चीनबाट १५ साउनसम्म ३२ लाख डोज खोप आउँदै
कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको ३२ लाख डोज आउन लागेको जनाउँदै आफ्नो पालो पर्खन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
यसअघि चीनबाट २८ लाख खोप आइसकेको छ। चीन सरकारले १८ लाख खोप अनुदानमा दिएको छ भने १० लाख खोप खरीद गरेर ल्याइएको छ।
शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिन लागिएको जानकारी दिएकी छिन्। त्यस बाहेक नेपाल सरकारले खरीद गरेको खोप आउन लागेको हो।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ६ साउनदेखि चीनबाट खोप आउन लागेको जनाएको छ। १५ साउनभित्र ३२ लाख डोज खोप आउन लागेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले जनाएका छन्।
स्वास्थ्य मन्त्रालयले भनेको छ– आगामी साउन ६ गतेबाट मित्रराष्ट्र चीनबाट खरीद गरिएका थप खोपहरू आउने र साउन १५ गतेभित्र कम्तीमा ३२ लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरू नेपाल आउने क्रम जारी रहनेछ।
अहिले भेरोसेलको खोप लगाउन थालिएको छ। केही जिल्लामा खोप अभाव भएको भन्दै रोकिएको छ भने केही जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको छ।
केही ठाउँमा उमेर नपुगेका व्यक्तिले पनि खोप लगाएको खबर आएपछि स्वास्थ्य मन्त्रालयले खोप अभियानमा सहभागी हुन र आफ्नो पालो पर्खन अनुरोध गरेको हो।
अहिले ५० देखि ५४ वर्षसम्मका नागरिकलाई भेरोसेल खोप लगाइँदै छ। त्यसपछि अन्य समूहलाई लगाइने भएको छ।
यससँगै यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकलाई पनि दोस्रो डोज लगाउने व्यवस्था भएको डा. अधिकारीले जनाएका छन्। ''कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनुभएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरूका लागि दोस्रो मात्राको खोपको व्यवस्था भइसकेको छ,'' स्वास्थ्य मन्त्रालयले भनेको छ, ''केही दिनमै ती खोपहरू प्राप्त भई प्रतीक्षामा रहनुभएका सबैलाई दोस्रो मात्रा उपलब्ध गराइनेछ।''