दुई करोड खोप खरीदको टुंगो लागेको प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसविरुद्धको दुई करोड डोजभन्दा बढी खोप खरीद प्रक्रियाको टुंगो लागेको बताएका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप खरीद प्रक्रियाको टुंगो लागेको दाबी गरेका हुन्। उनले अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनसँग ५० लाख डोज, मोडर्ना र फाइजरसँग ४०-४० लाख डोज तथा कोभिशिल्ड/अस्ट्राजेनेकाबाट २० लाख गरी एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरीदको टुंगो लागिसकेको दाबी गरे।
त्यस्तै, चीनसँग पनि थप ६० लाख खोप खरीदको टुंगो लागेको बताए। यद्यपि, यी खोप कति मूल्यमा खरीदको टुंगो लागेको हो र कहिले आपूर्ति हुनेछ भन्ने उनले खुलाएनन्। तर, यी कम्पनीहरूले भने अहिलेसम्म नेपाललाई खोप दिने विषयमा सार्वजनिक रूपमा केही उल्लेख गरेका छैनन्।
प्रधानमन्त्री ओलीले चीनले थप १६ लाख डोज खोप अनुदानमा दिन लागेको पनि बताएका छन्। उनले चीनले यस्तो नयाँ घोषणा गरेको बताएका हुन्। चीनले यसअघि नै १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ।
प्रधानमन्त्री ओलीले चीनबाटै थप ६० लाख खोप खरीदको प्रक्रिया अघि बढेको पनि दाबी गरे। चीनबाट यसअघि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ मार्फत ४० लाख खोप खरीदको प्रक्रिया टुंगिएको थियो। यो खोप नेपालमा आपूर्ति हुन थालिसकेको छ।
प्रधानमन्त्री ओलीले कोभ्यास सुविधा मार्फत थप तीन लाख ५० हजार डोज अनुदानका रूपमा आउन लागेको बताए। उनले कोभ्यासबाट थप ६० लाख डोज खोप क्रमशः आउने दाबी गरे।
प्रधानमन्त्री ओलीले केही महीनाभित्रै सबै नेपालीले खोप लगाउने आधार तयार भएको पनि बताए। उनले आफ्नो नेतृत्वको सरकारले ल्याउने निर्क्योल गरिसकेको खोपलाई नयाँ सरकारले ल्याएको भनी प्रचार गरिने जोखिम रहेको औंल्याए।