एमाले एकता प्रयास : तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउनेबारे पनि जुटेन सहमति
नेकपा (एमाले) को एकताका लागि गरिएको पछिल्लो प्रयास पनि खेर गएको छ। पार्टीभित्रको विवाद मिलाएर अघि बढ्ने मिलनबिन्दुका रूपमा केपी शर्मा ओली र माधवकुमार नेपाल बाहेक तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्ने विषयमा भएको छलफलमा पनि सहमति जुट्न नसकेको हो।
ओली र नेपालबीचको व्यक्तिगत अहम्का कारण पार्टी विभाजनको अवस्थामा पुगेपछि पार्टी बचाउन शेरबहादुर देउवालाई विश्वासको मत नदिएर ओली र नेपाल बाहेक तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी छलफल चलेको थियो।
एमालेभित्र तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने विषयमा सहमति भए विश्वासको मत नपाइने बुझेर प्रधानमन्त्री देउवाले हतारमा विश्वासको मत लिने निर्णय गरेको विघटित कार्यदलका एक सदस्यले बताए।
“हामी प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएर तेस्रो व्यक्तिलाई अघि सार्ने विषयमा छलफल गर्दै थियौं,” ती सदस्यले भने, “त्यही सम्भावनाकै कारण हतारमा विश्वासको मत लिने निर्णय गरियो।”
विघटित कार्यदलका सदस्यहरूले आइतबार बिहान वरिष्ठ नेता नेपालसँग भेटेर पार्टी एकताका विषयमा कुरा गरेका थिए। एमालेकै तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउने विषयमा पनि नेपालले रुचि नराखेको उनलाई भेट्न पुगेका एक नेताले बताए।
एमाले स्थायी कमिटी सदस्य एवम् विघटित कार्यदलका सदस्य शंकर पोखरेलले नेता नेपालले कार्यदलले तयार गरेको प्रतिवेदनमा असहमति जनाएपछि तीन महीनाको मिहिनेत खेर गएको बताएका छन्।
एमालेबाट तेस्रो व्यक्तिका रूपमा भीम रावल, सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने गरी अनौपचारिक छलफल चलेको थियो। “हामीले अन्तिम समयसम्म मिलाउनकै लागि प्रयास गरेका छौं,” छलफलमै रहेका विघटित कार्यदलका एक नेताले हिमालखबरसँग भने, “आजै विश्वासको मत लिने सरकारको निर्णयले अप्ठेरो पर्यो। तर, हाम्रो प्रयास जारी छ।”