प्रिय दानिश, अब कसले सुनाउँछ तिमीले जस्तो कथा–व्यथा ?
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि भारतको रोयटर्स पिक्चर्स मल्टिमिडिया प्रमुख रहेका दानिश सिद्दीकी अफगानिस्तानको कान्दाहारमा भएको तालिवान र अफगान स्पेसल फोर्सेसबीचको भिडन्तमा शुक्रबार मारिए। पछिल्लो दशकका युद्ध, संकट र मानवीय संघर्षका उल्लेखनीय फोटो खिचेका उनलाई सन् २०१८ मा विख्यात पुलिट्जर अवार्ड समेत प्रदान गरिएको थियो।
एकै दिन, एकै तालिमबाट रोयटर्समा काम शुरू गरेका नेपालका नभेष चित्रकार दानिशसँग नजिक थिए। आफ्ना मिल्ने साथी, सहकर्मी र एक युवा फोटोपत्रकार गुमाउँदाको क्षति, उनीबाट सिक्नुपर्ने कुरा र उनीसँगका सम्झनाबारे नभेषको भनाइ:
सन् २००९-१० तिर रोयटर्सले हामी केही युवा फोटो पत्रकारलाई रिक्रुट (भर्ती) गरेको थियो। त्यही वेला ‘म्यानेजिङ होस्टाइल इन्भारोमेन्ट ट्रेनिङ’ का लागि हामीलाई बैंकक (थाइल्यान्ड) बोलाइयो, दानिशलाई मैले पहिलो चोटि त्यहीँ भेटेको थिएँ।
त्यो ट्रेनिङमा युद्ध–क्षेत्र वा द्वन्द्वग्रस्त ठाउँमा कसरी काम गर्ने भन्नेबारे सिकाइएको थियो। त्यो विशेष ट्रेनिङ थियो, हामी त्यहीँ घुलमिल भयौं र सधैंका लागि राम्रो साथी बन्यौं। हाम्रो बरोबर कुराकानी हुन्थ्यो, पछिल्लो पटक गत साता मात्रै हामी च्याटमा बोलेका थियौं।
अस्ति साँझ मात्र उसको फोटो हेरेर ‘ए अफगानिस्तान पुगेछ त’ भन्दै मैले त्यसमा रिआक्ट गरेको थिएँ।
बैंककमा हामीले एकसाथ धेरै समय बिताएका थियौं। असाइनमेन्टका लागि म मुम्बई पुग्दा उसले खूब सहयोग गर्यो। उसकै अपार्टमेन्टमा पनि बसेँ म। प्रकाश भन्ने अर्को साथी पनि थिए, हामी तीन भेट्ने, गफ गर्ने, घुम्न जाने गर्थ्यौं।
पोहोरदेखि भने भारतका लागि रोयटर्सको प्रमुख फोटोपत्रकार (चिफ फोटोग्राफर) बनेपछि दानिश दिल्ली सरेकाे थियाे ।
दानिशले जामिया मिलिया इस्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक र आमसञ्चारमा स्नातकोत्तर गरेको थियो। भिडियो रिपोर्टिङ हुँदै फोटोग्राफीमा आएर एकदमै राम्रो पर्फर्मेन्स दियो। भारतबाट भाइरल हुने अधिकांश न्युज फोटो उसकै हुन्थे। उसले खिचेका फोटो विश्वभरका मिडियाले प्रयोग गरेका छन्।
पछिल्लो पटक नयाँ दिल्लीमा कोभिडका कारण मृत्यु हुनेहरूको सामूहिक दाहसंस्कार गर्दा एउटा चौर नै शवले भरिएको अवस्था देखाउन उसले ड्रोनबाट फोटो खिचेको थियो, ती फोटोहरूले भारतमा कोभिडले निम्त्याएको भयावह अवस्था छर्लङ्गै देखाइदिए। अक्सिजन मास्क लगाएर एउटै शय्यामा सुतेका दुई जना बिरामीको फोटो पनि उसैले खिचेको हो। भारतको कोभिड कभरेजमा उसले पुर्याएको योगदान ठूलो छ।
द्वन्द्व र संकटग्रस्त अनेक ठाउँमा पुगेर उसले फोटो खिच्यो। अफगानिस्तान त यसअघि पनि गएको थियो। सन् २०१९–२०२० मा प्रजातन्त्रका लागि हङकङमा भएको आन्दोलन होस् वा २०२० को दिल्ली दंगा, २०१५ को नेपाल–भूकम्प समेत उसले कभर गर्यो। भूकम्प प्रभावित क्षेत्रमा दुई साता जति डुलेर फोटो खिचेको थियो।
