चार युगसँग साइनो नभएको बौद्ध धर्म
प्राचीन बौद्ध साहित्यमा चार युगका बारेमा कतै उल्लेख नभए पनि १६औं/१७औं शताब्दीतिरका कतिपय साहित्यमा त्यो सन्दर्भ पाइनु हिन्दू समाज र साहित्यको प्रभाव हो।
हिन्दू समाजमा सत्य, त्रेता, द्वापर र कलि गरी चार युगको मान्यता छ। चार युगको अवधारणाले बुद्ध र बौद्धसँग कुनै सम्बन्ध राख्दैन। प्राचीन पाली बौद्ध साहित्यमा तीन वेदको उल्लेख भए पनि युगको अवधारणा कतै भेटिँदैन। समयक्रममा १६औं/१७औं शताब्दीतिर कतिपय बौद्ध साहित्यमा भने चार युगको उल्लेख पाइन्छ। यसले हिन्दू समाजबाट परेको प्रभाव तथा धार्मिक विश्वासको विकास प्रक्रिया देखाउँछ।
हिन्दू ग्रन्थहरूमै प्रष्ट रूपमा उल्लेख नभएको र विरोधाभास देखिएको चार युगको अवधारणा बौद्ध जनमा स्थापित हुनु अनौठो कुरा हो। शुरूमा हिन्दू ग्रन्थहरूमा यी युगका बारेमा कति स्पष्टता वा विरोधाभास छ भन्ने चर्चा गरौं।
सत्य युगलाई सत युग पनि भनिन्छ। महाभारतको वनपर्व अनुसार, सृष्टिको शुरूआतदेखि १७ लाख २८ हजार वर्षको अवधि सत्य युग थियो। यसको उल्लेख मनुस्मृति र ब्रह्माण्ड पुराणमा पनि पाइन्छ। सत्य युग भनेर सुख, शान्ति, समृद्धि र सुव्यवस्थाको प्रत्याभूति दिने एउटा अवधिविशेषलाई चित्रण गरिन्छ।
सत्य युगको बखान अनेक ग्रन्थमा पाइन्छ। ती ग्रन्थमा लेखिए अनुसार, सत्य युगमा कोही पनि मानिस बिरामी हुँदैनथे। इन्द्रियहरूमा पनि कुनै फेरबदल आउँदैनथ्यो। आमाबाबुअघि छोराछोरी तथा नातिनातिनाको मृत्यु हुँदैनथ्यो। कृषि लगायत कुनै पनि मानवीय कर्म हुँदैनथ्यो। किनबेचको प्रचलन थिएन। दुःख भयो भनेर कसैले रुनु पर्दैनथ्यो। चिताएकै भरमा सबै प्राप्त हुन्थ्यो। लडाइँ र झगडा हुँदैनथ्यो। कसैले कसैको निन्दा गर्दैनथे। त्यस्तो बखान हिजोआज पनि वर्तमानको बद्ख्वाइँका लागि गर्ने गरिन्छ।
ऋग्वेदलाई सत्य युगको मानिए पनि खासमा यो ग्रन्थले चार वटै युगको खण्डन गरेको छ। यसमा सत्य युगको उल्लेख नै पाइँदैन। सत्य यु्गमा एउटै मात्र देवता नारायणको आराधना गरिने र वैष्णव धर्म मात्रै रहेको भनिए पनि अन्य ग्रन्थका विविध बयानमा विभिन्न देवताको नाम पाइन्छ। धार्मिक इतिहासमा वैष्णव सम्प्रदाय पछिल्लो विकास हो। यस अनुसार, हिन्दू धर्मको एउटा सम्प्रदायविशेषको प्रशंसाका लागि चार युगको कल्पना गरिएको बुझ्न सकिन्छ।
सत्य युगमा आमाबाबुभन्दा अगाडि छोराछोरीको मृत्यु नहुने भनिए पनि उक्त युगको भनिने ऋग्वेदका विभिन्न ऋचामा सन्तानको प्राणरक्षाका लागि प्रार्थना गरिएको पाइन्छ। कोही बिरामी हुँदैनथ्यो भनिए पनि ऋग्वेदमा विभिन्न रोग र औषधिको उल्लेख पाइन्छ। सत्य युगको भनिए पनि ऋग्वेदको रचनाकाल ६–७ हजार वर्षभन्दा पुरानो मानिँदैन।
