गायक दीप श्रेष्ठको कोभिड अनुभूति : ‘मरेर बाँचे जस्तो लाग्छ !’
बीचमा धेरै गाह्रो भए पनि आत्मविश्वासले जितेँ जस्तो लाग्छ। नियमित प्राणायाम गर्ने भएकाले पनि मलाई श्वासप्रश्वासमा सहज भयो। यस्तो वेला मन चाहिँ दह्रो बनाउनुपर्दो रहेछ। अहिले सोच्दा त मरेर बाँचेँ जस्तो लाग्छ।
कोभिड–१९ को महामारी फैलिएदेखि नै स्वास्थ्य सुरक्षामा ध्यान दिँदै आएको थिएँ। बाहिर खासै ननिस्किने, निस्किँदा पनि मास्क लगाउने र सेनिटाइजर बोकिराख्ने गर्थेँ। खल्तीमा मरिच राखेर वेलावेला टोक्थेँ। भिक्स पनि सुँघिरहन्थेँ।
दीप श्रेष्ठ
खोप भने लगाएको थिइनँ। तीन महीनाअघि खोप लगाउन जान लाग्दा ‘आज भीड छ, भोलि आउनू’ भन्ने खबर आयो, तर भोलिपल्ट खोप सकिएछ। खोप लगाउन नपाएपछि झनै सावधानी अपनाउन थालेँ।
मलाई कसबाट संक्रमण भयो भन्ने ठ्याक्कै थाहा छैन। तर, ‘द भोइस अफ नेपाल’ (गायन रियालिटी शो) को सुटिङबाटै सरेको हो जस्तो लाग्छ। कार्यक्रमको 'कोच' रहेकाले सुटिङमा जानैपर्यो, सतर्कता पनि अपनाइएकै थियो। तर, आठ–दश जना प्रतियोगीलाई कोरोना संक्रमण भयो। त्यहाँको क्यान्टिनको मान्छेलाई पनि संक्रमण भएको थियो। त्यहाँ वेलावेला बाहिरका साथीहरू आएर हात मिलाउँथे, अँगालो हाल्थे।
प्रतियोगीहरू नै संक्रमित भएपछि सुटिङ बन्द भयो। त्यसपछि घरमै बसिरहेको थिएँ। जेठको पहिलो साताको कुरा हो, शुरूमा अलिअलि रुघाखोकी लाग्न थाल्यो। त्यसपछि घरेलु उपचार गर्न थालेँ। कपुर र के के जाति बाँधेर सुँघ्ने, ज्वानो, सुप खाएर बसें। अचानक रक्तचाप घटे जस्तो लाग्यो। रिँगटा लागेपछि प्रेसर नाप्दा त ८२/५० देखियो। तीन पटकसम्म नाप्दा पनि त्यस्तै आयो। त्यसपछि घन्टैपिच्छे नाप्न थालेँ।
भोलिपल्ट बिहान जाडो भयो। नजिकैको औषधि पसलमा गएर जिङ्क र अन्य औषधि किनेँ। त्यो रात १०१ डिग्री ज्वरो आयो।
त्यसपछि प्रेसर जचाउन ह्याम्स अस्पताल गएँ। पीसीआर चेक गर्न भनेपछि स्वाब दिएर फर्किएँ। राति ११/१२ बजेतिर पोजेटिभ रिपोर्ट देखियो भन्ने खबर आइहाल्यो। त्यसपछि झनै ज्वरो आउने, टाउको दुख्ने हुन थाल्यो।
भोइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलको सुझाव अनुसार कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्रमा गएर उपचार शुरू भयो। डा. जितेन्द्र श्रेष्ठको टीमले सहयोग गर्यो। त्यहाँको वातावरण पनि राम्रो थियो। राति सुत्नुअघि दूधमा बेसार हालेर दिन्थे। दुई रातसम्म त्यसरी नै बित्यो।
तेस्रो रात अक्सिजन लेभल घट्दै गयो। एकदमै छटपटी हुनथाल्यो। डाक्टरहरूसँग सल्लाह गर्दा ‘यस्तै हुन्छ’ भने, तर मलाई झन्झन् गाह्रो भइरहेको थियो। अक्सिजन स्याचुरेसन स्तर जति घट्यो, त्यति धेरै लिटरको अक्सिजन चलाइँदो रहेछ। ५० लिटरको अक्सिजन सिलिन्डर लगाउँदा पनि गाह्रो भएपछि डाक्टरले रिपोर्ट हेरे। त्यसपछि मलाई ह्याम्समै जानुस् भने।
