्को एक लेख नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी मा सन् २०११ मा प्रकाशित भएको छ। लेख अनुसार, जाजरकोटको महमा १३ वनस्पति परिवारका १९ जातिका परागकण भेटिएका थिए। यसमा पनि परागकण पहिचान प्रजाति तहसम्म पुग्न सकेको छैन।
यस्तै, लेखकद्वयको अर्को लेख त्रिभुवन विश्वविद्यालयको प्राध्यापक संघले निकाल्ने जर्नलमा सन् २०११ मै प्रकाशन भएको थियो, जसमा बझाङ जिल्लाको महमा रहेको परागकण सम्बन्धी लेखिएको छ। जसमा सात वनस्पति परिवारका ६ जातिका आठ किसिमका परागकणको अध्ययन गरिएको छ। त्यसमध्ये तीन प्रजातिको मात्र पहिचान भएको छ।
सन् १९९९ मा सुरेन्द्रराज जोशीले फिजिको–केमिकल एन्ड मेलिसोपेलिनोलोजिकल क्यारेक्टरिस्टिक्स अफ नेप्लिज हनी शीर्षकमा अष्ट्रियाको भियनाबाट विद्यावारिधि गरेका छन्। यसका लागि उनले नेपालका विभिन्न ठाउँको मह अध्ययन गरेका थिए। अध्ययनमा महका ३८ किसिमका परागकणका तस्वीर समावेश छन्।
परागकण अध्ययन
परागकणका बारेमा नेपाली अनुसन्धाताले एकल रूपमा तथा विभिन्न देशका अनुसन्धातासँग मिलेर अध्ययन गरेको देखिन्छ। त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक रामप्रसाद चौधरीले विशेषतः काठमाडौंमा हावाबाट परागकण संकलन गरेर पेलिनोलोजिकल अध्ययन गरेका छन्। उनले आर.एल. सिं र जि. ईआई–गजलीसँग मिलेर संयुक्त रूपमा लेखेका तीन वटा लेख सन् १९९१ र १९९३ (दुई वटा) मा प्रकाशन भएका थिए। यी तीन लेख बाहेक चौधरी र गजलीले अफ्रिकी मूलको एक झारको परागकण स्वीडेनमा अध्ययन गरेको जानकारी सन् १९९४ मा प्रकाशन भएको थियो।
कृष्णकुमार श्रेष्ठ, खुमनारायण पौडेल र डि.के. फर्गुसनले लेखेको पोलेन मर्फोलोजी अफ हिमालयन भाइला शीर्षक लेख नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी मा सन् २००५ मा प्रकाशन भएको थियो। लेखमा भाइला जाति अन्तर्गतका १५ प्रजातिमा चार प्रकारका परागकण पाइएको जानकारी छ। तस्वीर स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपबाट खिचिएको जनाइए पनि छपाइका कारण प्रष्ट छैन।
संगीता राजभण्डारी, मार्क ह्युज र कृष्णकुमार श्रेष्ठ लिखित पोलेन मोर्फोलोजी अफ बिगोनिया इन नेपाल शीर्षक लेख सन् २०१२ मा प्रकाशन भएको थियो। लेखमा बिगोनिया (मकरकाँचे) जाति अन्तर्गतका २८ प्रजातिका परागकण अध्ययन गरिएको उल्लेख छ। तिनका तस्वीर रोयल बोटानिकल गार्डेन एडिनबरा, स्कटल्यान्डमा स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपले खिचेको जनाइएको छ।
पुष्पकर्ण मल्लिकले परागकण सम्बन्धी लेखेका लेख सन् २०१७ र २०१९ मा प्रकाशन भएका छन्। कम्पाउन्ड माइस्क्रोपबाट खिचिएको तस्वीर स्पष्ट छैन।
सन् २०२० मा फेनोलोजी एन्ड क्लाइमेटिक रेजिम इन्फर्ड फ्रम एयरबर्न पोलेन अन द नोर्थर्न स्लोप अफ द चोमोलोङ्मा (एभरेष्ट) रिजन शीर्षक लेख जर्नल अफ जिओफिजिकल रिसर्चः एट्मस्फेयरमा प्रकाशन भएको छ। चीन, नेपाल र जर्मनीका गरी ६ जना अनुसन्धाता संलग्न अनुसन्धानमा नेपालतर्फको अध्ययन खुमनारायण पौडेलले गरेका छन्। अनुसन्धान उच्च भूभागमा पश्चिमी वायु र बंगालको खाडीको मनसुनी अन्तरक्रियाबाट त्यहाँको वातावरणमा वनस्पतिको जीवनचक्र र विस्तार के कसरी हुन्छ भन्नेमा केन्द्रित छ।
बजारका मह : मिसावट भरमार !
केही वर्षअघि बेलायतका एक अनुसन्धाताले नेपाली बजारमा पाइने महमा परागकणका नमूना अध्ययन गरेका थिए। तिनले महमा परागकण अत्यन्तै कम पाएछन्। उनका अनुसार, बजारका महमा चिनीको मात्रा अत्यधिक हुन्छ। ठूला ब्रान्डमा प्याकिङ भएर आउने मह पनि उस्तै हुन्।
महको शुद्धता थाहा पाउन न्युक्लियर म्याग्नेटिक रेसोनेन्स (एनएमआर) परीक्षण गरिन्छ। भारतमा मिसावट गरेर मह उत्पादन गरिनेबारे सन् २०२० डिसेम्बरमा विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए। जसमा भारतका मह उत्पादक कम्पनीमध्ये करीब ७७ प्रतिशतले उत्पादन गरेका महमा मिसावट भएको सार्वजनिक भएको थियो। चीनबाट आयात हुने सुगर सिरप मिसाएर भारतमा मह उत्पादन हुने गरेको छ।
जर्मनीमा गरिएको परीक्षणमा १३ कम्पनीका महमध्ये पतञ्जलि, डाबर, वैद्यनाथ, झन्डु, हितकारी, एपिस हिमालय कम्पनी सहित १० कम्पनीका उत्पादनमा मिसावट पाइएको थियो। सफोला, नेचर्स नेक्टर्स र मार्कफेडसोहनाले उत्पादन गरेको महमा भने मिसावट भेटिएन। समाचारमा रमाइलो तथ्य के थियो भने, भारतमै गरिएको परीक्षणमा चाहिँ ठूला कम्पनीहरूका मह मिसावट रहित देखिएको थियो। साना एक–दुई कम्पनीका महमा मात्र मिसावट भएको नतीजा आएको थियो।
यो तथ्यले हामीले बजारमा किनेर खाने गरेको मह मिसावटयुक्त हुने रहेछ भन्ने प्रष्ट हुन्छ। पछिल्लो समय कोभिड–१९ को कहरका कारण शरीरलाई तन्दुरुस्त राख्न मह सेवन गर्ने चलन बढेको छ। तर, नेपालमा महको शुद्धताबारे खासै चर्चा भएको छैन। परीक्षण गर्ने सामर्थ्य पनि छैन। यस्तै, अहिलेसम्म नेपालमै आधुनिक उपकरण प्रयोग गरेर परागकण अध्ययन हुन सकेको छैन। विश्वविद्यालयहरूले अध्ययन–अनुसन्धानका लागि आवश्यक उपकरण जुटाउने कदम चालून्।