नेप्से ९७ अंकले बढ्यो, पाँच कम्पनीमा सकारात्मक सर्किट
आइतबार शेयर बजार परिसूचक, नेप्से ९७.२१ अंकले बढेको छ।
२८९२.४७ बिन्दुबाट शुरू भएको बजार २९८०.६१ बिन्दुमा पुगेर रोकिएको हो।
आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स कम्पनी, सिन्धु विकास ब्यांक, नाग्दी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रोको शेयर १० प्रतिशतले बढेको हो।
आज १९४ वटा कम्पनीको शेयर मूल्य बढ्यो। २२ कम्पनीको मूल्य घट्यो भने पाँच कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
आज सबै उपसमूहको सूचक बढेको छ। सबैभन्दा धेरै विकास ब्यांक उपसमूह ५.०५ प्रतिशतले बढेको छ। त्यसैगरी, ब्यांकिङ उपसूमह ४.७१, जीवन बीमा ३.८०, माइक्रोफाइनान्स ३.५९, सामूहिक लगानी ३.३४ र निर्जीवन बीमा ३.१५ प्रतिशतले बढेको छ।