चन्द समूहका नेता वलीलाई छाड्न सर्वोच्चको आदेश
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा भनिएको छ, “निवेदक हेमन्तप्रकाश वलीको हकमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुनेगरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षका लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला।”
हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका वलीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनी त्यसविरुद्ध उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेको थियो।
स्वास्थ्य अवस्था बिग्रिई मुटुको उपचार चलिरहेकाले थुनछेकको आदेश बदर गर्न माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए। उनको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार चलिरहेको छ।
कोरोना महामारीका वेला जीवन रक्षार्थ अस्पताल भर्ना भएको अवस्थामा थुनामा राख्न मनासिब नभएको भन्दै सर्वोच्चले पुर्पक्षका लागि साधारण तारेखमा छाड्न आदेश दिएको हो।
सर्वोच्चको आदेशमा भनिएको छ, “जीवन रक्षार्थ मानवीय दृष्टिकोणबाट संवेदनशील भई अस्पताल भर्ना भएको अवस्थामा निजलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु भनी मिति २०७६/२/१० को ललितपुर जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनबाट निजको हकमा मिति २०७६/१०/१६ मा बेरीतको नदेखिई सदर गरेको व्यहोरा हालको निजको स्वास्थ्यको कारण जीवन रक्षार्थ मानवीय दृष्टिकोणले बेमनासिब भई बेरीतको देखिँदा बदर गरिदिएको छ।”