यस्तै, ग्रन्थ पिच्छे सत्य युगमा मान्छेको आयु फरक–फरक उल्लेख गरिएको छ। कुनैमा एक लाख वर्ष, कुनैमा हजार वर्ष। कुनै ग्रन्थमा सत्य युगमा मान्छेको आयु चार सय वर्ष, त्रेता युगमा तीन सय वर्ष, द्वापर युगमा दुई सय वर्ष र कलि युगमा एक सय वर्ष रहेको भनिएको छ। तर, सत्य युगमा इन्द्रियमा कुनै परिवर्तन नहुने (बालक सधैं बालक नै र वृद्ध वृद्ध नै रहिरहने) भनिएका कारण आयु सम्बन्धी कुरामा विरोधाभास छ।
ऋग्वेदमा इन्द्र लगायत देवताहरूलाई आह्वान गरी दुःख र सन्त्रास हरण गरिदिन प्रार्थना गर्ने गरेको उल्लेख पाइन्छ। प्राकृतिक तथा अन्य समूहका मानिस (शत्रु) बाट सुरक्षा गरिदिनुपर्ने आदि याचना मात्रै होइन, शत्रुको अहितको कामना समेत गरिएको पाइन्छ। लडाइँ–झगडा केही हुँदैन भनिए पनि ऋग्वेदमा इन्द्रले गरेका युद्धहरूको प्रशंसा तथा जय–विजयको कुरा प्रशस्त मात्रामा पाइन्छ।
युगहरूको चर्चा गर्दा राम र रामायणको प्रसंग त्रेतायुगसँग तथा कृष्ण र महाभारतको प्रसंग द्वापर युगसँग जोडिएको पाइन्छ। सबैभन्दा निकृष्ट समयका रूपमा वर्तमानको कलि युगलाई चित्रण गरिन्छ। यसरी हेर्दा वर्तमानको वस्तुस्थितिलाई नकारात्मक रूपमा चित्रण गर्नु र विगतको प्रशंसा गर्नु नै चार युगको अवधारणा हो।
इतिहासका विद्यार्थीका लागि यी चार युगको कुनै अर्थ छैन। किनकि, मानव सभ्यताको सम्पूर्ण इतिहासमा यी चार युग कतै पनि भेटिँदैनन्। पुष्टि भएको कालखण्डमा त पृथ्वीको करोडौं वर्षको इतिहास तथा प्राणीको लाखौं वर्षको इतिहास भेटिन्छन् र यसबारे अध्ययन गरिन्छन्। प्राचीन मानव सभ्यताको इतिहास पढ्दा फिरन्ते जीवनशैलीको जंगली युगपछि कृषि युगमा प्रवेश गरेको र त्यसैलाई सभ्यताको शुरूआत मानिन्छ।
विभिन्न पक्षलाई ध्यानमा राखेर ऐतिहासिक युगहरूको कालविभाजन गरिएको पाइन्छ। तीमध्ये एउटा हो, वेदमा आधारित वैदिक युग। यसलाई पनि पूर्व वैदिक युग र उत्तर वैदिक युग भनी विभाजन गरेर अध्ययन गरिन्छ।
यज्ञको प्राधान्य रहेको वैदिक समाजमा पछिल्लो कालमा अनेक विकृति आएर आन्तरिक द्वन्द्व हुने क्रममा अनेक सम्प्रदाय विकास भएका थिए। त्यही वेला संगठित भएको भागवत सम्प्रदाय आज वैष्णवी सम्प्रदायका रूपमा चिनिन्छ। चार्वाक लगायत लोकायत (भौतिकवादी) धर्म सम्प्रदाय अझ पुरानो थियो। यस्तो धार्मिक तथा सांस्कृतिक परिवेशमा इसापूर्व छैटौं शताब्दीतिर महावीर तथा गौतम बुद्धहरूको उदय भएको थियो।
