ओलम्पिक २०२० : दोहोरियो गलत परम्परा, कसले दिन्छ गोपीचन्द्रलाई न्याय ?
ओलम्पिकमा सहभागी हुन नपाएका खेलाडी गोपीचन्द्रमाथि परेको मानसिक र आर्थिक क्षतिदेखि खेलकुद क्षेत्रमा फैलिएको नकारात्मक सन्देश मेटाउनै पर्छ, तर जिम्मेवार निकाय केही बोलेका छैनन्।
अन्तिम समयसम्म चलेका केही ‘ड्रामा’ हरूका माझ पाँच खेलाडीसहितको २६ सदस्यीय नेपाली टोली ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिक-२०२० मा सहभागी भएका छन्।
विश्व खेलकुदको सबैभन्दा ठूलो खेल मेला यो वर्ष कोरोनाभाइरसको महामारीका कारण प्रभावित भएको छ। ओलम्पिक इतिहासमै पहिलो पटक आयोजक जापानले विषम परिस्थिति भोगिरहेको छ।
नेपालको सहभागिता भने कुनै महामारी भए पनि नभए पनि सधैं प्रभावित हुने गर्छ। राजनीति, विवाद, अन्योल जस्ता दृश्यहरू यस पालि पनि देखिए।
नेपालको ओलम्पिक सहभागिताले ५७ वर्ष पूरा गरिसक्दा पनि विगतकै जस्ता समस्याहरू देखिनु, उस्तै मानसिकताबाट पदाधिकारी ग्रसित हुनुले खेलकुद क्षेत्रको छवि भने सधैं धुमिलिने गरेको छ।
यस पटकको ओलम्पिक त विगतको भन्दा पनि अझ गम्भीर समस्याबाट गुज्रिनुपर्यो।
के के भयो?
केही राजनीति, केहीको ओलम्पिक पुग्ने उत्कट चाहना, केहीको बहिष्कार र केही हिस्सिएका अनुहारका समाचारमाझ ओलम्पिक यात्रा शुरू भएको छ। नेता वामदेव गौतमकी श्रीमती जुडो खेल व्यवस्थापकका रूपमा ओलम्पिकमा सहभागी भएको खबरले निकै चर्चा पाएको छ।
ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका खेल पदाधिकारी कुनै खेलको व्यवस्थापकका रूपमा, कोही एनओसी सहयोगीका रूपमा त कोही ‘एटैची’ का रूपमा पुगेको खबरले पनि प्राथमिकता पाएको छ।
एथलेटिक्स सहभागितामा एकपछि अर्को विवाद आइरहँदा अमेरिकामा रहेका संघका प्रतिनिधि तथा ओलम्पिक कमिटीका सह–महासचिव पीताम्बर तिमिल्सिना उतैबाटै जापान पुगे। त्यो पनि चर्चाकै विषय भयो।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ ओलम्पिक सूचीमा रहे पनि अन्तिम समयमा नजाने निर्णयमा पुगे। गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त भएकाले कार्यव्यस्तताका कारण टोकियो नजाने भन्दै उपाध्यक्ष गुरुङले प्रेस विज्ञप्ति जारी गरे।
राखेपका उपाध्यक्ष कोइराला भन्छन्, “न कुनै बैठक, न जानकारी ओलम्पिक सहभागितामा राखेप कतै देखिएन। यसैले मैले जान उपयुक्त ठानिनँ। यो गलत परम्परा हो, सच्याइनुपर्छ।”
‘प्राविधिक कारण’ बताउँदै छनोट भएका खेलाडी गोपीचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीलाई सहभागी गराइयो। अनि प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना पोजेटिभ देखिएपछि सन्तोष श्रेष्ठले उनको स्थान लिए। प्रशिक्षक मल्लले यसलाई षड्यन्त्र भनिरहेकी छिन्।
परिस्थिति विगतका ओलम्पिकभन्दा केही विषयले फरक पनि देखियो। विगतमा मुख्यतः नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बीच असहमति हुन्थ्यो। ओलम्पिक कमिटीले ओलम्पिक सहभागितालाई पूर्णत: आफ्नो कार्यक्रमका रूपमा लिने र सम्पूर्ण निर्णय आफैंले लिने गरेको थियो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई ‘सेभ द मिशन’ को भूमिका दिनु नै ओलम्पिक कमिटीको ठूलो काम ठहरिन्छ। यहाँसम्म कि राखेपका सदस्यहरूको सहभागिताबारे राखेप नै बेखबर हुने गर्छ।
यस पालि दुई संस्थाबीच सौहार्द वातावरण देखियो। सहभागिताको केही खर्च राखेपले नै व्यहोर्यो।
तर, राखेपका उपाध्यक्ष कोइरालाले ओलम्पिक सहभागिताबारे आधिकारिक रूपमा जानकारी नभएको भन्दै ओलम्पिक सहभागिता बहिष्कार गरे। उनी भन्छन्, “न कुनै बैठक, न जानकारी ओलम्पिक सहभागितामा राखेप कतै देखिएन। यसैले मैले जान उपयुक्त ठानिनँ। यो गलत परम्परा हो, सच्याइनुपर्छ।”
खेलाडीलाई क्षतिपूर्ति के?
