महन्थ ठाकुरलाई छाडेर आठ सांसद उपेन्द्र यादवको पक्षमा
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका आठ सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका छन्।
प्रतिनिधि सभाका सात र राष्ट्रिय सभाका एक सांसद अध्यक्ष ठाकुर समूहलाई छाडेर मंगलबार यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन्। यसअघि ठाकुर पक्षमा रहेका अमृता अग्रहरी, प्रमोद साह, नरमाया ढकाल, रानी मण्डल, रुही नाज मिकरानी, चन्द्रकान्त चौधरी र रेणुका गुरुङ यादव पक्षमा लागेका हुन्।
यस्तै, राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमारसिंह यादव पनि उपेन्द्र यादव पक्षको बैठकमा सहभागी थिए। जसपाका ज्येष्ठ सांसद महेन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकले जसपा संघीय संसदीय दलको विधान पारित गरेर केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा यादव पक्षका १२ सांसदले मात्रै हस्ताक्षर गरेका थिए। आजको संसदीय दलको बैठकमा भने प्रतिनिधि सभाका २० सदस्य उपस्थित थिए। जसमध्ये निलम्बित सांसद हरिनारायण यादवलाई भने मताधिकार छैन।