मिथिला कला: मधेशको जीवन
मिथिला संस्कार र सभ्यतासँग गाँसिएर आउने नाम हो, जनकपुरधाम। कलामा धनी मिथिला क्षेत्रको समृद्धि भाषा, चाडपर्व, धार्मिक अनुष्ठान, रहनसहन र चित्रकलामा पाउन सकिन्छ।
राजा जनकले छोरी सीतासँग विवाह गर्न आएका रामलाई स्वागत गर्न जनकपुरका भित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्ती छ। त्यही मिथिला लोकचित्रले मिथिला सभ्यताको मौलिकतालाई धानेको छ।
यस्ता चित्र सामान्यतः बिहे, पूजा, व्रत-त्योहार आदिमा बनाउने चलन थियो। शुरूआतमा यो कला ग्रामीण क्षेत्रका महिलाले घर, पर्खाल, भुइँ र आँगनमा माटो, पिठो, गोबर आदिले बनाउने गर्थे। विशेषतः चाडपर्वमा पूजा-आराधनाका लागि चित्र कोर्ने गरिन्थ्यो। महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई पनि ती चित्र मार्फत व्यक्त गर्ने गर्थे।
शताब्दीऔँ अघि घर-आँगन सुन्दर र आकर्षक बनाउन भुइँ र भित्तामा पोतिएका चित्रले आजको आधुनिक समाजमा महिला स्वतन्त्रतालाई पनि बल पुर्याएको छ। आत्मसम्मान दिएको छ। आर्थिक रूपले बलियो बनाएको छ।
जनकपुरकी मधुमाला मण्डललाई आफ्नो घुम्टो उघारेर शिर उच्च गरी स्वतन्त्र भएर हिँड्ने आत्मबल मिथिला चित्रकलाले नै दियो। बाल्यावस्थामा उनलाई हजुरआमा र आमाले घर शृंगार गर्न, दैलो, भित्ता र आँगनमा अनेक देवीदेवताका चित्र कोर्न लगाउँथे। मिथिला चित्रकला के हो भन्ने नबुझ्दै उनले माटोको आकृति र चित्र बनाइन्। सजावटका यस्ता काम महिलाका भागमा पर्थे।
अहिले त्यही कलाले स्वतन्त्र भएर बाँच्न बल दिएको उनी बताउँछिन्। पहिले घर बाहिर निस्केर चित्र कोर्नु कलाकारिता कम, डर बढी थियो। अहिले त्यस्तो छैन। २५ वर्षदेखिको मिहिनेतले आत्मबल प्राप्त भएको बताउँदै मधुमाला भन्छिन्, “मैले अमेरिका, हङकङ धेरै देशमा चित्र प्रदर्शनी गरिसकें। अब डर छैन। राम्रो कसरी गर्नेर? त्यो मात्र चिन्ता हुन्छ।”
यो काम शुरूआतमा परिवार र समाजले मन पराएका थिएनन्। समाजमा रहेको ‘महिला घर बाहिर निस्कनु भनेको खराब काम गर्नु निस्कनु हो’ भन्ने धारणा बदल्न २५ वर्ष लागेको उनी सुनाउँछिन्। घरका भित्ता छाडेर कागजमा चित्र कोर्न थालेदेखि हिम्मत बढेको बताउँदै उनी भन्छिन्, “मेरो आत्मबल त्यस वेला बढ्यो, जुन वेला सबैले मेरो चित्रकला मन पराएर मधुमालाले गर्नसक्छे भनिदिनुभयो।”
मधेश, अझ जनकपुरधाममा मिथिला चित्रकला मार्फत आफ्ना अभिव्यक्ति प्रस्तुत गर्ने काममा महिलाको बाहुल्य देखिन्छ। मधुमालाकी हजुरआमा र आमा पनि मिथिला चित्रकलाका पारखी थिए। मधुमाला जन्मे–हुर्केको जनकपुरधामको कुवा गाउँ केन्द्र थियो। त्यहाँ छोरीलाई बाल्यकालदेखि नै मिथिला संस्कारसँग घुलमिल गराइन्थ्यो।
मधुमालामा पनि मिथिला चित्रकलाको भोक त्यहींबाटै जागेको हो। बाल्यकालदेखि नै मूर्ति र चित्र बनाउँथिन्। “गाई चराउन जाँदा, खेत छिल्दा भुइँमै मूर्ति बनाउने गर्थें। रंग विना नै सबै किसिमका चित्र बनाउन जानेकी थिएँ,” मधुमाला बाल्यकाल सम्झन्छिन्।