तर, त्यति वेला हामीले राम्ररी भेट्न पाएनौं। यहाँ सबै अस्तव्यस्त थियो। को–को कता–कता जाने भन्नेबारे बिहानै छलफल हुन्थ्यो अनि दिनभरि हामी आ–आफ्नो क्षेत्रमा फोटो खिच्न निस्किन्थ्यौं। एकचोटि ऊ र म सँगै गाेंगबु जानुपर्ने भयो। त्यहाँको गेस्ट हाउसमा पुरिएका रमेश खत्रीको उद्धार गर्दाको फोटो हामीले सँगै खिचेका थियौं।
सन् २०१४ मा स्लामिक स्टेट (आईएसआईएस) ले उत्तरी इराकको मोसुल शहर कब्जा गरेपछि त्यो फिर्ता ल्याउन इराकी सरकारले अन्य सैन्य समूह, कर्डिस्तान रिजनल गभर्मेन्ट र अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर सैन्य अभियान सञ्चालन गरेको थियो। ब्याटल अफ मोसुल (२०१६–२०१७) ले परिचित उक्त द्वन्द्वको 'कभरेज' का लागि दानिश मोसुल पनि जान भ्यायो। उसले त्यो वेला खिचेका तस्वीर अझै चर्चित छन्।
सन् २०१८ मा म्यानमारका सैनिकले रोहिंग्या जातिलाई देश निकाला गरेपछि बर्मा र बाङ्लादेशको सीमानामा पुगेर दानिश र रोयटर्सको फोटो पत्रकार समूहले रोहिंग्यामाथि भएको हिंसा र उनीहरूले भोगेका कठोर कष्टलाई फोटोमा उतारेका थिए।
सोही कभरेजका लागि दानिशसहितको रोयटर्स टीमलाई द पुलिट्जर प्राइज फर फिचर फोटोग्राफी प्रदान गरियो। दक्षिणपूर्वी बाङ्लादेश र पश्चिम म्यानमारको बीचमा पर्ने नाफ नदी तर्दै रोहिंग्याहरू बाङ्लादेश छिरेका थिए। खोला, नाला, हिलोमा गाडिँदै उनीहरू बाटो लागिरहेका वेला थकित, गलित अवस्थाको एकदमै प्राकृत क्षण उसले क्याप्चर गरेको थियो। धेरै समयपछि म पनि त्यो नदी भए ठाउँ पुगेको थिएँ।
राेचक चाहिँ के हाे भने, क्रेडिटलाइन नआएको वेला समेत हामी उसले खिचेको फोटो चिन्न सक्छौं। ऊ धेरै अवस्थामा अरूभन्दा एक कदम अगाडि हुन्थ्यो। दानिशमा फोटो मार्फत मानिसका कथा–व्यथा सुनाउने भोक थियो।
ऊ जस्तो प्रतिभाशाली, युवा फोटोपत्रकार यसरी मारिनु समग्र पत्रकारिता क्षेत्रका लागि ठूलो क्षति हो। उसले अझै कति धेरै राम्रा काम गर्थ्यो होला, अझै उत्कृष्ट फोटो दिन सक्थ्यो होला, संसारलाई देखाउनुपर्ने चिजहरू अझै बाहिर ल्याउँथ्यो होला, अझै धेरै मिहिनेत गरेर फोटो मार्फत अनेक कथा दुनियाँलाई सुनाउँथ्यो होला। भारतको कोभिड संकटलाई उसले जसरी उजागर गरिरहेको थियो, यसका लागि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पाउँछ भन्नेमा म विश्वस्त थिएँ।
फोटोपत्रकारलाई ‘अवसरवादी, अर्काको दुःख, कष्ट, बिजोग खिच्नेहरू’ भनेर कतिपय मान्छेले आलोचना गरिरहेका हुन्छन्। तर, यो घटनाले के देखायो भने, फोटोपत्रकारहरू ज्यानको बाजी लगाएर आफ्नो काम गरिरहेका हुन्छन्। विभिन्न ठाउँ र परिस्थितिको यथार्थ संसारलाई देखाउन र सुनाउन आवश्यक हुन्छ, त्यसकै लागि हामी मरिमेट्छौं भन्ने कुरा दानिशको मृत्युले फेरि पनि प्रमाणित गरिदिएको छ।
पत्रकारमाथि औंला उठाउन सजिलो होला। तर, हामीलाई हाम्रो कामको जस समेत दिइँदैन। हामीले खिचेका फोटोहरू म्यानिपुलेट (तोडमोड) गरिन्छन्। इन्स्टाग्राममा राख्यो भन्दैमा विभिन्न पेजहरूले हाम्रो फोटो क्रेडिट समेत नदिई जथाभावी चलाइदिने गर्छन्। अब यस्ता कानूनी र नैतिक कुराहरू उठाउन एकदम जरुरी भइसक्यो। हेर्दाखेरि सजिलो, ग्ल्यामरस पेशा देखिए पनि यो त्यागको काम हाे। दुई साना बच्चाले अब कसलाई बुबा भन्छन्? पेशाप्रतिको त्यागको के याे नमूना हाेइन र?