यस पटकको ओलम्पिक सहभागिताको विवादले त खेलाडीलाई रुवाएको छ। खेलाडीको क्षमता र भावनामाथि खेलबाड भएको छ। जुन विगतका ओलम्पिकमा समेत भएको थिएन।
नेपाल एथलेटिक्स संघले आयोजना गरेको ‘रोड टु ओलम्पिक’ बाट छानिएका म्याराथन धावक गोपीचन्द्र पार्कीले खेल्न पाएनन्। त्यसमा प्राविधिक कारण देखाइयो। त्यसलाई पुष्टि गर्न नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गरे। यो नेपाली खेलकुदका लागि निकै नौलो विषय बन्यो।
किनकि, ओलम्पिक कमिटी, राखेप र संघले मिलेर यसरी संयुक्त विज्ञप्ति जारी गरेको यो नेपाली खेलकुदमा पहिलो पटक हो। संयोगले त्यो सहकार्य कुनै गर्विलो घोषणाका लागि थिएन।
एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, “खेलकुद क्षेत्रको विकासमा सहकार्य गर्ने, हातेमालो गर्ने विषयमा यस्तो विज्ञप्ति हेर्न पाए कति राम्रो हुन्थ्यो।”
क्षणभरमा ओलम्पिक सपना टुट्दा खेलाडीको मानसिकतामा कस्तो असर पर्यो होला। “म जिउँदो लाश जस्तै भएको छु,” पार्कीले भने।
नेपालगन्ज म्याराथन जितेर ओलम्पिकमा छनोट भएदेखि नै पार्कीले लगातार आठ महीना कडा प्रशिक्षण गरे। बिहान ४ बजे चक्रपथको चक्कर पूरा गर्ने, दिउँसोको घाममा डाँडा उक्लिनेदेखि रातको अँध्यारोमा हलचोक एपीएफ रंगशालामा दौडिने उनको दैनिकी थियो।
ओलम्पिक तयारीका लागि उनले दिनरात एक गरे। कोरोनाकाल भनेनन्। मृत्युसँग डराएनन्। एउटै लक्ष्य बोकेको बताउँदै उनले भनिरहन्थे, “म वैकुण्ठ मानन्धरको दक्षिण एशियाली कीर्तिमान भंग गर्न चाहन्छु।”
अन्य खेलाडीले जसरी उनले ओलम्पिक छात्रवृति मार्फत मासिक पाँच सय अमेरिकी डलर पाएका पनि होइनन्। आफैंले लाखौं खर्च गरेर प्रशिक्षण गरे, ‘डाइट’ खाए। तर, अन्तिम समयमा नाम काटियो। उनको खेलाडी जीवनको सुन्दर सपना भंग हुनपुग्यो।
क्षणभरमा ओलम्पिक सपना टुट्दा खेलाडीको मानसिकतामा कस्तो असर पर्यो होला। “म जिउँदो लाश जस्तै भएको छु,” पार्कीले भने।
उनले सबै व्यहोरे। हतोत्साह, मानसिक विचलन, कसैको आँखाको ‘दयाको पात्र’, कतिपयका लागि ‘खुच्चिङ पात्र’ पनि। आफूलाई सम्हाल्न निकै गाह्रो भएको उनले बताए।
हुन पनि यस्तो समयमा निराश खेलाडीले खेल क्षेत्र त्याग्न सक्छ। विगतमा यस्ता उदाहरण पनि छन्। त्यस्तो वेलामा उनलाई राम्ररी ढाडस, सान्त्वना र भविष्यको सम्भावना देखाउनु जरुरी थियो। उनको मनोबल उच्च राखिराख्न जरुरी थियो।
तर, आश्चर्य ओलम्पिक गुमेको चोटमा उनलाई मल्हम लगाउने काम कसैबाट भएन। त्यो उनका लागि दोस्रो चोट थियो।
के खेलकुद क्षेत्रका पदाधिकारीहरूले पार्कीको चोटमा मल्हम लगाउनुपर्दैन? विशेषत: जिम्मेवार दुई निकाय नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले उनलाई सान्त्वना दिनुपर्दैन? राष्ट्रिय खेलकुद परिषद् टुलुटुलु हेरेर बस्न मिल्छ?
