अन्तिम पात
ओ. हेनरी (११ सेप्टेम्बर १८६२ - ५ जून १९१०) अमेरिकी कथाकार हुन्। खासगरी छोटा कथा लेखनबाट ख्याति कमाएका हेनरीको वास्तविक नाम विलियम सिड्नी पोर्टर हो। अप्रत्याशित अन्त्य उनको कथाको विशेषता हो। आफ्नो समयमा हेनरीलाई प्रख्यात फ्रेन्च कथाकार मोपासाँको 'अमेरिकी जवाफ' भनिन्थ्यो। दुवै कथाकारको कथामा आश्चर्यजनक अन्त्य पाइए पनि हेनरीका कथाहरू विनोदप्रिय र परिहासयुक्त वर्णनका लागि पनि चिनिन्छन्। उनका अधिकांश कथाहरू उनकै समय अर्थात् २०औं शताब्दीको शुरूआतको परिवेशमा लेखिएका छन्। 'परदेशी साहित्य' शृंखलामा यस पटक ओ. हेनरीको चर्चित कथा 'द लास्ट लिफ' को अनुवाद 'अन्तिम पात' प्रस्तुत छ।
शहरको एउटा भाग, वाशिङ्टन स्क्वायरको पश्चिममा बाटाहरू छरिएका छन्। ती बाटाहरू विभिन्न दिशातिर दौडेका छन्। शहरको यही भागमा ग्रीनविच भन्ने गाउँ छ। अनि यहाँ चित्रकारहरू आएर बस्न थाले। तिनीहरूले चाहेका घरहरू यहाँ थिए। ती घरहरू प्रशस्त उज्याला थिए। बहाल सस्तो थियो।
सुरी र जुनी एउटा भवनको माथिल्लो तलामा बस्थे। एउटी चाहिँ मेन शहरबाट आएकी थिई, अर्की चाहिँ क्यालिफोर्नियाबाट। तिनीहरूको पहिलो भेट एउटा रेस्टुराँमा भएको थियो। त्यहाँ तिनीहरूको आपसमा परिचय भयो। दुवैका सबै कुरा मिल्थे। दुवै एकै किसिमका खाना खान्थे। दुवै एकै किसिमका लुगा लाउँथे। यसैले ती दुई नारी चित्रकारहरूले सँगै बसेर काम गर्ने निश्चय गरे।
उनीहरूको यो भेटघाट अप्रिल महीनामा भएको थियो।
ठन्डा महीनामा त्यस ग्रीनविच गाउँमा एउटा चिसो आगन्तुक आयो। यताउता घुम्दै त्यो आफ्ना चिसा हातले मानिसहरूलाई छुँदै हिँड्न थाल्यो। त्यो आगुन्तक एउटा नराम्रो रोग थियो। डाक्टरहरूले त्यसलाई निमोनिया भन्थे। शहरका पूर्वतिर त्यसले धेरै मानिसलाई समात्यो। ग्रीनविच गाउँमा पनि यो आयो।
क्यालिफोर्नियाबाट आएकी दुब्ली जुनीलाई पनि निमोनियाले समात्यो। ऊ ओछ्यानमा हल-न-चल भई लडी। ऊ झ्यालबाट बाहिर एक टक लाएर हेर्न थाली।
एक बिहान त्यहाँको एक जना व्यस्त डाक्टरले सुरीलाई एक्लै बोलाएर भन्यो, "उसको बाँच्ने आशा निकै कम छ। उसले बाँच्ने इच्छा गरी भने मात्र ऊ बाँच्न सक्छे। कोही मान्छे बाँच्न चाहँदैनन् भने म उनीहरूका निम्ति केही गर्न सक्तिनँ। तिम्री यी साथीले जाती हुन नखोज्ने विचार गरेकी छे। उसलाई के दु:ख छ, भन्न सक्छयौ?"