गोबर र माटोले आँगन र भित्तामा देवता, फूल, पात, रूखको आकृति कोरेको सम्झना ताजै छ। अब भने उनले बनाएका चित्र जनकपुरधाममा मात्र सीमित छैनन्। संसारका विभिन्न देशका मानिसको घरमा सजिएका छन्। तथापि उनलाई पढ्न नपाएकोमा भने थकथकी लाग्छ।
मधुमाला कहिल्यै स्कूल जान पाइनन्। त्यति वेला ‘छोरीलाई पढाउनु हुँदैन’ भन्ने मानसिकताले उनलाई पनि स्कूल जानबाट वञ्चित गरायो। पढेको भए, चित्र बनाउँदा अझै अध्ययन गरेर बनाउन पाइन्थ्यो भन्ने लाग्छ, उनलाई। “पढ्न नपाएकाले होला, चित्र बनाउन कल्पनाशक्तिको भर पर्छु। हरेक समय चित्र र यसले दिने सन्देश कल्पना गरेर बनाउँछु। जस्तै, गरीब मान्छे साइकलमा गएको, धनी जहाजमा यसरी नै संकेत गर्छु,” उनी चित्र कोर्नुअघिको तयारी सुनाउँछिन्।
आफूले पढ्न नपाए पनि छोरीलाई भने स्नातकसम्म पढाइन्। जुन जीवनको सबैभन्दा ठूलो उपलब्धि, सुख र सन्तुष्टि भएको उनी बताउँछिन्। “चार जना भाइले पढ्दा मैले पढ्न पाइनँ,” मधुमाला भन्छिन्, “त्यसैले छोरी पढाउनुपर्छ भन्ने लाग्यो। चित्रकलाको आम्दानी र सम्मानले आँट आयो।”
यस्तै, मिथिलेश्वरीदेवी कर्ण पनि अक्षर चिन्दिनन्, तर मिथिला चित्रका आकृति र स्वरूपमा उनको दख्खल छ। उनका लागि आमा शिक्षक, मिथिला संस्कार, कला विद्यालय र भुइँ अनि भित्ता पाठयक्रम भए। मिथिलेश्वरी सम्झन्छिन्, “अरिपन, कोवर, माछा, चरा, रूख, घाम, सूर्यका चित्र शुरूआतमा दैलो र भित्तामा कोरेकी थिएँ।”
भनिन्छ, कला कुनै एक ठाउँमा सीमित हुँदैन। भारतको बिहारका केही ठाउँ मिथिला नगरी भनेर आज पनि चिनिन्छन्। मिथिला संस्कारका लागि धनी भारतको मधुवनीमा जन्मे-हुर्केर विवाह गरी जनकपुधाम आएकी उनको कलालाई देशले फरक पारेन। अझ मधुवनी चित्रकलालाई त फरक पार्ने कुरै थिएन। बरु त्यही कलाले उनको जीवनमा पटक पटक सम्मान थपिरह्यो।
उनले अघिल्लो वर्ष मात्र ललितकला प्रज्ञा प्रतिष्ठानबाट सम्मान पाएकी छिन्। यस कलामा सम्मान छ, आम्दानी छ। सबैभन्दा ठूलो आत्मसन्तुष्टि छ। तैपनि महिलालाई घरको चार घेरा नाघ्न नदिने समाजले मिथिलेश्वरीलाई घरीघरी शिथिल बनाइरह्यो। केही समयअघि चित्रकला प्रदर्शनका लागि उनी जापान जाँदा समाजले राम्रो मानेन। भन्छिन्, “तर, म जसले जसो भने पनि जबर्जस्ती गएँ। राम्रो–नराम्रो भन्दै गर्छन् भन्ने ठानेँ।”
घर बाहिर व्यावसायिक रूपले मिथिला चित्रकला बनाउन तराईमा अझै पनि महिलालाई पहिला सामाजिक र पारिवारिक बन्धनसँग लड्नुपर्छ। जुन मिथिलेश्वरीले पनि गरिन्। तर, उनको कलालाई समाज, परिवार, चुलोचौको कुनैले पनि रोक्न सकेनन्।
