एमालेका १० सांसद जसले देउवालाई सर्वोच्चमा साथ दिए, तर विश्वासको मत दिएनन्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका नेकपा (एमाले)का २३ मध्ये १० सांसदले प्रतिनिधि सभामा विश्वासको मत भने दिएनन्।
सरकारको सिफारिशमा राष्ट्रपतिले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेपछि देउवासहित १४६ सांसद सर्वोच्च अदालत पुगेका थिए। उनीहरूमध्ये २३ सांसद एमालेका थिए।
उनीहरूको माग बमोजिम सर्वोच्चले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो। सर्वोच्चले सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन पनि आदेश दियो।
त्यससँगै देउवालाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने आदेश पनि माग गरेका थिए। सर्वोच्चले उनीहरूको माग बमोजिम नै कारबाही गर्न नपाउने आदेश दियो। तर, सर्वोच्च पुगेका एमालेका २३ सांसदमध्ये १० सांसदले प्रतिनिधि सभामा भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएनन्।
उनीहरूले एमालेको एकता जोगाउन विश्वासको मतको प्रस्तावमा सहभागी नहुने जनाएका थिए। प्रतिनिधि सभा बैठकमा उपस्थित भए पनि मतदान हुनुभन्दा केही बेरअघि बाहिरिएका थिए। एमाले उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले त सांसदबाट राजीनामा दिए।
बरु एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेका आठ सांसदले भने देउवालाई विश्वासको मत दिए। उनीहरूमा ओली सरकारमा सहभागी पूर्वमन्त्री प्रेमबहादुर आले पनि छन्।
आइतबार प्रतिनिधि सभामा भएको मत विभाजनमा देउवाको विश्वासको मतको पक्षमा १६५ मत खसेको छ। विपक्षमा ८३ मत खस्यो भने एक जना तटस्थ बसे।
सर्वोच्च गएका तर मत नदिएका एमाले सांसद
१) राजबहादुर बुढा
२) यज्ञराज सुनुवार
३) नारायण खतिवडा
४) घनश्याम भुसाल
५) सोमप्रसाद पाण्डे
६) झपट रावल
७) भीमबहादुर रावल (राजीनामा)
८) दीपकप्रकाश भट्ट
९) सुरेन्द्र पाण्डे
१०) झलनाथ खनाल (बिरामी)