राष्ट्रपतिद्वारा ३ साउनमा संसद् अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ साउनमा संघीय संसद्को अधिवेशन आह्वान गरेकी छिन्।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्। ३ साउन दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन्।
आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गरी सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो। त्यही आदेश अनुसार, मन्त्रिपरिषद्ले संसद् बैठक बोलाउन सिफारिश गरेको थियो।