भीम रावलले यसकारण दिए राजीनामा
नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले आफ्नै पार्टी नेतृत्वलाई दोष दिँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका हुन्। रावल देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालत पुगेर हस्ताक्षर गर्ने एमालेका २३ सांसदमध्ये एक हुन्।
पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको संयोजक समेत रहेका रावलले कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन हुने नदेखेपछि राजीनामा दिएको जनाएका छन्।
राजीनामाबारे रावलको धारणा उनकै शब्दमा :
झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोहअवरोह तथा घातप्रतिघात भोगेको छु र तिनको सामना गरेको छु। यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिका लागि गरेको थिएँ। राजनीति र त्यसका सबै संयन्त्रहरू राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ।
तर, राजनीतिक नेतृत्वबाट त्यस विपरीतका काम हुँदै देश र जनताका लागि अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए। फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ। अझै केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा विधि र पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ।
यस्ता विकृति तथा देश र जनताको हित विपरीतका क्रियाकलापका विरुद्ध जुध्दै तिनलाई रोक्नका लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरेँ। तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हित भन्दा निजी स्वार्थ, अहम्, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झिने जुनसुकै नेपालीको मनमा घृणा उत्पन्न हुन्छ।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु।