कोइराला परिवारका तीन सदस्यको ‘लन्च मिटिङ’, सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास
नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रित भएर कोइराला परिवारका तीन सदस्यबीच भेटघाट भएको छ। उनीहरूले सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास स्वरूप भेटघाट गरेका हुन्।
शनिबार महाराजगन्जस्थित कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा डा.शेखर कोइराला र नेत्री सुजाता कोइरालाको ‘लन्च मिटिङ’ भएको हो। महाधिवेशन केन्द्रित भेटघाटमा साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको कांग्रेस स्रोतले जनाएको छ।
“आगामी महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयास स्वरूप तीनै जनाको छलफल भएको हो,” उनीहरू निकट स्रोतले भन्यो। छलफल सकारात्मक भएको जनाइएको छ।
कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुने तय गरिएको छ। त्यसका लागि डा. शशांक र डा. शेखरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेत्री कोइरालाले पनि मुख्य पदमा उम्मेदवार बन्ने बताउँदै आएकी छिन्।
डा. शशांक र डा. शेखरमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने विषयमा तीनै जनाबीच छलफल भएको छ। “एक जनालाई साझा उम्मेदवार बनाउने विषयमा तीनै जना सकारात्मक देखिएका छन्,” कोइराला परिवार निकट स्रोतले हिमालखबरसँग भन्यो।
उनीहरूको छलफल नियमित जस्तै भएको डा.शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। “यो भेटघाट नियमित जस्तै हो। उहाँहरूबीच महाधिवेशनका विषयमा छलफल भएको छ,” थपलियाले हिमालखबरसँग भने। यससँगै क्रियाशील सदस्यताका विषयमा पनि छलफल भएको उनले बताए।
डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले पनि नियमित भेटघाट जस्तै भएको बताए। “यो पारिवारिक भेटघाट जस्तै हो। नेता भएकाले राजनीतिक विषयमा कुराकानी हुने नै भयो,” तिवारीले भने।