गोग्राह कार्यशालामा पुरस्कृत तीन फिल्मले उठाएका प्रश्न
रेस्टुरेन्टको मेनुदेखि सडक तथा कार्यालयका सूचना बोर्डहरू पढ्न नसक्दा ज्योत्सना सिंह ठकुरीलाई निकै सकस हुन्थ्यो। लेख्न, पढ्न समस्या हुने एलेक्सिया डिस्अर्डरबाट गुज्रिएकी उनले आफ्ना अप्ठ्यारा अनुभवलाई फिल्ममा उतार्ने भएकी छन्।
‘एलेक्सिया’ नामक उनको छोटो फिल्मलाई गोग्राह फिल्म कार्यशालाले आर्थिक सहयोग समेत गर्दै छ। फिल्म निर्माणका लागि उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। “मेरो फिल्ममा शिक्षा नामकी पात्र छिन्, उनी धेरै पढ्न चाहन्छिन्,” ज्योत्सना भन्छिन्, “एलेक्सिया भएकाले पढाइका लागि उनले गर्नुपर्ने संघर्ष फिल्ममा देखाइनेछ।”
फरक क्षमता भएका व्यक्तिका सन्दर्भमा विद्यमान शिक्षा व्यवस्थामाथि ज्योत्स्नाको फिल्मले प्रश्न गरेको छ। एलेक्सिया रोगले ग्रस्त उनकी पात्रले विश्वविद्यालयमा परीक्षा दिन सहयोगी खोज्दा भोग्नुपरेको हैरानी फिल्ममा प्रस्तुत गरिनेछ।
गोग्राह कार्यशालामा सहभागी १२ मध्ये ज्योत्स्नासहित सुनिल गुरुङ र शान्ता नेपालीका फिल्मलाई पनि पाँच–पाँच लाख रुपैयाँ प्रदान गरिएको छ। सोमबार आयोजित भर्चुअल कार्यक्रममा गोग्राहका संस्थापकमध्येकी एक आशा मगरातीले विजेता घोषणा गरेकी थिइन्।
अमेरिका बस्दै आएका सुनिलको ‘विन्ड हर्स’ फिल्मले वैदेशिक रोजगारीका कारण टाढिएका बाबु र छोराबीचको सम्बन्धको कथा भन्छ। उनले पनि आफ्नै अनुभव फिल्ममा मिसाएका छन्।
“म मनाङमा जन्मिएको थिएँ, धेरै समय बुबासँग अलग रहेँ,” सुनिल भन्छन्, “मेरो फिल्ममा वैदेशिक रोजगारीबाट फर्किएका बाबु र उनका टिनएजर छोराबीचकोे अप्ठ्यारो सम्बन्ध देखाइएको छ। उनीहरू आफ्नो पुर्ख्यौली थलो मनाङ जान्छन्। यात्राका क्रममा दुईबीचको दूरी मेटिन्छ कि मेटिँदैन भन्ने प्रश्नमा फिल्म अडिएको छ।”
पुरस्कारप्राप्त अर्को फिल्म ‘मुना’ मा पनि बेग्लै प्रश्न उठाइएको छ। निर्देशक शान्ता नेपालीका अनुसार, वेश्यालयबाट निस्किएकी एक युवतीले बाहिरी समाजमा भोग्ने दुर्व्यवहार र विभेदका कुरा, उसका अपेक्षाबारे फिल्म केन्द्रित छ।
“वेश्यालयभित्र र बाहिरको जीवन उजागर गर्दै दुईबीच तुलना गरिएको छ,” शान्ता भन्छिन्, “वेश्यालयभित्र र बाहिर समाजमा पनि, दुवैतिर महिलालाई समस्या छ। वेश्यालयबाहिरको हाम्रो समाज वेश्यालयभन्दा अझै खत्तम त छैन भन्ने प्रश्न फिल्ममा गरिएको छ।”
सन् २०१९ बाट शुरू गरिएको विराटनगर फिल्म कार्यशालाको नाम परिवर्तन गरेर गोग्राह राखिएको कार्यशाला आयोजक दीपक रौनियारले बताए। विराटनगरको पुरानो नाम गोग्राह भएकाले यो नाम रोजेको उनको भनाइ छ।
सन् २०१९ मा विराटनगरमा एक हप्ते आवासीय फिल्म कार्यशाला गरी यसको थालनी गरिएको थियो। सन् २०२०/२१ मा आठ हप्ते लेखन कार्यशाला, १२ हप्ते निर्देशन कार्यशाला र अन्तिम चरणमा तीन उत्कृष्ट स्क्रिप्टलाई ५–५ लाख रुपैयाँ पुरस्कार प्रदान गरी निर्माण गर्न सघाउने गरी तीन भागमा बाँडिएको थियो।
सन् २०२०/२१ को फिल्म कार्यशालाका लागि झन्डै दुई सय व्यक्तिले निवदेन दिएकोमा १२ सहभागी छानिएको आयोजकले जानकारी दिए। आठ हप्ताको पहिलो चरणको लेखन कार्यशालापछि सहभागीहरूले बुझाएको स्क्रिप्ट र उनीहरूको लेखन–निर्देशन कलाको विकासका आधारमा आठ जनालाई १२ हप्ता लामो निर्देशन कार्यशालाका लागि छानिएको थियो।
समाजका जटिलता, गहनता र विविधता प्रस्तुत गर्दै विद्यमान चिन्तन प्रणालीलाई प्रश्न गर्न सकियोस् भनेर नै कार्यशाला आयोजना गरिएको कार्यशालाका अर्का संस्थापक भास्कर गौतमको भनाइ छ।