सरकारमा सहभागी हुने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।
आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले बताए। “हाम्रो कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ,” चेम्जोङले भने।
नेपाली कांग्रेस सभापति देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छिन्। आज साँझ ६ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहणको कार्यक्रम रहेको छ।
आज गठन हुने मन्त्रपरिषद्मा भने जसपाले मन्त्री नपठाउने भएको छ। जसपाको आधिकारिकता सम्बन्धी मुद्दा निर्वाचन आयोगमा विचाराधीन छ। साउन पहिलो साता निर्वाचन आयोगले यसको टुंगो लगाउने भएको छ। त्यसपछि जसपाले सरकारमा मन्त्री पठाउने तयारी गरेको हो।
यससँगै जसपा कार्यकारिणी समिति बैठकले सरकार सञ्चालनका लागि साझा कार्यक्रम तय गर्नुपर्ने निर्णय गरेको छ। यसका लागि गठबन्धनको बैठकमा प्रस्ताव लग्ने निर्णय भएको केन्द्रीय कार्यकारिणी समिति सदस्य चेम्जोङले बताए।