११ राजदूत नियुक्तिको सिफारिश खारेज
सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्तिका लागि पठाइएका ११ राजदूतको सिफारिश खारेज गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले ११ राजदूतको सिफारिश खारेज गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। ओली नेतृत्वको सरकारले १ जेठमा ११ राजदूत नियुक्तका लागि सिफारिश गरेकाे थियाे।
रुसका लागि डा.जंगबहादुर चौहान, बहराइनका लागि युवराज कार्की, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, अस्ट्रेलियाका लागि सुम्निमा तुलाधर (प्रधान), म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी भण्डारी, साउदी अरबका लागि मेराज मुसलमान, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ र अस्ट्रेलियाका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि निर्मलराज काफ्लेलाई राजदूतका लागि सिफारिश गरिएको थियो।
ती सबै सिफारिश खारेज गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।