“ऊ इटाली जान चाहन्थी र त्यहाँ गएर नेपल्सको चित्र बनाउन चाहन्थी," सुरीले भनी।
"चित्र ? चित्र होइन। उसलाई केको चिन्ता छ, भन त। उसको कुनै केटो छ?”
“केटो ?” सुरीले भनी, “केटाका लागि यस्तो हुनु? होइन डाक्टर! उसको कुनै केटो छैन।”
“उसो भए यो कमजोरी हो," डाक्टरले भन्यो, “म सकभर कोशिश गर्नेछु। तर, रोगीले मर्छु नै भनेर सोच्न थाल्यो भने मेरो काम बेकार हुन्छ। ऊसित नयाँ लुगाहरूका विषयमा कुरा गर। उसले आफ्नो भविष्यमा चासो राखी भने उसको बाँच्ने धेरै आशा छ।”
डाक्टर गएपछि सुरी आफ्नो कोठामा गई। उसले ब्रुश र रङहरू बोकेकी थिई। अहिले ऊ गाउन थाली।
जुनी सुतिरहेकी थिई। ऊ खूबै दुब्ली र अत्यन्त शान्त देखिन्थी। उसको अनुहार झ्यालतिर फर्केको थियो। जुनी सुतेकी छे भन्ने सोचेर सुरीले गाउन छोडी।
अहिले जुनीका आँखा खुलै थिए। ऊ झ्यालतिर हेरिरहेकी थिई र अहिले गनिरहेकी थिई।
“बाह्र,” उसले भनी। फेरि एकछिनपछि “एघार” अनि फेरि “दश”, “नौ” अनि केही पछि “आठ", “सात" ... ... ... झन्डै सँगसँगै भनी।
सुरीले झ्यालबाट बाहिर हेरी। त्यहाँ जुनीले के गनेकी होली? त्यहाँ त अर्को घरको भित्ता मात्र थियो। त्यहाँ भित्ताको छेउमा एउटा बूढो रूख थियो। ठन्डी महीनाको चिसोले यसलाई भेटिसकेको थियो। यसका हाँगाबाट पातहरू प्रायः झरिसकेका थिए।
“के गनेकी, जुनी?" सुरीले सोधी।
"छ,” जुनीले भनी, "त्यो अहिले कति छिटो-छिटो जाँदै छ। तीन दिनअघि त्यहाँ प्रायः एक सय वटा थिए। अहिले गन्दा-गन्दा मेरो टाउको पनि रन्किसक्यो। अहिले त्यहाँ धेरै कम छ। उ: एउटा फेरि गयो। अब त पाँच वटा मात्र छन्।”
"पाँच वटा के जुनी? भन न, तिम्री सुरीलाई भन न।”
"पातहरू। उ: त्यो रूखमा। जब अन्तिम पात झर्छ, म पनि त्यही वेला मर्छु। म जान्दछु, त्यो कुरा म जान्दछु तीन दिनदेखि। डाक्टरले के तिमीलाई भनेन?”
