ललिता निवास प्रकरणमा मुछिएका गच्छदार धरौटीमा रिहा
नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
ललिता निवास जग्गामा भ्रष्टाचारको आरोप लागेका गच्छदारको बुधबार विशेष अदालतमा थुनछेक बहस भएको थियो।
विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज् मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी मन्त्री हुँदा ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै २२ माघ २०७६ मा मुद्दा दायर गरेको थियो।
ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको भन्दै गच्छदार सहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।