महान्यायाधिवक्ताको शपथ सर्वोच्चमा
राष्ट्रपति भवन शीतलनिवासमा हुने गरेको महान्यायाधिवक्ताको शपथ ग्रहण यस पटक भने सर्वोच्च अदालतमा गर्न लागिएको छ।
नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सर्वोच्च अदालतमा शपथ ग्रहण गराउन लागिएको हो। शपथ ग्रहणको तयारी भइरहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए।
महान्यायाधिवक्तालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयनताको शपथ ग्रहण गराउनेछन्।
यसअघि महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपति भवन शीतलनिवासमा हुँदै आएको थियो। राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने गरेका थिए।
यस पटक भने राष्ट्रपति कार्यालयले शपथ ग्रहण कार्यक्रम नराख्ने जानकारी सर्वोच्च अदालतलाई दिएको छ। राष्ट्रपतिले गराउने बाहेकका शपथ ग्रहणका कार्यक्रम अबदेखि राष्ट्रपति कार्यालयमा नगर्ने शीतलनिवासले जवाफ दिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएकाे छ।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम नराख्ने खबर आएपछि सर्वोच्च अदालतमा तयारी थालिएको हो। केही बेरमा प्रधानन्यायाधीश जबराले नवनियुक्त महान्यायाधिवक्ता खातीलाई शपथ ग्रहण गराउने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा ३१ असारमा खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।