लामो समय नारी विकास केन्द्रमा प्रशिक्षण दिएकी उनी अहिले भने आफ्नो शोखका लागि मात्र चित्र कोर्छिन्। ६५ वर्षको उमेरमा पनि मिथिला चित्रकलाप्रतिको लगाव उस्तै देखिन्छ। अहिलेसम्म प्रत्येक दिन उनको हातमा रंग र ब्रस टुटेको छैन। त्यसैले त आत्मसन्तुष्टिका लागि वेलावेला उनी कागज र भित्तामा आकृति भरिरहन्छिन्।
मिथिला र कला
हुनत मिथिला नगरीको जीवनशैलीमा महिलाले मिथिला चित्रकलामा दख्खल राख्नु नौलो मानिँदैन। किनकि, यहाँको सभ्यताको शुरूआतमै लोककलासँग महिला जोडिएका थिए। तैपनि, व्यावसायिक रूप दिन लामो समय पर्खनुपर्यो।
सन् १९८० पछि मिथिला हस्तकलाको सुवास दुनियाँभर फैलन थाल्यो। यसको श्रेय प्राध्यापक राजेन्द्र विमल र अमेरिकी कलाप्रेमी क्लेयर बुर्कर्टलाई जान्छ। दुवैले जनकपुर क्षेत्रका भित्तेचित्रको अभिलेख राखे।
उनीहरूकै अग्रसरतामा सन् १९९२ मा जनकपुरमा जनकपुर नारी विकास केन्द्र स्थापना भयो। यसले मिथिला लोककलाको आयु त थप्यो नै, चित्रकारले पारिश्रमिक पाउन थाले। जसले महिलालाई आर्थिक रूपले सबल बनायो। यही नारी विकास केन्द्रमा तालीम र काम पाएका महिलाले मिथिला चित्रकलालाई संसारभर प्रख्यात बनाउँदै छन्।
त्यसको अग्रपंक्तिमा आउँछिन्, सुनैना ठाकुर। उनले मिथिला चित्रकलालाई व्यावसायिक बनाएकी छिन्। नेपाल, भारत, अमेरिका, जापान लगायत धेरै देशमा मिथिला चित्रकलाको प्रदर्शनी गरिसकेकी छिन्। अहिले जनकपुरधाममा रहेको आफ्नै आर्ट ग्यालरीमा व्यस्त सुनैनाले ३० जनाभन्दा बढी महिला चित्रकारलाई काम दिएकी छन्। यसले मिथिला लोककलालाई संस्थागत बनाउन र यसको प्रचार गर्न सघाएको छ।
त्यससँगै गाउँगाउँबाट महिलालाई ल्याएर तालीम दिई आत्मनिर्भर बनाउन सकेकोमा सुनैनालाई गर्व लाग्छ। “गुमनाम महिलालाई यस पेशा मार्फत सशक्त बनाउन र लैङ्गिक दृष्टिले समान बनाउने प्रयास गर्दै छु,” उनी भन्छिन्।
मिथिला संस्कृतिको उत्थान गर्ने र यो सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने चाहना उनमा छ। सुनैना भन्छिन्, “बेटी बचाऊ र बेटी पढाऊ भन्ने सन्देश चित्रकलाबाट दिँदै आएका छौं।”
सुनैनाको यही प्रतिरोध कलाले गर्दा उनी अन्तर्राष्ट्रिय समुदायमा चिनिएकी छिन्। मिथिला र मधुवनी चित्रकलामा थप अध्ययन गर्ने तयारीमा छिन्। मधुवनी र मिथिला चित्रकलामा भएका समानता र अन्तर खोज्न धेरै बहस र चर्चामा हुने गरेका छन्।
उनी भने दुवै कलामा अनेक समानता पाउँछिन्। “कला र गलाको कुनै देश हुँँदैन,” मिथिला चित्रकला यसको प्रमाण भएको बताउँदै सुनैना भन्छिन्, “मधुवनीमा पनि त्यही रामसीताको विवाह, त्यही सूर्यचन्द्र बन्छ, जुन मिथिला चित्रकलामा बन्छ। फरक यत्ति हो, मधुवनी पेन्टिङ भनेर संसारमा छिटो फिँजियो, मिथिला फैलिन बाँकी नै छ।”
उनी ‘फाइन आर्ट’ र मिथिला चित्रकलामा भने फरक पाउँछिन्। “मिथिला आर्ट आकृति हो भने फाइन आर्ट हुबहु चित्र हो,” उनी भन्छिन्।
