अब जनता बलिया भएका छन् : नेम्वाङ
नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङले अब जनता बलिया भएकाले देश पछाडि फर्किन नसक्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै पूर्व सभामुख समेत रहेका नेम्वाङले फेरि संसद् चलेको विषयलाई लिएर जनता बलिया भएको बताएका हुन्। “हामी फेरि संसद्मा उपस्थित भएका छौं,” नेता नेम्वाङले भने, “प्रतिनिधि सभा विघटनलाई लिएर फरक फरक धारणा हुनसक्छन्, त्यो छुट्टै कुरा हो। यही प्रक्रियाका सन्दर्भमा हामीले नयाँ प्रधानमन्त्री पाएका छौं।”
आज प्रतिनिधि सभामा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिने कार्यक्रम रहेको छ। एमालेका तर्फबाट प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेम्वाङले भने, “हामीले प्रमाणित गरेका छौं, स्थापित गरेका छौं। अब यो देशमा जनता बलिया भएका छन्। जनताको प्रतिनिधिमूलक संस्था संविधान सभाले बनाएको संविधान छ। त्यस अन्तर्गतका प्रतिनिधि सभा, राष्ट्रिय सभा, न्यायपालिका लगायतका संविधानले स्थापना गरेका संस्था क्रियाशील छन्।”
उनले अब मुलुक पछाडि नफर्किने बताए। कतिपय कुरामा सहमति तथा असहमति भए पनि अब पछाडि फर्किन नसकिने बताए। उनले भने, “देश कुनै पनि अवस्थामा पछाडि फर्केर जान सक्दैन। अब जनता बलिया भएका छन्।”
विगतका कमीकमजोरी र घटनाक्रमबाट सिक्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।