देउवाको पाँचौं 'इनिङ्ग्स' : छैन ठूलो अपेक्षा, बस् थप बिगार नगरिदिए हुन्थ्यो!
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका रूपमा सिंहदरबार प्रवेश गरेका शेरबहादुर देउवामाथि जनताले ठूलो अपेक्षा भने गरेका छैनन्। उनले खराब काम नगरिदिए पुग्ने विश्लेषकहरू बताउँछन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भए। ७५ वर्षमा फेरि मुलुकको बागडोर सम्हाल्ने अवसर पाएका देउवासँग यस पटक भने ठूलो अपेक्षा नराखिएको जानकारहरू बताउँछन्।
संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) भन्दा संघीय संसद्मा झन्डै आधा मात्रै सांसद भएको पार्टीका सभापति देउवा स्वयंका लागि यतिवेला सिंहदरबार प्रवेश अपेक्षित थिएन। २०७४ सालको आमनिर्वाचनबाट जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश दिएको देउवा आफैंले पटकपटक बताउँदै आएका थिए।
“देउवा स्वयम् प्रधानमन्त्री बन्छु भनेर बनेका होइनन्, एक्सिडेन्टल्ली बनेका हुन्। उनीबाट कसैले केही आश गरे जस्तो लाग्दैन, त्यसकारण जे गरे पनि खुशी हुने अवस्था छ।” - पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक
राजनीतिक र संवैधानिक घटनाक्रमको मोडका कारण प्रधानमन्त्री नियुक्त देउवासामु अहिले विभिन्न चुनौती नभएका होइनन्। देउवामाथि कोभिड–१९ महामारी नियन्त्रण, संविधानलाई ठीक बाटोमा ल्याउने, राष्ट्रपतिको भूमिकालाई पुनःपरिभाषित गर्ने, निर्वाचन र कांग्रेस महाधिवेशन गराउने लगायत जिम्मेवारी छन्। तर, उनको विगत र अहिलेको अवस्था हेर्दा गल्ती मात्रै नगरे पनि आलोचनाबाट बच्न सक्ने देखिन्छ।
विश्लेषक पुरञ्जन आचार्य देउवाले बिगार मात्रै नगरे जनताको नजरमा सफल देखिने बताउँछन्। “उनी स्वयम् प्रधानमन्त्री बन्छु भनेर बनेका होइनन्, एक्सिडेन्टल्ली बनेका हुन्,” आचार्य भन्छन्, “देउवाबाट कसैले केही आश गरे जस्तो लाग्दैन, त्यसकारण जे गरे पनि खुशी हुने अवस्था छ।”
दुई तिहाइ संघीय सांसदहरूको समर्थनमा (माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहित) सत्तारोहण गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट सर्नुअघि पटक–पटक असंवैधानिक कदम चालेको सर्वोच्च अदालतको निष्कर्ष छ। विश्लेषक आचार्य साढे तीन वर्षे बालुवाटार बसाइमा उनले लोकतन्त्र र संविधान विरोधी काम गरेको बताउँछन्।
५५ वर्षको उमेरमा पहिलो पटक देशको कार्यकारी प्रमुख बनेका देउवा चार पटक गरी ४९ महीनाभन्दा बढी प्रधानमन्त्रीको कुर्सीमा बसिसकेका छन्। निवर्तमान प्रधानमन्त्री ओली दुई पटक गरी ५१ महीना मुलुकको कार्यकारी प्रमुख बनिसकेका छन्। यसले पनि तुलनात्मक रूपमा देउवाको बढी आलोचना हुने देखिँदैन।
राप्रपाका नेता मोहन श्रेष्ठ ओलीको विकल्पको रूपमा आएका देउवाबाट पनि मुलुकले खासै अपेक्षा गर्न नसक्ने बताउँछन्। विश्वासको मत पाए पनि नपाए पनि एक किसिमले म्यादी सरकार नै भएकाले खराब काम नगर्दा मात्रै पुग्ने उनको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहन श्रेष्ठ ओलीको विकल्पको रूपमा आएका देउवाबाट पनि मुलुकले खासै अपेक्षा गर्न नसक्ने बताउँछन्। विश्वासको मत पाए पनि नपाए पनि एक किसिमले म्यादी सरकार नै भएकाले खराब काम नगर्दा मात्रै पुग्ने उनको भनाइ छ। “विगत हेरेर भन्न सकिन्छ– उनी पनि टेस्टेड र फेलर नेता नै हुन्,” श्रेष्ठ भन्छन्, “पटकपटक राजनीतिलाई विकृत बनाएको दाग लागेका उनले चाहने हो भने त्यसलाई मेटाउने अवसर भने पाएका छन्।”
सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता गणेश साह भने देउवा सरकारले कोभिड–१९ महामारी र बाढी–पहिरोको विपद्मा परेकालाई राहत र उपचारमा ध्यान दिनुपर्ने बताउँछन्। शिक्षा र रोजगारीमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।
एक महीनाभित्र विश्वासको मत पाउन सके पनि देउवा सरकारले नियमित सरकारले जस्तो काम गर्ने देखिँदैन। पूर्वमन्त्री समेत रहेका साह भन्छन्, “ओलीजीले विधिसम्मत तरिकाले सत्ता हस्तान्तरण गर्नुभएन, देउवाजीले जनता र संसद्प्रति उत्तरदायी भएर सरकार चलाए पुग्छ।”
पदमुक्त भएको भोलिपल्ट ३० असारमा बालकोटस्थित निवासमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओली एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिए। त्यसपछि पनि उनले नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरे पनि देउवाबारे केही अभिव्यक्ति दिएका छैनन्। विश्लेषक आचार्य भन्छन्, “निवर्तमान प्रधानमन्त्रीको समेत निशानामा नपर्नुको अर्थ हो, देउवाप्रति ठूलो अपेक्षा छैन।”