के प्रधानमन्त्री देउवा बाँकी डेढ वर्ष सुरक्षित छन्?
२९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। अब देउवा प्रतिनिधि सभाको बाँकी डेढ वर्षको अवधिसम्म सुरक्षित रहलान् त भन्ने प्रश्न भने यथावत् छ।
विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ सांसदले मत दिए भने एक जना सांसद तटस्थ रहे। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले देउवालाई मत दिए।
त्यस्तै, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदले पनि देउवालाई मत दिए।
प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने व्यवस्था छ। त्यसैले अविश्वासको प्रस्ताव मार्फत देउवालाई हटाउने विकल्प प्रतिपक्षी दलसँग छैन।
तर, प्रधानमन्त्री देउवाको सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा भने देउवाले त्यसको एक महीनाभित्र विश्वासको मत लिनुपर्छ। त्यसैले देउवा सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता नलिएको अवस्थामा देउवा सरकार प्रतिनिधि सभाको बाँकी कार्यकाल करीब डेढ वर्ष रहनेछ।
त्यसपछि देउवाले आफ्नै नेतृत्वमा चुनाव गराउनेछन्। प्रधानमन्त्री देउवाले बीचमै प्रतिनिधि सभाको विश्वास गुमाए भने पनि प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्न सक्नेछन्।