कोरोना खोप लगाएको प्रमाणित गर्न तोकिए चार अस्पताल
विदेश जाँदा आवश्यक पर्ने कोरोनाभाइरस विरुद्धको खोप लगाएको प्रमाणित गर्न सरकारले चार वटा अस्पताल तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी चार अस्पतालबाट कोरोना खोप लगाएको प्रमाणित गर्न सकिने जनाएको छ। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बानेश्वरस्थित निजामती (सिभिल) अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरको पाटनस्थित पाटन अस्पताल तोकिएका छन्।
यसअघि शुक्रराज अस्पतालबाट प्रमाणीकरण गरिँदै आएको थियो। चाप बढेपछि चार अस्पताल तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारी, अध्ययन, उपचार लगायत विभिन्न कार्यका लागि विदेश जाने व्यक्तिले खोप लगाएको प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेको छ।