तेस्रो रात भने अक्सिजन लेभल घट्दै गयो। एकदमै छटपटी हुनथाल्यो। डाक्टरहरूसँग सल्लाह गर्दा ‘यस्तै हुन्छ’ भने, तर मलाई झन्झन् गाह्रो भइरहेको थियो। अक्सिजन स्याचुरेसन स्तर जति घट्यो, त्यति धेरै लिटरको अक्सिजन चलाइँदो रहेछ। ५० लिटरको अक्सिजन सिलिन्डर लगाउँदा पनि गाह्रो भएपछि डाक्टरले रिपोर्ट हेरे। त्यसपछि मलाई ह्याम्समै जानुस् भने। मेरा पुराना मित्र डा. भोला रिजाल र ह्याम्सकै डा. कमल थापाले पनि छिटो आउनुस् भने।
ह्याम्समा पुग्दा आईसीयूमा ठाउँ थिएन। जनरल वार्डमै राखेर उपचार शुरू भयो। भोलिपल्ट मात्र सिंगल रूम मिल्यो। त्यहाँ पुगेपछि त मिनेट–मिनेटमा परीक्षण हुनथाल्यो। एउटा कागजमा सही गराए।
एक्स–रेमा करङ नै देखिएन
कीर्तिपुरको आयुर्वेद केन्द्रमा उपचार गर्दा एक दिन नर्सले स्लाइन पानी लगाइदिएर गइन्। समयमा हेर्न बिर्सिए कि के भयो कुन्नि, स्लाइनको बोतलमा पानी सकिएर रगत जम्मा भएछ। पछि मैले भनेपछि उनीहरूले त्यसलाई फेरि मेरो शरीरमै लगाइदिए। त्यसैले हो कि, मैले खोक्दा मुखमा पनि रगत देखियो। डाक्टरलाई सुनाउँदा कहिलेकाहीँ यस्तो हुन्छ भने।
ह्याम्समा पनि त्यस्तै भयो। नर्सले स्लाइन लगाएर गएकी थिइन्, पछि रगत बोतलमा जम्मा भयो। त्यसपछि डाक्टरले छाती जाँच गरे। मलाई त निमोनिया भइसकेको रहेछ। छातीको एक्स–रेमा करङ नै देखिएन। डाक्टरले अलिकति दम पनि रहेछ भने। त्यसवेला मलाई ४०/५० लिटरको अक्सिजन दिइएको थियो।
मेरो छेउमा कोभिडका अर्का बिरामी पनि भर्ना भएका थिए। उनी मुटुका डाक्टर रहेछन्। उनलाई श्वासप्रश्वासमा समस्या भएर भेन्टिलेटरमा राखिएको थियो। एक दिन उनलाई नदेखेपछि डाक्टरसँग ‘उहाँ खै त’ भनेर सोधेँ। उनी त बितिसकेछन्।
ह्याम्समा मेरो छेउमा कोभिडका अर्का बिरामी पनि भर्ना भएका थिए। उनी मुटुका डाक्टर रहेछन्। उनलाई श्वासप्रश्वासमा समस्या भएर भेन्टिलेटरमा राखिएको थियो। एक दिन उनलाई नदेखेपछि डाक्टरसँग ‘उहाँ खै त’ भनेर सोधेँ। उनी त बितिसकेछन्।
बिरामीले लामो सास लिन नसक्दा समस्या हुन्छ भनेर डाक्टरको कुरा सुनेपछि मलाई पनि मनमा चिसो पस्यो। जसरी पनि बाँच्नुपर्छ भन्ने लाग्यो र सास तान्न खोजेँ, तर अलिकति सास तान्यो कि खोकी लागिहाल्ने! दायाँ कोल्टे र उत्तानो परेर सुत्न नहुने, डाक्टरले घोप्टो परेर सुत्नुस् भने पनि त्यसरी सुत्नै सकिनँ। त्यसपछि देब्रे फर्केर सुतेँ। सकिनसकी लामो सास तान्ने कोशिश गरिरहेँ। खोकी लाग्दालाग्दै पनि यो प्रयास छाडिनँ।
दुई दिनसम्म यसरी लामो सास तान्दै छाड्दै गरेपछि मेरो अक्सिजन लेभल बढ्न थाल्यो। अनि त २०/२५ लिटरको अक्सिजन सिलिन्डरले पनि काम गर्न थाल्यो। त्यसपछि डाक्टरले मुखको अक्सिजन मास्क निकालेर नाकमा मात्र सानो लगाइदिए। लगातार श्वासप्रश्वासको अभ्यास गरेपछि ८/१० लिटरको अक्सिजन सिलिन्डर लगाए हुने अवस्थामा पुगेँ।
अस्पतालमा मलाई नारायण भण्डारी भतिजले रेखदेख गरिरहेका थिए। मेरो एक्स–रेमा करङको आकारै नदेखिनु त खतराको अवस्था रहेछ। त्यसपछि त अस्पतालले नारायणलाई बोलाएर बिल तिरेर बिरामी जिम्मा लिनू भन्ने खालको कुरा गरेको रहेछ। ठीक हुँदैन भनेर त्यसो भनेको थियो कि, अस्पतालको नियम नै त्यस्तो हो कि, मैले बुझिनँ। त्यसबारे पछि थाहा पाउँदा भने नमज्जा लाग्यो। तर, पछि स्वास्थ्य सुधार हुँदै गयो।
त्यो कालो बिरालो !
