कालीगण्डकी नदीको पथान्तर रोक्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहाव परिवर्तन नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मंगलबार विवादको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण नगर्न आदेश दिएको हो।
अन्तरिम आदेशमा भनिएको छ, ‘उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिजर्भ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरू नगर्नू, नगराउनू।’
सरकारले कालीगण्डकीको बहाव पथान्तर गरी तिनाउ नदीमा मिसाएर जलविद्युत् र सिँचाइको योजना बनाएपछि त्यसले पर्यावरणमा गम्भीर असर पुर्याउने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितका कानून व्यवसायीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वको देखिएको भन्दै त्यसको बहाव परिवर्तन नगर्न आदेश दिएको हो।