पार्कीले यी तीनवटै निकायले आफूलाई आगामी दिनमा हुने ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लगाउने आश्वासन दिएको बताएका थिए। यसबाट उनी हल्का आशावादी पनि थिए।
तर, टोकियो ओलम्पिक सहभागिताबारे गरिएको पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पार्कीका लागि कुनै वाचा नगरिएको स्पष्ट पारे। उनले भने, “हामीले उनलाई सान्त्वना मात्र दिएका हौं। केही वाचा गरेका छैनौं।”
छनोट भएदेखि आठ महीनाको प्रशिक्षणका क्रममा रू.५ लाखभन्दा बढी खर्च भएको उनले बताए। त्यसको पूर्ति गर्न पनि कुनै निकाय अगाडि बढेको छैन।
एथलेटिक्सका पूर्व अध्यक्ष रघुराज वन्त भन्छन्, “ओलम्पिक खेलकुदको चाड हो र यसमा सबै खेलप्रेमीले गर्व गर्ने स्थिति बन्न जरुरी छ। त्यसो हुनसके मात्र खेलकुद क्षेत्रको इज्जत बढ्छ। तर, त्यस्तो कहिल्यै हुनसकेको छैन।”
कडा मिहिनेत, कीर्तिमान भंग गर्ने लक्ष्यसहित उच्च मनोबल बोकेका एक जना खेलाडीले अहिले आफूले कहीँ कतै गल्ती नगर्दा नि सजाय भोगिरहेका छन्।
खेलकुदमा गुमेको विश्वास
१३औं सागका स्वर्ण पदक विजेता जस्ता खेलाडीको यस्तो दयनीय अवस्था हुन्छ भने अरू खेलाडीले खेलकुद क्षेत्रबाट के आशा राख्ने? ओलम्पिकमा ‘गोपी प्रकरण’ ले यो प्रश्न फैलाएको देखिन्छ।
युवा एथलेटिक्स खेलाडी अजित यादव भन्छन्, “म पनि कुनै दिन एथलेटिक्सको ठूलो खेलाडी बन्दै नाम र दाम कमाउन चाहन्छु। तर, खै पार्की दाइ जस्तो खेलाडीको त यस्तो हालत हुन्छ। हाम्रो त के होला? मनोबल गिरेको छ।”
एथलेटिक्स मात्र होइन, सबै खेलका खेलाडीलाई यो घटनाले खेलकुद क्षेत्र अझै अन्योल रहेको नकारात्मक सन्देश प्रवाह गरेको छ। यो घटनाले पर्न गएको अर्को छाप के हो भने, खेल पदाधिकारी खेलाडीबारे कहिल्यै गम्भीर हुँदैनन्। उनीहरूलाई आफ्नो स्वार्थभन्दा सर्वोपरि अरू हुँदैन।
समग्रमा यसले सम्पूर्ण खेलकुद क्षेत्रको छविमा गम्भीर नकारात्मक सन्देश प्रवाह गरेको छ। यद्यपि यी समस्यालाई निर्णयाक तहमा रहेका खेल पदाधिकारी पूर्णत: नजरअन्दाज गरिरहेको जस्तो देखिएका छन्। मानौं, यहाँ केही भएकै छैन वा भए पनि उनीहरूलाई केही मतलब छैन।
एथलेटिक्सका पूर्व अध्यक्ष रघुराज वन्त भन्छन्, “ओलम्पिक खेलकुदको चाड हो र यसमा सबै खेलप्रेमीले गर्व गर्ने स्थिति बन्न जरुरी छ। त्यसो हुनसके मात्र खेलकुद क्षेत्रको इज्जत बढ्छ। तर, त्यस्तो कहिल्यै हुनसकेको छैन।” खेलकुद क्षेत्रका अधिकारीले यस विषयमा कहिले सोच्ने होलान्?