चार युग र बौद्ध धर्म
चार युगको अवधारणा सम्पूर्ण विश्वसँग नभई भारतीय परिवेशसँग सम्बन्धित छ। तर, भारतीय इतिहासकै अध्ययन गर्ने हो भने त्यस्तो आदर्श वा वैभवको कुरा कतै भेटिंदैन।
सत्य युगको बखानका क्रममा जुन वैभवको प्रशंसा गरिएको छ, त्यो न इतिहाससम्मत छ, न तार्किक नै। ऋग्वेदसँग पनि बाझिएका ती कुरा बुद्धका नजरमा मिथ्या मात्रै हुन्। सत्य युगमा एक मात्र वैष्णव धर्म–सम्प्रदाय रहेको चर्चा गरिनुले उत्तर वैदिक कालको अतिशयोक्तिका लागि यो अवधारणा ल्याएको भन्न सकिन्छ।
सत्य युगलाई कृतयुग पनि भनिन्छ। त्रेता, द्वापर र कलिको तुलना जुवासँग गर्न सकिन्छ। द्यूतक्रीडाको समयमा चार अंकको कृत नामक पासाले खेल्नेलाई विजयी बनाउँछ। जुवामा विजयीको अवस्था सबैभन्दा राम्रो हुनु (अर्थात् सत्य युग) स्वाभाविक हो। जुवामा तीन अंक प्राप्त गर्नेलाई त्रेता, दुई अंक प्राप्त गर्नेलाई द्वापर भनिन्छ। कलि भने पराजयको अवस्था हो। त्यही अर्थमा यी शब्दहरू प्रयोग हुने क्रममा बौद्धिक एवं दार्शनिक रूपमा पराजयको स्थितिलाई कलियुग भनिएको हो।
विष्णुधर्मोत्तर लगायत कतिपय पुराणले बुद्धलाई कलियुगमा मान्छेलाई पथभ्रष्ट बनाउन आएका राक्षसपुत्र भनेर चित्रण गरेका छन्। बौद्धिक तथा दार्शनिक क्षेत्रमा बौद्ध जगत्को आक्रमण तथा बुद्धको उपदेशको कसीमा स्वयं आफ्ना यजमानहरूले गर्ने अनेक प्रश्नको जवाफ दिन नसक्दा तत्कालीन पण्डितहरूले यो अधर्मको समय भएको भन्दै सम्पूर्ण दोष कलियुगलाई दिई पन्छिने प्रपञ्च रचेको पाइन्छ। यस अनुसार, गौतम बुद्धभन्दा निकै पछि मात्र चार युगको अवधारणा स्थापित भएको भन्न सकिन्छ।
पाली बौद्ध साहित्यमा अत्यन्तै प्राचीन कालको उल्लेख गर्नुपर्दा विभिन्न कल्पबारे लेखिएको पाइन्छ। ती कल्पहरूमा चार युगको उल्लेख छैन। तर, पछि रचना गरिएका स्वयम्भू पुराण लगायत महायानी बौद्ध साहित्यमा अतीतको वर्णन गर्नुपर्दा सत्य, त्रेता र द्वापर युगको उल्लेख गरिएको छ, जुन उदेकको कुरा हो। यसलाई हिन्दू समाज र साहित्यको अनुकरण वा प्रभाव भन्न सकिन्छ।
बौद्ध जनलाई हिन्दू परिवेशमा जानबाट रोक्न वा हिन्दू जनलाई बौद्ध धर्मदर्शनमा आकर्षित गर्न त्यसै अनुसारको साहित्यको सिर्जना गरिएको पनि देखिन्छ। १६औं/१७औं शताब्दीतिरको बौद्ध साहित्यमा युगको चर्चा पाइनुलाई तत्कालीन बौद्ध धर्म प्रचारकहरूको चतुर्याइँको रूपमा बुझ्न सकिन्छ। तर, यो विषय बौद्धहरूका लागि भने बिल्कुल असंगत हो।