बीचमा एक पटक त आफैंलाई पनि अब निको हुँदैन कि जस्तो लागेको थियो। डाक्टरले दिएको औषधि खाँदा पेट पोलेर रातभर सुत्न सकिनँ। एसीको तापक्रम घटाउँदा पनि गर्मी भयो। त्यसपछि त सुत्दा तन्द्रामा कालो बिरालो देख्न थालेँ। निदाउँदा देखेको सपना पनि होइन, झकाउँदा तन्द्रामा त्यस्तो देख्नु नेपाली समाजमा अशुभ मानिन्छ।
अस्पतालमा मलाई गाह्रो भएको कताबाट थाहा पाएर कसैले ‘भोइस अफ नेपाल’का निर्देशक लक्ष्मणलाई एउटा मन्त्र लेखेर पठाएछन्– ‘श्री ओम प्रभु’। मलाई लक्ष्मणले यो मन्त्र जप्नु भनेर मेसेजमा पठाए। ‘मरता क्या नही करता’ भने झैं मैले त्यो मन्त्र जपेँ।
छेउको डाक्टर बितेको थाहा पाएदेखि म डराएको थिएँ। तर सोचेँ, उहाँ त भेन्टिलेटरमा हुनुहुन्थ्यो, म त छैन। मैले जसरी पनि अक्सिजन लेभल बढाउनैपर्छ भन्ने लाग्यो। छिटो निको हुन खानुपर्छ भन्ने पनि थाहा थियो। जिउमा तागत नै थिएन। शौचालय जानसक्ने शक्ति पनि भएन।
त्यो मन्त्र पठाउनेहरूले ‘दाइलाई दुई दिनपछि ठीक हुन्छ’ भनेर खबर पनि पठाएका रहेछन्। निको भएपछि उनीहरूसँग भेट पनि भयो। श्री ओम प्रभु उनीहरूका गुरु रहेछन्। उनीहरूले मलाई केही जडीबुटी पनि दिए। अहिले खाइरहेको छु, राम्रै गरिरहेको छ।
छेउको डाक्टर बितेको थाहा पाएदेखि म डराएको थिएँ। तर सोचेँ, उहाँ त भेन्टिलेटरमा हुनुहुन्थ्यो, म त छैन। मैले जसरी पनि अक्सिजन लेभल बढाउनैपर्छ भन्ने लाग्यो। छिटो निको हुन खानुपर्छ भन्ने पनि थाहा थियो। जिउमा तागत नै थिएन। शौचालय जानसक्ने शक्ति पनि भएन। स्वास्थ्यकर्मीले बेडमै सानो कमोड ल्याएर राखिदिए। तर, त्यसो गर्न मनैले मानेन। शौचालय जाने समस्याकै कारण झोलिलो पदार्थ मात्र खाएँ। त्यसपछि दुई–तीन दिनमा मात्र शौचालय जानुपर्यो।
श्वासप्रश्वासको अभ्यास जारी राखेँ। अक्सिजन लेभल बढ्दै गयो। फिजियोथेरापी गरेर हातखुट्टा बलियो बनाएँ, सामान्य हिंड्नसक्ने भएँ। अक्सिजन सिलिन्डर पनि ३, २ हुँदै ०.५ लिटर लगाउँदा हुने भयो। १५–१६ दिन आईसीयूमा बसेपछि प्राइभेट रूममा राखियो। त्यहाँ शौचालय, बाथरुम हिँडेर जानसक्ने भएँ। आफूलाई सक्रिय राख्नुपर्छ भनेर हातगोडा चलाइरहेँ।