उसले फेरि झ्याल बाहिर हेरी। "उ: ... ... फेरि अर्को गयो। अहँ, म केही खान चाहन्नँ। अब त्यहाँ चार वटा मात्र छन्। रात पर्नुअघि नै म त्यो आखिरी पात झरेको हेर्न चाहन्छु। त्यसपछि म पनि जानेछु।"
सुरीले भनी, “कस्तो कुरा गरेकी जुनी? मैले त यस्तो कुरा कहिल्यै सुनेकै छैन। बूढो रूख र तिमीमा के सम्बन्ध छ र? अथवा तिमी जाती हुनुसित यसको के सम्बन्ध छ र? तिमीले त यो रूखलाई कति मन पराउँथ्यौ। यति मूर्ख चाहिँ नहोऊ है। डाक्टरले तिमी निको हुने धेरै आशा छ भनेको छ। उसले मलाई आज बिहान भनेको हो। उसले त तिमी जाती हुनेछौ नै भनेको छ। अब अलिकति खान थाल अनि म काम गर्न थाल्नेछु। चित्रहरू बेच्नेछु अनि तिम्रा लागि राम्रा-राम्रा खानेकुरा किन्नेछु।”
“तिमीले मेरा लागि अब केही किन्नुपर्दैन," जुनीले भनी।
उसले फेरि झ्याल बाहिर हेरी। "उ: ... ... फेरि अर्को गयो। अहँ, म केही खान चाहन्नँ। अब त्यहाँ चार वटा मात्र छन्। रात पर्नुअघि नै म त्यो आखिरी पात झरेको हेर्न चाहन्छु। त्यसपछि म पनि जानेछु।"
सुरीले भनी, "प्रिय जुनी, आँखा बन्द गर त। त्यति कुरा मान्छयौ? मैले काम नसकुन्जेल झ्यालबाहिर नहेर है। भोलिसम्ममा मैले यो चित्र तयार पारिसक्नुपर्छ। मलाई उज्यालो चाहिन्छ। झ्यालमा पर्दा लाउन सक्तिनँ।"
"के तिमी अर्को कोठामा गएर काम गर्न सक्तिनौ?" जुनीले रुखो स्वरमा भनी।
"म यहाँ तिमीसितै बस्न चाहन्छु। तिमीले ती पातहरू हेरेको मलाई मन पर्दैन," सुरीले भनी।
"तिमीले काम सक्ने बित्तिकै मलाई भन। किनभने म त्यो आखिरी पात खसेको हेर्न चाहन्छु। मैले धेरै पर्खेँ। मैले धेरै सोचिसकेँ। म ती पातहरू जस्तै तल-तल बग्न चाहन्छु,” जुनीले भनी अनि आँखा चिम्म गरेर सुती।
“तिमी निदाउने कोशिश गर,” सुरीले भनी, “म यहाँ बरमानलाई बोलाएर ल्याउँछु। यो चित्रमा एउटा लोग्नेमान्छेको चित्र बनाउनुपर्छ मैले। अनि त्यो बरमान जस्तै देखिनेछ। म एकैछिनमा आइहाल्छु। म नआउन्जेल यता-उता केही नगर नि!"
बूढो बरमान त्यही घरको तल्लो तलामा बस्ने एक जना चित्रकार थियो। ऊ साठी पुगिसकेको थियो। चित्रकारका रूपमा ऊ सफल भएन। चालीस वर्षसम्म उसले चित्र कोरिरह्यो। तर, एउटै पनि राम्रो चित्र कोर्न सकेन। उसले सधैं एउटा महान् चित्र, एउटा महान् कृति बनाउने कुरा गर्थ्यो। तर, उसले त्यो शुरू गर्न सकेको थिएन।
उसले चित्र बनाएर केही पैसा पाउँथ्यो। तर, त्यो पैसा उसले पिएरै सक्थ्यो। अझ पनि ऊ एउटा महान् चित्र नबनाई मर्दिनँ भन्थ्यो।
ऊ सुरी र जुनीलाई सहायता गर्नु आफ्नो कर्तव्य हो भनिठान्थ्यो।
बरमान करायो, “म आउँदिनँ भनेर कसले भन्यो? म त जान्छु, तिमीसितै जान्छु। हे ईश्वर! जुनी जस्ती केटी बिरामी हुने ठाउँ त यो होइन। कुनै दिन म आफ्नो महान् कृति रच्नेछु। अनि त्यसपछि हामी सबै यहाँबाट जानेछौं।”
सुरी जाँदा बरमान अँध्यारो कोठामा धुमधुमती बसिरहेको थियो। उसले बुझी, ऊ त्यहाँ बसेर पिइरहेको छ। उसले रक्सीको गन्ध चाल पाई। उसले बरमानसित जुनी र रूखका पातहरूका विषयमा कुरा गरी। उसले भनी, त्यो रूखको अन्तिम पात खसेपछि ऊ मर्नेछे भन्ने जुनीलाई लागेको छ।
यस्तो कुरा सुनेर बरमान झोक्कियो। “के?” ऊ करायो, “यस्ता मूर्खहरू पनि यहाँ छन्? रूखबाट पात झर्यो भन्दैमा मान्छे मर्छ? यस्तो कुरा त मैले सुनेकै छैन। अहँ, म त त्यहाँ जान्नँ। तिमीले मेरो चित्र बनाउनु पनि पर्दैन। किन तिमीले उसलाई यस्तो विचार गर्न दिएकी? बिचरी जुनी!"
