कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै अक्सिजन र शय्याको तयारी गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले तेस्रो लहर आउनसक्ने जनाउँदै तयारीमा जुट्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले केही दिनयता संक्रमण बढ्न थालेको देखिएको जनाउँदै स्वास्थ्य संस्थालाई तयारी गर्न निर्देशन दिएको हो। बिहीबार स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गरी अक्सिजन र शय्याको व्यवस्था गर्न पनि अनुरोध गरेका छन्।
स्वास्थ्य मन्त्रालयले भनेको छ, “संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउनसक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्तदुरुस्त राख्नुहुन अनुरोध समेत छ।”
कोरोना संक्रमण जति घट्नुपर्ने हो, त्यस अनुसार नघटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण बढ्दै गएको डा. अधिकारीले जनाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ।”
केही जिल्लामा सक्रिय संक्रमितको संख्या पनि बढेको उनले जनाएका छन्। मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित पुगेका छन्। त्यस्तै, २६ जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय नाघेको मन्त्रालयले जनाएको छ।
अघिल्लो साताको तुलनामा सक्रिय संक्रमित धेरै भएका जिल्लाको संख्या बढेको छ। अघिल्लो साता सात जिल्लामा मात्रै पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका थिए।
तेस्रो लहर आउनसक्ने जोखिम रहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ। मन्त्रालयले भनेको छ, “संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।”