सुत्दा घरीघरी छटपटी हुन्थ्यो। त्यस्तो वेला ०.५ लिटरको अक्सिजन आफैं लगाउन थालेँ। अस्पतालमा पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा.रक्षा पाण्डे र अर्का एक डाक्टर भेटेँ। उहाँहरूले परीक्षण गरेर ‘सत्तरी वर्षको उमेरमा पनि तपाईंको स्वास्थ्य राम्रो रहेछ। निमोनिया क्लियर भइसक्यो, अब घर गए पनि हुन्छ’ भन्नुभयो। म भने कोभिड रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्किने सुरमा थिएँ। डा.भोला रिजालले पनि ‘अब तिमी ठीक भइसक्यौ, किन धेरै खर्च गर्छौ’ भनेर घर जान सुझाव दिए। त्यो अस्पतालमा आईसीयूमा दिनको ४७ हजार रुपैयाँ तिर्नुपर्दो रहेछ, सामान्य बेडको पनि दिनको २२ हजार रहेछ।
आईसीयूमा बस्दा स्वास्थ्य बाहेक कुनै कुराको चिन्ता गरिनँ। पैसा कति खर्च भयो भनेर पनि सोचिनँ। तर, अलि राम्रो भएपछि त सोच्नैपर्यो। उपचारमा करीब १२/१३ लाख रुपैयाँ खर्च भएछ। पैसा कहाँबाट कसरी जुटाउने भन्ने सोचेँ।
आईसीयूमा बस्दा स्वास्थ्य बाहेक कुनै कुराको चिन्ता गरिनँ। पैसा कति खर्च भयो भनेर पनि सोचिनँ। तर, अलि राम्रो भएपछि त सोच्नैपर्यो। उपचारमा करीब १२/१३ लाख रुपैयाँ खर्च भएछ।
पैसा कहाँबाट कसरी जुटाउने भन्ने सोचेँ। त्यहाँ फोन चलाउन पाइँदैनथ्यो। मैले डा. सविन कोइरालालाई अनुरोध गरेर मेसेज मात्र चलाउने शर्तमा दिनको दुई घन्टा चलाउने अनुमति पाएँ। आईसीयूबाटै मेसेज गरेर साथीहरूसँग पैसाका लागि अनुरोध गरें। आफूले लिनुपर्ने ठाउँमा मागेँ।
१४ जेठमा ह्याम्स अस्पतालमा उपचारका क्रममा दीप श्रेष्ठ ।
यस्तो वेला मलाई जापानबाट ईश्वर गुरुङले सहयोग पठाए। संगीतकार संघले पनि सहयोग गर्यो। काठमाडौंका दाइ सोमलाल गौचन र लन्डन पब रेस्टुरेन्टका साथीहरूले सघाए।
कीर्तिपुरमा तीन दिन र ह्याम्समा १८ दिन गरी २१ दिनपछि २७ जेठमा घर फर्किएँ।
पहिला चिसोले समाउँदा, असहज महसूस हुँदा बाफ लिइहाल्थेँ। यसपटक हल्का दम पनि भइसकेको रहेछ। त्यतिवेलै दमबाट बचेको भए निमोनिया नहुने रहेछ। निमोनियाका कारण २० वटा त इन्जेक्सन नै लगाउनुपर्यो।
त्यसवेला मलाई एकदमै आवश्यक परेको टोसिला जुम्बक नामका दुई वटा इन्जेक्सन बजारमै नपाइने रहेछन्। डा.भोला रिजाल र क्याप्टेन विजय लामाले त्यो पाइने ठाउँ पत्ता लगाए। त्यसपछि राति १२ बजे मेरी श्रीमती सोफिया श्रेष्ठ र सुनील थापा मगरले खोजेर ल्याए। त्यही इन्जेक्सनले मलाई बचायो भन्छन्।
अस्पताल बसाइमा औषधि ल्याइदिने कर्णराज गिरी र हरेक दिन खाना ल्याइदिने डेन्टिस्ट राजु वैद्यलाई पनि विशेष सम्झिन्छु।
आत्मबलको टेको