हुनत मिथिला चित्रकला के हो भनेर नजान्दै सुनैनाका हातले भित्तामा रंग पोतेका थिए। तर, अध्ययन र अनुभव बढ्दै जाँदा उनले मिथिला चित्रकलालाई समाजका विसंगतिको विद्रोह गर्ने सांकेतिक माध्यम बनाइन्। महिला र पुरुषबीच समानता ल्याउनका लागि महिलाले आयआर्जन गर्नुपर्ने उनको भनाइ छ। त्यसैले धेरै महिलालाई तालीम र रोजगारी दिएको उनी बताउँछिन्।
त्यसमध्येकी एक हुन्, विनितादेवी साह। मिथिला चित्र बनाएर पहिलो पटक आम्दानी गर्दा उनी मख्ख परेकी छिन्। “विवाह गरेको २६ वर्षमा घर बाहिर निस्केर, काम गरेर १२ हजार रुपैयाँ कमाएँ,” उनी दंग पर्दै सुनाउँछिन्।
विवाह भएपछि घरपरिवार र छोराछोरीको जिम्मेवारीले उनलाई ३० वर्ष घरमै सीमित राख्यो। छोराहरूले पढेपछि विनितालाई घर बाहिर जाने बाटो खोलिदिए। त्यसपछि चित्रकला, बाहिरी संसारका साथीसँगी र चित्रकलाबाट आउने आम्दानीले उनको जीवन फेरिएको छ।
उनी पहिलो कमाइको अनुभव सुनाउँछिन्, “मैले तलब आएको कुरा सबैलाई सुनाएँ। छोराहरूले ‘आम्दानी गरेको पैसा दिनुहुन्छ?’ भन्दा पनि मैले सुनाउन छाडिनँ।”
अहिले विनिताको आयआर्जन देखेर अरूले पनि सँगै लैजान अनुरोध गर्छन्। उनी भन्छिन्, “सानै छँदा बनाउन सिकेको यो कलाले जागीर पाइएला र आम्दानी देला भन्ने सोचेकै थिएनौँ।” चित्रकला पौरखले विनिता जस्ता महिलालाई रोजगार त दिएको छ नै, अन्तर्राष्ट्रिय स्तरमा परिचित पनि गराएको छ।
मिथिला नगरीको जन्म
मिथिला लोककला पूरै मिथिलाको सांस्कृतिक धरोहर हो। पहिले मिथिला एउटा राज्य थियो, जुन पछि टुक्रियो। १८१६ को सुगौली सन्धिमा मिथिला दुई भागमा बाँडियो। त्यति वेला भारतमा ब्रिटिश शासन थियो।
मिथिलाको राजधानी नेपालमा पर्यो, तर ७५ प्रतिशत भाग भारतको बिहारमा गयो। मिथिला राज्यको राजधानी नेपालमा भएकाले मिथिलाका लागि गर्व गर्नुपर्ने यही एउटा विशेष कारण भएको मिथिला कला संरक्षण अभियानकर्ता सुदर्शनलाल कर्ण बताउँछन्।
इतिहास भन्छ– मिथिला कलाको उद्गमस्थल अहिलेको जनकपुरधाम हो। यहीँबाट टुक्रिएर गएको राज्य बिहारमा मिथिला चित्रकलालाई मधुवनी चित्रकला भन्न थालियो। मधुवनी चित्रकलाको भारतमा विकास र प्रचार भए पनि नेपालमा भने ओझेलमै छ।
भारतमा १९६६ मा नै मधुवनी चित्रकला फैलिइसकेको थियो। त्यति वेला अकाल भएर धेरैले रोजगारी गुमाएका थिए। त्यति वेलाका बिहारबाट केन्द्रीय मन्त्री ललितनारायण मिश्रले मिथिला कलालाई नजिकबाट चिनेकाले विदेशी पाहुनासँग परिचय गराए। विदेशीले पनि मन पराए।
विदेशीहरूले चित्रकला हेरेर पिकासोको उपनाम दिएको उल्लेख गर्दै अभियानकर्ता कर्ण भन्छन्, “भारतबाट त्यति वेला नै विदेशमा यसको प्रचार शुरू भएको हो। त्यसैले भारतमा मधुवनीको संस्थागत विकास बलियो बन्यो।” जनकपुरमा भने त्यति वेलासम्म खासै महत्त्व दिइँदैनथ्यो। “भारतको तुलनामा यसको संस्थागत विकास ढिलो भए पनि कला त उता र यता दुवै उस्तै र उत्तिकै हो,” कर्ण थप्छन्।
