शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ (५) अनुसार, राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।
त्यस्तै, राष्ट्रपति कार्यालयले पनि प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार, प्रधानमन्त्री नियुक्त गरिएको जनाएको छ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चले आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्ने समय दिएको थियो।
राष्ट्रपतिका प्रेस सल्लाहकार ढकालका अनुसार, साँझ ६ बजे शपथ ग्रहण तय भएको छ।
यसअघि उनी २१ जेठदेखि १९ माघ २०६१ सम्म, ११ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म र २४ जेठदेखि ३ फागुन २०७४ सम्म प्रधानमन्त्री भएका थिए।
उनी २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका हुन्। २०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका छन्।