"जुनी एकदमै दुब्ली र कमजोर भएकी छे,” सुरीले भनी, “यही कमजोरीले गर्दा उसको मनमा यस्ता अचम्मको विचार उत्पन्न भएको हो। बरमान, तिमी आउँदैनौ भने नआऊ। तर, तिमी राम्रो मान्छे चाहिँ होइनौ।”
बरमान करायो, “म आउँदिनँ भनेर कसले भन्यो? म त जान्छु, तिमीसितै जान्छु। हे ईश्वर! जुनी जस्ती केटी बिरामी हुने ठाउँ त यो होइन। कुनै दिन म आफ्नो महान् कृति रच्नेछु। अनि त्यसपछि हामी सबै यहाँबाट जानेछौं।”
तिनीहरू जुनीको कोठामा आए। जुनी निदाइरहेकी थिई। सुरीले झ्यालमा पर्दा लगाई अनि बरमानलाई अर्को कोठामा लगेर त्यहाँको झ्यालबाट उनीहरूले डराउँदै बाहिरको रूख हेरे अनि उनीहरूले एकछिन नबोलीकन एक-अर्कालाई हेरिरहे। बाहिर पानी पर्दै थियो। अलि-अलि हिउँ पनि झर्दै थियो।
बरमान बस्यो। सुरीले चित्र बनाउन थाली।
रात परेपछि बरमान गयो। सुरीले राति धेरै बेरसम्म चित्र कोरिरही।
बिहान एक घण्टा जति सुतेर सुरी जुनीको ओछयानमा गई। जुनी आँखा खुल्लै झ्यालतिर हेरिरहेकी थिई। “म हेर्न चाहन्छु,” उसले सुरीलाई भनी।
सुरीले झ्यालको पर्दा हटाई।
रातभरिको झरी र बतासपछि पनि त्यो रूखमा एउटा पात थियो। रूखमा त्यो अन्तिम पात थियो। हाँगाका छेउतिर अझै हरियो थियो, तर छेउमा पहेंलो भइसकेको थियो। भुइँदेखि प्राय: बीस फिटमाथि हाँगामा यो पात झुन्डिरहेको थियो।
"यो आखिरी पात हो। रातभरमा यो झर्यो होला भन्ने सोचेकी थिएँ। आज त यो अवश्य झर्नेछ अनि म पनि त्यही वेला मर्नेछु,” जुनीले भनी।
"मेरी प्यारी जुनी, मलाई सम्झ है। तिमीले आफैंलाई नसम्झे पनि। तिमी छैनौ भने म के गर्नु भन त?" सुरीले भनी।
तर, जुनीले केही उत्तर दिइन। संसारमा सबभन्दा एक्लो चीज त्यही आत्मा हो, जो सुदूर यात्रामा जान तर्खर गरिरहेको हुन्छ। मित्रहरू र संसारसित जुन उसका सम्बन्धहरू थिए, ती एक-एक गर्दै भत्कन थाल्छन्।
त्यो दिन बिस्तारै बित्यो। रात पर्न लाग्दा उनीहरूले अझै त्यो पात भित्ताको हाँगामा झुन्डिरहेको देखे। रात परेपछि बतास चल्न थाल्यो। पानीले झ्यालमा हिर्काउन थाल्यो।
"म कति नराम्री छु नि, सुरी,” जुनीले भनी, “म कति नराम्री छु भन्ने देखाउन त्यो पात त्यहीँ अल्झिरहेको छ। मर्न चाहनु पनि एउटा भूल रहेछ। अब म यो विचार छोड्नेछु।
भोलिपल्ट बिहान उज्यालो भएपछि जुनीले झ्यालबाट बाहिर हेरी।
