लामो दूरीका गाडी अझै १० दिन नचल्ने
कोभिड-१९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक यातायातका साधन अझै १० दिन नचल्ने भएका छन्।
बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं आउने र जाने लामो दूरीका सार्वजनिक यातायातका साधनमा लगाएको रोक यथावत् राखेको छ। काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणको जोखिम यथावत् रहेकाले लामो दूरीका सवारी साधन खुला नगरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
काठमाडौं उपत्यकामा १० साउनसम्म निषेधाज्ञा थपिएको छ। यो अवधिमा अत्यावश्यक विशेष कामले सर्वाजनिक तथा निजी सवारी साधनलाई काठमाडौं उपत्यकामा आवतजावत गर्न भने दिइने उनले जनाएका छन्।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा सम्बन्धी आदेशमा पनि अत्यावश्यक कामका लागि भने आउन जान दिने उल्लेख छ।
काठमाडौं उपत्यकामा भने सार्वजनिक यातायातका साधन यथावत् सञ्चालन हुनेछन्। स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको छ भने क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन।