नेपालमा भेटियो विश्वकै नयाँ ऐंसेलु प्रजाति
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट संकलन गरिएको ऐंसेलुको प्रजाति विश्वकै निम्ति नयाँ भएको पहिचान भएको छ।
नेपालमा ऐंसेलुको नयाँ प्रजाति भेटिएको छ, जुन वनस्पति विश्वको लागि नै नयाँ हो। यसलाई ‘रुबस दोर्चीइ’ नाम दिइएको छ। यो वनस्पति नेपालबाट सन् २०२१ मा पत्ता लागेको फूल फुल्ने दोस्रो वनस्पति प्रजाति हो। वनस्पति पहिचानको तथ्यांक सम्प्रेषण गर्ने चर्चित जर्नल फाइटोट्याक्साको १३ जुलाईको संस्करणमा प्रकाशित मानबहादुर रोकाया र साजन सुवेदीको लेख ‘रुबस दोर्चीइ, अ न्यू स्पेसिस फ्रम सेन्ट्रल नेपाल’ मा यसबारे लेखिएको छ।
रुबस ऐंसेलु जाति अन्तर्गतको वनस्पति हो। दक्षिण अमेरिका र अफ्रिकाका केही देशबाहेक सबैतिर पाइने यो वनस्पतिका विश्वभर ७६० जति प्रजाति भेटिएका छन्। सन् २०१२ मा प्रकाशित एक लेख अनुसार, नेपालमा ऐंसेलुका ३२ प्रजाति छन्। तीमध्ये १५ प्रजाति त यहीँ पत्ता लागेका हुन्। पछिल्लो प्रजाति शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट संकलन गरिएको हो।
दोर्चीबाट दोर्चीई
१० मिटर अग्लो बोट हुने ‘रुबस दोर्चीई’ को फूल अगस्टदेखि नोभेम्बरसम्म फुल्छ र अक्टोबर–नोभेम्बरमा फल पाक्छ। यसको नमुना ला दोर्ची शेर्पासँगै जर्नलका लेखकद्वयले पनि संकलन गरेका रहेछन्। वनस्पतिको तस्वीर खिच्न र पहिचान गर्न विशेष चाख राख्ने शेर्पा केही वर्षयता खासगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वनस्पतिको तस्वीर खिच्न जाने गरेका छन्।
व्यवस्थापन संकायमा स्नातकसम्म अध्ययन गरेका शेर्पा काममा कतिसम्म दत्तचित्त भएर लाग्छन् भने, नचिनेको वनस्पति फेला पारे भने त्यसको वैज्ञानिक नाम पहिचान नगरी उनलाई निद्रा पर्दैन। वैज्ञानिक नाम थाहा पाउन हप्तौं वा महीनौंसम्म लागिपर्छन्।
दोर्चीले शुरूआती अवस्थामा वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठसँग वनस्पतिको ज्ञान लिने अवसर पाए। अहिले नेपालका वनस्पतिबारे दख्खल हासिल गरिसकेका छन्। उनले नेपालको वनस्पति अध्ययन–अनुसन्धान गर्ने निकै जनालाई सघाइसकेका छन्। वनस्पतिप्रति दोर्चीेको अत्यन्तै मोह रहेकाले यो नयाँ वनस्पतिको नाम उनकै सम्मानमा रुबस दोर्चीई राखिएको जनाइएको छ।
अध्ययन विधि
रुबस दोर्चीई समुद्री सतहबाट करीब एक हजार ९३० मिटर उचाइमा पाइएको थियो। यसको नमूना सर्वप्रथम सन् २०१८ मा शिवपुरीबाट संकलन गरिएको रहेछ। नमूना अध्ययन गर्दा अलि नौलो जस्तो देखियो। त्यसपछि सन् २०१९ र २०२० मा थप नमूना संकलन गरियो।
अनुसन्धानकर्ताले संकलित नमूना नेपाल, भुटान, चीन र भारतमा पाइएका अन्य ऐंसेलु प्रजातिसँग मिल्छ कि मिल्दैन भन्दै प्रकाशित सामग्रीबाट तुलना गरे। यसबाहेक अनुसन्धानकर्ताले न्याचुरल हिस्ट्री म्यूजियम लन्डन, रोयल बोटानिकल गार्डेन इडिनबरा, स्कटल्यान्ड, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरी, जापानको युनिभर्सिटी अफ टोक्यो र केन्द्रीय वनस्पति वनस्पति विभागका विद्युतीय सञ्जालमा उपलब्ध हर्बेरियमको नमूना अध्ययन गरे।
अध्ययन गर्दा त्यो नमूना रुबस कुमोनेनिस र रुबस रुगोसस्सँग केही मिल्दोजुल्दो देखियो। त्यसपछि अनुसन्धानकर्ताले शिवपुरीमा संकलित नमूना उल्लिखित दुई प्रजातिसँग के कति मिल्छ भनेर थप अध्ययन गरे। त्यस क्रममा तीन वटैको बोटको उचाइ, पातको सतहको आकृति, पातको घेराको बनावट, पातको टुप्पो, पुष्पदल (सेपल) र पुष्पपत्र (पेटल) को विवरण तुलनात्मक रूपमा परीक्षण गरे।
प्रजाति निर्क्योलमा बोटको उचाइ र पातको आकारले खासै फरक पार्दैन। किनभने, भिन्न ठाउँ र भौगोलिक उचाइ अनुसार बोटको उचाइ र पातको आकार सामान्यतः फरक हुन्छ। तर, अन्य बुँदाका विवरणमा तात्त्विक फरक भए बेग्लै प्रजाति हुनसक्छ। अनुसन्धानकर्ताले उल्लेख्य मात्रामा अन्तर भेटेपछि त्यसका आधारमा शिवपुरीबाट संकलित ऐंसेलु विश्वको निम्ति नयाँ नै भन्ने ठहर गरी नामकरण गरिएको हो।
आवरणमा जोड
फाइटोट्याक्सा जर्नलमा प्रकाशित लेखमा नयाँ वनस्पति रुबस दोर्चीईको गहन अध्ययन गरिएको विवरण छ। अति स–साना भाग केलाउँदै स्वरूप र आकारप्रकारका विवरण राखिएका छन्। विभिन्न भागको तस्वीरसहित बोटानिकल स्केच पनि समावेश छ।
यति हुँदाहुँदै वनस्पतिको मर्फोलोजी अर्थात् आवरणमा मात्र अध्ययन केन्द्रित नगरी डीएनए समेत अध्ययन गरिएको भए अझ राम्रो हुन्थ्यो। किनभने डीएनए अध्ययन गरिएको भए बाहिरी स्वरूपमा मात्र भिन्नता हो वा आन्तरिक संरचनामै फरक छ भन्ने पुष्टि हुन्थ्यो। यसरी नयाँ प्रजाति पुष्टि गरिसकेपछि भोलि कसैले फेरि यसको डीएनएमा के कति भिन्नता होला भनेर अध्ययन गरिरहन पर्दैन।
नेपालमा डीएनए अध्ययनका निम्ति खासै प्रयोगशाला नभए पनि लेखको एक अनुसन्धानकर्ता मानबहादुर रोकाया कार्यरत इन्स्टिच्यूट अफ बोटनी, चेक एकेडेमी अफ साइन्स ज्यामेकमा त सजिलै हुनसक्थ्यो होला।
नयाँ वनस्पति संकलन गरी पहिचान गरेको तथा जानकारीमा ल्याएकोमा ला दोर्ची शेर्पासहित लेखकद्वयलाई बधाई!