भारतले जसरी नेपालले कलालाई प्रवर्द्धन र विकास गर्न सकेन। मिथिला कलाको सौन्दर्य र कलात्मकता विश्वमा जति फैलनुपर्थ्यो, त्यति फैलिन सकेन। यसको प्रवर्द्धनमा १९८९ मा नारी विकास केन्द्र स्थापना भयो। यो पनि भारतको संस्था जति बलियो छैन। नारी विकास केन्द्रका निर्देशक सतिश साहका अनुसार, अहिले काम गरिरहेका ३०–४० मिथिला चित्रकारलाई पारिश्रमिक दिन पनि कठिन भएको छ।
मिथिला कला संरक्षण अभियानकर्ता कर्ण सरकारले मिथिला कलालाई चिन्न नसकेको बताउँछन्। “नेपालले मिथिला चित्रकलालाई जति बुझ्नुपर्थ्यो, त्यति बुझ्नसकेको छैन,” उनी भन्छन्, “जनकपुर जस्तो मुख्य ठाउँ भारतले पाएको भए, मिथिला कला र यस क्षेत्र दुवैको विकास गर्थ्यो।”
मिथिला चित्रकलामा समाज, माटो र देश बोलेको हुन्छ। यो लोप हुनु भनेको हाम्रो धरोहर लोप हुनु हो। यसलाई जीवन्त राख्नका लागि नयाँ पुस्तामा सार्नु पनि आवश्यक छ। तर, हस्तान्तरण गर्ने बलिया आधार भनेका छैनन्। केही सीमित तालीमले धान्नसक्ने अवस्था छैन।
भारतमा मधुवनी चित्रकला अध्ययन हुने थुप्रै विद्यालय छन्, विश्वविद्यालय छन्। नेपालमा भने १५–२० दिने तालीममै सीमित भएको छ। कम्तीमा एक वर्षको तालीम हुनुपर्ने र विद्यालय स्तरमा अध्ययन गराउनुपर्ने कर्ण बताउँछन्।
मिथिला संग्रहालय
३० वर्षअघि स्थापित नारी विकास केन्द्रले मिथिला चित्रकला सम्बन्धी तालीम शुरूआत गर्यो। यसले गर्दा नै महिलाले आफ्नो कला निखारे। तर, अहिले यो संस्था कमजोर बन्दै गएको छ। कला र कलाकारको भविष्यबारे डर छ, संरक्षकलाई।
कोभिड–१९ महामारीको मारमा परेको केन्द्रलाई मासिक तलब दिन पनि कठिनाइ भएको छ। “त्यसैले यस्तो वेला स्थानीय सरकारको सहयोग चाहन्छौँ। यो कला र सम्पत्ति जोगाउन सरकारले लगानी गर्नु पनि पर्छ,” केन्द्रका निर्देशक साह भन्छन्।
चर्चित व्यक्तिहरूले यसको प्रचार मात्रै गरिदिँदा पनि धेरै फरक पर्ने कर्णको भनाइ छ। राष्ट्रपति तथा प्रधानमन्त्री जस्ता व्यक्तिले मिथिला चित्रकलाबारे सार्वजनिक रूपमा बोलिदिँदा पनि राम्रो सन्देश जानसक्ने उनी बताउँछन्। निवास वा कार्यस्थलमा स्थान दिँदा पनि यसको विकास र सम्वर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ।
भनिन्छ, श्रोता विनाको गायन घाँटी थकाउने अभ्यास मात्र हो। त्यसैगरी पर्यटक विनाको मिथिला चित्रकला चार दिवारको सजावट मात्र हो। त्यसैले प्रचार आवश्यक छ। यसका लागि जानकी मन्दिरले मिथिला संग्रहालय पनि बनाएको छ।
संग्रहालयमा मिथिला चित्रकला, मूर्ति, विभिन्न साजसज्जाका सामग्री, मिथिला कलाको इतिहास देखाउने शृंगारका सामग्री, मैथिल भजन र गीत, भित्तेचित्र लगायत राखिएका छन्। जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अगुवाइमा संग्रहालय स्थापना भएको हो। जानकी मन्दिरको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मिथिला कला बुझाउन आवश्यक ठानेर संग्रहालय स्थापना गरिएको दास बताउँछन्।
