जापानबाट डेढ महीनाभित्र १६ लाख डोज खोप आउने
जापानले नेपाललाई कोरोनाभाइरसविरुद्धको १६ लाख डोज खोप पठाउने निश्चित भएको छ।
नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै १६ लाख डोज अस्ट्राजेनेका खोप नेपाललाई सहयोग गर्न लागेको घोषणा गरेको हो।
कोभ्यास सुविधा मार्फत नेपाल पठाउन लागिएको खोप मध्य जुलाईबाट आपूर्ति हुन शुरू हुने जनाएको छ। अगस्टभित्र सबै खोप नेपाल आइसक्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ।
नेपालस्थित जापानी राजदूत किकुता युताकाले जापानले नेपालसँगको लामो मित्रताको प्रतिबिम्बका रूपमा खोप सहयोग गर्न लागेको बताए। मंगलबार बिहान जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपालसहितका एशियाका देशलाई एक करोड १० लाख खोप सहयोग गर्ने घोषणा गरेका थिए।
जापानबाट अस्ट्राजेनेका खोप उपलब्ध भएपछि नेपालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका करीब १४ लाख नागरिकले दोस्रो डोज पाउनेछन्।