संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छिन्।
२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले आइतबार अध्यादेश खारेज गरेकी हुन्।
संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसअघि उक्त अध्यादेशमा संवैधानिक नियुक्तिका लागि बहुमतका आधारमा निर्णय गर्नसक्ने व्यवस्था गरिएको थियो। यही व्यवस्थामा टेकेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेका थिए।