मिथिला क्षेत्रको सरोवर, मठमन्दिर, गुठी, मिथिला साहित्य, संगीत र जीवनशैली मैथिल परिचय हुन्। प्रचार र व्यापकतामा भने मिथिला चित्रकला अगाडि छ। यसको जगेर्ना उतिक्कै आवश्यक पनि छ। मिथिला कला र चित्रकलाको नाममा गलत सामग्रीको प्रचार र व्यापारले मिथिलाको छवि बिग्रने डर रहेको संरक्षणकर्ता कर्ण बताउँछन्। उनी भन्छन्, “गलत व्याख्या गरेर बनाइएका मिथिला चित्रकलाको अनुगमन गरेर त्यस्ता देखावटी कलाकारलाई कारबाही गर्न सक्नुपर्छ।”
२० वर्षअघिसम्म जनकपुर नगरीमा विवाह, उत्सव, पर्व हुँदा गाउँटोल नै मिथिला कलाले सजिएको हुन्थ्यो। दैनिक जीवनमा उपयोगी सामानदेखि घरमा अनेक चित्र कोरिन्थे। तर, आजभोलि त्यस्तो छैन। यो कला लोप हुँदै छ। यसको संरक्षणका लागि नारी विकास केन्द्रले आफ्नो परिसरलाई पौराणिक मिथिला बस्ती बनाएको छ।
पौराणिक माटोका घरका आकार, झिझिया नाँचको प्रतीक, पिकक, कोठी, चुल्हा, मूर्ति, कोवर, बाँस लगायत पर्यटकलाई आकर्षण गर्न बनाइएका छन्।
यता आधुनिकता हाबी भएसँगै पक्की घर, भित्तामा चित्र कोर्ने परम्परा मासिँदै जाँदा वास्तविक मिथिला मौलिक कला लोप हुने उत्तिकै चुनौती रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभाग पूर्व प्रमुख एससी सुमन बताउँछन्। “कुनै पनि कुरा व्यावसायिक हुनु भनेको ठीकै हो, तर अति व्यावसायिक भयो भने कलालाई बचाउन गाह्रो हुन्छ,” उनी भन्छन्।
उनका अनुसार, मधुवनीबाट ल्याइएका चित्रलाई नेपाली कलाकारले आफ्नो नाम दिने र बेच्ने विकृति जनकपुरमा आएको छ। यसका लागि कला संरक्षण केन्द्रहरूको अनुगमन आवश्यक देखिन्छ। सुमन भन्छन्, “मिथिला कला विना नेपालका कला पूरा हुन सक्दैनन्। त्यसैले संघीय सरकारले यसलाई प्राथमिकतामा राखेर संरक्षण र प्रचारमा ध्यान पुर्याए यसले हामीलाई आत्मनिर्भर बनाउँछ।”
मिथिला कला मिथिला सभ्यताको ऐना हो नै, आज यसको लोकप्रियता यति छ कि स्वदेश तथा विदेशमा मानिसले मिथिला चित्रकला, मिथिला हस्तकला, सिलाइ र छपाइका सामग्रीमा सुन्दरता नै सुन्दरता पाउँछन्। यसको कला पौरखले विनिता, मधुमाला, मिथिलेश्वरी र सुनैना जस्ता हजारौँ महिलाको जीवन पनि उकास्ने निश्चित छ।
आर्थिक र मनोवैज्ञानिक दुवै हिसाबले महिलालाई यसले थप बलियो बनाएको छ। मिथिला कलाले हाम्रो समग्र समाजलाई त्यसरी नै लाभ पुर्याएको जसरी संगीत र भजन मार्फत गंगा आरतीले हरेक साँझ लाभ पुर्याइरहेको छ। वर्षको ३६५ दिन नै मिथिला भाषा, संगीत र गीतबाट शहर गुन्जायमान बनाएर।
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम सरोकार च्यानल १३० बाट हरेक हप्ता सोमबार राति ८ः३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन ‘सग्लो समाज’को ३१ जेठमा २०७८ मा प्रसारित २३औं अंक
'मिथिला कलाः जीवनमा रङ थप्दै'मा आधारित सामग्री।)