माओवादी पनि प्रदेश २ सरकारमा सहभागी, दुई मन्त्रीले लिए शपथ
नेकपा (माओवादी केन्द्र) पनि प्रदेश २ सरकारमा सहभागी भएको छ। माओवादीबाट नियुक्त दुई मन्त्रीले शनिबार शपथ लिएका छन्।
माओवादी सांसद भरतप्रसाद साह आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुबी कर्ण राज्यमन्त्री भएका छन्। दुवै जनालाई शनिबार आयोजित एक समारोहमा प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
यसअघि सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीले राजीनामा दिएका थिए। ज्ञानेन्द्र यादवले आन्तरिक मामिलामन्त्रीबाट र सरोजसिंह कुसवाहले राज्यमन्त्रीबाट मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका थिए।
राजीनामा दिएका दुवै मन्त्री जसपा अध्यक्ष उपेन्द्र यादव पक्षकै हुन्। माओवादी सरकारमा सहभागी हुने भएपछि दुवैले राजीनामा दिएका थिए।
यसअघि नेपाली कांग्रेस पनि प्रदेश २ सरकारमा सहभागी भएको थियो। जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारबाट हटाएर यादव पक्षले कांग्रेस र माओवादीलाई सरकारमा ल्याएको हो।