अस्ति पहिलो फलोअपमा जाँदा डाक्टरले एक्स–रे गरेर हेरे। करङहरू प्रष्ट देखिए। त्यसपछि डाक्टरले भने, ‘निमोनिया क्लियर भइसक्यो, कोभिड त अब फर्केर पनि लाग्दैन।’ डाक्टरहरूले अझै आराम गर्नु भनेका छन्। बोल्न पनि जोड नदिनु भनेकाले कम मात्र बोल्छु।
पहिले मैले महामारीका रूपमा रहेको क्षयरोगलाई पनि जितेको थिएँ, अहिलेको कोभिडलाई पनि जितेँ। यस्ता जुनसुकै रोग जित्न शुरूमा त आत्मबल दह्रो चाहिँदो रहेछ। त्यसपछि नियमित रूपमा औषधि सेवन र डाक्टरको कुरालाई ध्यान दिएर पालना गर्नुपर्छ। रत्तिभर हेल्चेक्र्याइँ गर्न हुन्न।
पहिले मैले महामारीका रूपमा रहेको क्षयरोगलाई पनि जितेको थिएँ, अहिलेको कोभिडलाई पनि जितेँ। यस्ता जुनसुकै रोग जित्न शुरूमा त आत्मबल दह्रो चाहिँदो रहेछ। त्यसपछि नियमित रूपमा औषधि सेवन र डाक्टरको कुरालाई ध्यान दिएर पालना गर्नुपर्छ। रत्तिभर हेल्चेक्र्याइँ गर्न हुन्न।
डाक्टर र नर्सहरूले हरेक पटक चेक गर्दा म आफ्नो अवस्थाबारे सोध्थेँ। उनीहरूले दिएका सल्लाह मान्थेँ। एक पटक डाइटिसियनले ‘तपाईं खाना खानुहुन्न रहेछ, अलि खानुस्’ भनेर ल्याइदिए। यस्तो वेला अरू खानेकुराको स्वाद नआउने, गुलियो मात्र मीठो लाग्यो। तर, गुलियोले सुगर बढेको देखियो। उनीहरूले ‘गुलियो खान नछोड्नुस्, सुगर बढ्यो भने इन्सुलिन दिएर ब्यालेन्स गर्नुपर्छ’ भने। तर, इन्सुलिन दिन थालेपछि पछिसम्म दिनुपर्ला भन्ने सोचेर गुलियो नखाने बताएँ। त्यसपछि सुपमा जोड दिएँ। कोभिड भएपछि मेरो तौल ८/१० किलो घटेछ।
बीचमा धेरै गाह्रो भए पनि आत्मविश्वासले जितेँ जस्तो लाग्छ। नियमित प्राणायाम गर्ने भएकाले पनि मलाई श्वासप्रश्वासमा सहज भयो। यस्तो वेला मन चाहिँ दह्रो बनाउनुपर्दो रहेछ। अहिले सोच्दा त मरेर बाँचेँ जस्तो लाग्छ।
उपचारमा खटिएका डाक्टरहरूको मिहिनेत, दर्शक–श्रोताको प्रार्थना, शुभेच्छुकहरूको कामनाले बाँचेँ भन्ने लाग्छ। अहिले त बोल्न सक्ने भएँ, ‘भोइस अफ नेपाल’मा एउटा गीत पनि गाएँ।
अहिले पनि गाडीमा अक्सिजन र खल्तीमा अक्सिमिटर बोकेर हिंड्छु। भोइसको सुटिङमा पनि वेलावेला अक्सिजन लेभल नाप्छु, ९० भन्दा कम भयो भने तुरन्तै निस्किएर अक्सिजन लगाउँछु।
अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै छ। तर, अलि कमजोर भएकाले सतर्कता अपनाएर काम गरिरहेको छु। अरूलाई पनि मेरो सुझाव यही हुन्छ, सकेसम्म शुरूमै सतर्क हुनुपर्छ, कोभिड भइहाल्यो भने जसरी पनि बाँच्नुपर्छ भनेर आत्मबल दह्रो बनाउनुपर्छ, आफूलाई सक्रिय राख्नुपर्छ।
प्रस्तुति : गोपाल दाहाल