पात अझै त्यहीँ थियो।
जुनी त्यसलाई हेर्दै बसिरही। एक छिनपछि उसले सुरीलाई बोलाई। सुरी उसैका निम्ति खाना तयार गरिरहेकी थिई।
"म कति नराम्री छु नि, सुरी,” जुनीले भनी, “म कति नराम्री छु भन्ने देखाउन त्यो पात त्यहीँ अल्झिरहेको छ। मर्न चाहनु पनि एउटा भूल रहेछ। अब म यो विचार छोड्नेछु। अहिले म केही खान चाहन्छु। तर, पहिले मलाई ऐना देऊ। म आफैंलाई हेर्न चाहन्छु। त्यसपछि म उठेर बस्नेछु र तिमीले पकाएको खानेछु।”
खाना खाएपछि जुनीले भनी, “सुरी, म कुनै दिन इटाली जानेछु र नेपल्सको चित्र कोर्नेछु।”
दिउँसो डाक्टर आयो। जुनीलाई जाँचेपछि सुरी उसैको पछिपछि बाहिर आई र ऊसित कुरा गर्न लागी।
"अब त जुनी निकै जाती भइछे," डाक्टरले भन्यो। उसले सुरीको पातलो काम्दै गरेको हात आफ्नो हातमा लियो, "उसलाई राम्ररी हेर्नु। अब त केही डर छैन। अहिले यही भवनमा मैले अर्को बिरामी हेर्नु छ। उसको नाम बरमान हो। शायद ऊ चित्रकार हो। उसलाई पनि निमोनियाले समातेको छ। त्यो बूढो निकै बिरामी छ। उसको बाँच्ने आशा थोरै छ। तैपनि आज हामी उसलाई अस्पताल लैजानेछौं। त्यहाँ उसलाई धेरै आराम हुनेछ।”
अर्को दिन डाक्टरले जुनीलाई जाँच्यो र सुरीलाई भन्यो, "तिम्रो स्याहार पाएर जुनी त अब निको भई। उसले राम्रो खाना र राम्रो स्याहार पाई।"
त्यही दिउँसो सुरी जुनीको ओछ्याननेर आई र उसलाई अँगालेर भनी, “तिमीलाई एउटा कुरा भन्नु छ। आज अस्पतालमा बरमानको मृत्यु भएछ। उसलाई निमोनिया लागेको थियो। उसलाई किन निमोनिया लाग्यो, तिमीलाई थाहा छ? मैले उसको चित्र कोरेको रात ऊ बाहिर गएछ र पानीमा भिज्नसम्म भिजेछ। मानिसहरूले उसका केही चिजहरू भेटे। उसले बाहिर बत्ती लगेको रहेछ। त्यहाँ उसका रङ र ब्रशहरू पनि रहेछन्। अनि … … …. हेर त जुनी, झ्यालबाट देखिने परको भित्तामा त्यो आखिरी पात। रूखमै झुन्डिएको जस्तो देखिन्छ, होइन त? यत्रो बतास चल्दा पनि त्यो पात नहल्लेको देख्दा तिमीलाई अचम्म लाग्दैन? अहो, मेरी मायालु जुनी, त्यो बरमानको महान् कृति हो। उसले बनाएको चित्र हो। त्यही रात उसले बनाएको थियो, जुन रात त्यो आखिरी पात झर्यो।"
अनुवाद: राजनारायण प्रधान (एडुकेशनल इन्टरप्राइजबाट प्रकाशित 'विश्वका महान् कथाहरू 'भाग २ बाट।)