कोभिडले यसै पनि तनाव छ, मान्छे मरेको फोटो किन खिच्छौ भनेर थुप्रै प्रश्न उठेका थिए। पहिला भुइँचालोका वेला पनि मान्छेहरूले हामीलाई गाली गरेका थिए। तर, यस्ता फोटो खिच्न किन जरुरी छ भन्ने कुरा हाम्रै फोटोले नै बताउँदै आएका छन्।
सरकारले कोभिडको स्थिति सामान्य छ, धेरै मान्छे मरेका छैनन् भनिरहेका वेला अस्पताल र आर्यघाटमा देखिएको चापबारे हामीले खिचेका तस्वीरले भयावह यथार्थ बाहिर ल्याएका थिए। भुइँचालोको वेला पनि हाम्रै तस्वीरले राहत र सहयोग ल्याउन मद्दत गरे।
नजिकको साथी गुमाउँदा मनमा ठूलो चोट लाग्यो। हिजो दिनभर कुनै पनि फोटो हेर्न सकिनँ, ऊबारे मिडियामा के–के कुरा आए, त्यो पनि हेर्न, पढ्न मन लागेन। उसले काम गर्ने क्रममै ज्यान गुमाउनुपर्यो, नमीठो लागे पनि ऊबाट हामी अभिप्रेरित हुनुपर्छ भन्ने ठान्छु म। फोटोग्राफीप्रति उसको श्रद्धा र माया हाम्रा लागि ठूलो पाठ हो।
उसले खिचेकामध्ये मलाई एकदम मनपर्ने चाहिँ ‘दिलवाले दुल्हनियाँ ले जायंगे’ हेर्दै गरेका दर्शकको फोटो हो। सन् २०१० मा उसले त्यो फोटो खिच्दा मुम्बईको मराठा मन्दिर थिएटरमा त्यो फिल्म १५ वर्षदेखि निरन्तर प्रदर्शन भइरहेको थियो। त्यहाँ फिल्म हेर्दै गरेका दर्शकको असाध्यै भावले भरिएको अनुहार र हाउभाउ उसले 'क्याप्चर' गरेको छ।
त्यो फोटोमा एउटा ठेट बलिउड प्रेम झल्किएको छ। मान्छेहरूको एक्स्प्रेसन, मुद्रा, मुस्कान कति मजाले समेटिएको छ, हेर्दै आनन्द आउने फोटो छ। उसले त्यो फोटो खिचेको अर्को साल ऊ र म सँगै मुम्बईमा फिल्म हेर्न गएका थियौं। अक्षय कुमारको फिल्म थियो त्यो चाहिँ।
अन्तिम पटकको कुराकानीमा हामीले एक–अर्काको हालखबर सोधेका थियौं। उसले नेपालमा कोभिड खोपको स्थिति के–कस्तो छ भनेर जिज्ञासा राख्यो। मैले उसका दुई साना छोरीहरूका बारेमा सोधेँ। उसकी श्रीमती जर्मन नागरिक हुन्, अहिले श्रीमती र छोरीहरू जर्मनीतिरै छन् क्यारे।
ऊ मेरो श्रीमतीलाई पनि राम्ररी चिन्थ्यो। सन् २०१३ मा बैंककमा एउटा तालीममा मैले श्रीमतीलाई सँगै लगेको थिएँ, त्यो वेला भर्खरै हाम्रो बिहे भएको थियो। दानिशले हामी दुई जनाको फोटो खिचिदिएको थियाे, सम्झँदा त्यो हिजो जस्तै लाग्छ। तर, अचम्म आज ऊ छैन।
हाम्रो पहिलो बच्चा, मेरो छोरा र उसकी छोरी सँगै जन्मिएका हुन् । उसलाई नेपाल मन पर्थ्यो । राम्रो ठाउँ छ, पछि घुम्न आउँछु भन्थ्यो। मलाई चाहिँ एउटै उमेरका भएकाले हाम्रा छोराछोरीको भेट गराउने इच्छा थियो। तर, अब ऊ नै रहेन।
प्रिय दानिश, अब कसले सुनाउँछ तिमीले जस्तो कथा–व्यथा?
(कुराकानीमा आधारित )
टेडएक्स इभेन्टमा आफूले खिचेका द्वन्द्वका तस्वीर र तिनका पछाडिका कहानी दानिशले यसरी सुनाएका थिए :